आजको संसार संचारको हो । त्यसैले भनाइ नै छ संचार छ त संसार छ । त्यसमा पनि सामाजिक संजालको विकासले आज हरेक मान्छे संचारकर्मी भएको छ । सिटिजन पत्रकारिताको यो युगमा सामाजिक संजालका कारण आज प्रत्येक मान्छे सूचना र संचारको पहुँचमा पुगेको छ । यसले परम्परागत मूलधारको संचारको डाइनामिक्स नै परिवर्तन गर्नुपर्ने परिस्थिति सिर्जना हुँदैछ । सामाजिक सञ्जाल आफ्नो व्यक्तिगत पीरव्यथा र खुशी साट्ने थलो मात्र हैन, बौद्धिक बहस गर्ने चौतारी समेत भएको छ ।
पछिल्लो समय त चुनावी क्याम्पेन र एजेण्डा सेटिङको सशक्त माध्यमका रूपमा पनि सामाजिक संजाल देखा परेको छ । के विकसित देश, के अविकसित देश, सामाजिक संजालमय भएका छन् । के शहर, के गाउँ जहाँका मानिसहरु पनि सामाजिक सञ्जालमा झुम्मिएकै छन् । हरेक प्रविधि वरदान मात्र हुँदैन, अभिषाप पनि हुन्छ । सामाजिक संजालका लागि पनि यो लागू भएको छ । भनाइ नै छ, चिनी पनि बढी खायो भने तितो हुन्छ । पछिल्लो समय सामाजिक संजालका दुष्प्रभावहरु पनि उजागर हुन थालेका छन् । सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने मानिसहरु मानसिक रोगको शिकार बन्ने खतरा हुन्छ । उनीहरुमा प्रायः डिप्रेसन र निद्रा नलाग्ने समस्या देखिने गरेको छ । हामी सामाजिक संजाजको प्रयोग के का लागि गर्छाै ? फुर्सदको समय बिताउनका लागि की केही ज्ञान हासिल गर्नका लािग ?
सामाजिक सञ्जालको प्रयोग सबैले एकै ढंगले गर्छन् भन्ने छैन । सामाजिक सञ्जालको विभिन्न तरिका तथा उद्देश्यले प्रयोग भइरहेको छ । मुख्यत निजी र सार्वजनिक गरी दुई उद्देश्यले प्रयोग गरिएको देखिन्छ । आफ्ना परिवार तथा दैनिक जीवनका फोटोहरु पोष्ट गर्ने, परिचितहरुसँग निरन्तर सम्पर्कमा रहने, परिचय तथा मित्रता बढाउने माध्यमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने धेरै छन् । त्यसैगरी सार्वजनिक जीवन, सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा सामाजिक बहस तथा सूचना प्रवाहका लागि सामाजिक सञ्जालको प्रयोग गरिएको पाइन्छ ।
सामाजिक सञ्जालमा सामाजिक नै भएर प्रस्तुत हुनुपर्छ, असामाजिक बन्न हुँदैन । सहिष्णु बन्नुपर्छ, असहिष्णु बन्न हुँदैन । असहमत र फरक विचारको आलोचना गर्न हुन्छ, बहस गर्न हुन्छ तर मर्यादा र शिष्टाचारको लक्ष्मण रेखा नाघ्न हुँदैन । एक्लै कोठामा या कुनै ठाउँमा भएको बेला सामाजिक सञ्जालमा विचार लेखिन्छ तर त्यो विचार सार्वजनिक रुपमा प्रस्तुत हुन्छ । अरुका सकारात्मक काम तथा विचारको प्रशंसा गर्न सामाजिक सञ्जालको उपयोग गरिनुपर्छ । सकारात्मक टिप्पणीले व्यक्तिलाई सकारात्मक काम गर्न उत्प्रेरणा मिल्छ । अर्थात सामाजिक सञ्जालमा विचार लेख्दा तपाईं एक्लै हुनुभए पनि लाखौं अदृष्य मानिसले तपाईंलाई हेरिरहेका हुन्छन् । त्यसैले सामाजिक संजालको उपयोग कि दुरुपयोग गर्ने ? सञ्जालको सकारात्मक उपयोग गरेर समाज र देशलाई योगदान गर्ने हो की ?
सामाजिक संजालको प्रयोगले अनेक फाइदा भए पनि अझै फाइदा लिन नसकेकोले यसको नकारात्मक प्रभाव आम मानिसमाथि पर्न थालेको देखिन्छ । टाडा भएकोलाई जोडने तर नजिक रहेकालाई टाडा बनाउने सामाजिक संजालको सहि प्रयोग गरिएन भने यसले आम मानिसको जिवनमा ठूलो क्षति पु¥याउन सक्छ । आफुले गरेको पोष्टमा कसले लाइक ग¥यो ? कसले कमेन्ट ग¥यो ? अवथा फलानोले मेरोमा लाइक समेत गरेन भनेर टाउको दुखाउनुभन्दा आफनो फाइदाको लागि प्रयोग गरौ । आफनो व्यापार व्यसायको वृद्धि विकासको लागि प्रयोग गरौ । होइन भने सामाजिक संजाल जंजाल बन्न सक्छ । सामाजिक संजालको प्रयोग राम्ररी गर्न जानिएन भने हामीले खोलेको सामाजिक संजालको लतले जंजालको मात्र बन्न सक्छौं ।