नगरलाई गिनसिटी बनाउने प्रयास समुदाय भित्रबाट थालनी भए पनि वीरगंज महानगरपालिकामा जथाभावी जडान गरिएको ट्रान्सफर्मरको कारण शहर कुरुप बन्दै गएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा स्थानीयले नै ग्रिनसिटी बनाउन भनी प्रयास थालनी गरे पनि जथाभावी जडान भएका विद्युतका ट्रान्सफर्मरले नगर कुरुप बन्दै गएको हो । विद्युतका हरेक पोलमा लत्रेका तार र अव्यवस्थित ट्रान्सफर्करले यतिवेला वीरगंज शहर आफ्नो सौन्दर्यता गुमाउन पुगेको छ । शहरको फुटपाथमा हिँड्ने सर्वसाधारणहरुले समेत अव्यवस्थित तार र ट्रान्सफर्मरका कारण सास्ती भोग्नु परिरहेको छ ।
नगरलाई सौन्दर्य बनाउन स्थानीय सरकारले अगुवाइ गर्नुपर्नेमा उसले नगरेपछि वीरगंजको आदर्शनगर क्षेत्रमा सामुदायिक सेवा केन्द्रले वीरगंजले नै ग्रिनसिटी बनाउन प्रयास थालेको हो । तथापि सार्वजनिक कार्यको लागि स्थानीय सरकारका रुपमा रहेका वीरगंज महानगरपालिकाले खासै चासो नदेखाउँदा शहरको सौन्दर्य विगार्ने कुराले अझ नगरवासी पीडित बनेको स्थानीयले गुनासो गरे । सार्वजनिक कार्यभन्दा पनि निजी कार्यका लागि वीरगंज महानगरपालिका भित्र तीन दर्जनभन्दा बढि ट्रान्सफर्मरहरु फुटपाथमा जडान गरिएको छन् । त्यो पनि आदर्शनगर क्षेत्रभित्र नै ।
यो क्षेत्रमा भित्र रहेका बैंक तथा वित्तिय सँस्थाहरु, उद्योगीहरुले आफ्नो निजी प्रयोगका लागि सार्वजनिक फुटपाथमा ट्रान्सफर्मर जडान गर्न लगाएका छन्, जसले गर्दा वीरगंज शहरले सौन्दर्यता गुमाउन पुगेको छ ।
फुटपाथमा जडान गरिएको ट्रान्सफर्मरको कारण बेला बखत सर्ट सर्किट भएर ट्रान्सफर्मरमा आगो लाग्दा सडकयात्रीले समेत जोखिम मोल्नु पर्ने बाध्यता छ । यस्तै अवस्था भइरहे कुनै पनि वित्तिय संघ सँस्था तथा उद्योगीहरुको कारण सार्वजनिक फुटपाथ ट्रान्सफर्मर स्थल नबन्ला भन्न सकिन्न ।
वीरगंज आफैमा औद्योगिक नगरी हो र यहाँ दर्जनौं उद्योगहरु छन् । उद्योगहरु वीरगंज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा रहे पनि त्यसको मुख्य कार्यालय भने वीरगंजको मुख्य बजार क्षेत्रमा रहेको छ, । त्यसकारण पनि उद्योगी तथा व्यवसायीहरुले विद्युत प्रवाहका लागि ट्रान्सफर्मर जडान पनि आफ्नो घर, कार्यालय अगाडी फूटपाथमा गराउने गरेका छन् । अर्कोतर्फ बैंक वित्तिय सँंस्थाहरुले ट्रान्सफर्मर मात्रै नभई आप्mनो पार्किङ्ग स्थल समेत सडकमा नै बनाइदिंदा सर्वसाधारणलाई भने निकै कष्ट उठाउनु परेको छ । यसको अतिरिक्त नगरको शोभा पनि खल्बलाएको छ । कतिपय वित्तिय संस्थाहरुले आफ्नो भएको पार्किङ्ग स्थललाई प्रयोग नगरी ट्राफिक जामको समस्यालाई बढावा दिदै आएकोको सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका सदस्यहरुले बताए । वीरगंजलाई व्यवस्थित ग्रिनसिटि बनाउनका लागि गठित ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले पटक पटक पहल गर्दा पनि त्यो कार्यान्वयमा आउन नसकेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए ।
केही दिन अघि मात्रैं वीरगंज – ४ वीर्ता स्थित वडा प्रहरी कार्यालयको सहयोगमा बैंक वित्तिय सँस्थाहरुलाई आफ्नो पार्किङ्ग स्थल प्रयोग गर्न आग्रह सहित चेतावनी पनि दिइएको थियो । तर त्यो कार्यान्वयन हुन सकेको छैन । जति पनि आग्रह गर्दा, चेतावनी दिदा बैंकहरु अटेर गर्दै आएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।
विद्युतीय ट्रान्सफर्मर बारे पनि ग्रिनसिटिले पहल गर्दा कोही कसैले चासो नदेखाएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेतानले गुनासो गरे । वीरगंजलाई ग्रिनसिटी बनाउन आफूहरु कसरत गरिरहँदा यो ट्रान्सफर्मरहरुले पनि समस्या उत्पन्न गराएको उनको तर्क छ ।
यसबारे नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु प्रसाद यादवले विद्युतीय लाइन सार्वजनिक क्षेत्रमा नै जडान गर्नु पर्ने भए पनि निजी प्रयोगका लागि चाहिने ट्रान्सफर्मर आफ्नो क्षेत्राधिकार भित्र जडान गर्नुपर्ने हुन्छ । तर वीरगंजको हकमा निजी कम्पनी, उद्योग, फर्महरुले आफूलाई ट्रान्सफर्मर जडान गर्न दिएको निवेदन अनुसार नभएको उनको भनाइ छ ।
अरु कसैलाई मर्का नपर्ने गरी सार्वजनिक स्थल अर्थात आफ्नो निजी स्थलमा जडान गर्नु पर्ने भए पनि वीरगंजमा मुख्य सडक छेउमै कम्पनी, उद्योग, फर्महरुको कार्यालय भएको कारण उनीहरुले सडक फुटपाथमा ट्रान्सफर्मर जडान गर्न पुगेका छन् । यो व्यवहारिक पक्ष अलि भएन उनले भने ।