नोबेल कोरोना भाइरस (कोभिड १९) को त्रास दिन प्रतिदिन बढ्दै गएको छ । वीरगंजस्थित नारायणी अस्पताल पनि मध्य तराईकै ठूलो अस्पताल हो । प्रदेश नंं २ को कुरा गर्दा सबैभन्दा धेरै विरामीहरु आउने अस्पताल पनि हो यो । यो समयमा वीरगन्जको नारायणी अस्पताल र स्थानीय स्तरका अस्पतालहरुले जनताको स्वास्थ्य सुरक्षाको लागि स्तरीय सेवा प्रदान गर्नुपर्ने हुन्छ । कोरोनाको संक्रमणलाई रोक्न झन थप तयारी गर्नुपर्ने हुन्छ । कोरोना महामारीमा मध्य तराईकै ठूलो नारायणी अस्पतालको पूर्व तयारी के भन्ने सन्दर्भमा यो अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायसंग सोधिएका पाँच प्रश्न ।
१) नोबेल कोरोना भाइरसबाट बिरामीलाई बचाउन नारायणी अस्पतालको तयारी के छ ?
एक महिना अघिदेखि कोरोना भाइरसको बारेमा फ्लेक्स बोर्ड बनाएर प्रचार प्रसार गर्दै अस्पताल आउने बिरामीहरुलाई पम्पलेट वितरण गरेका छौ । अहिले माईकबाट कोरोना लक्षणका बारे र यसको प्रकोपबाट बच्ने उपायहरुका बारे सुचित गराउँदै छौ । स्वास्थ्यकर्मी चिकित्सक बैठक बसेर आफू कसरी सुरक्षित हुने र बिरामीको उपचार गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । अस्पतालमा ५ वेडको आईसोलेशन यार्डको व्यवस्था गरिएको छ । यसलाई कसरी राम्रो व्यवस्थापन गर्ने कर्मचारीको व्यवस्था कसरी गर्ने जस्ता कुराहरुमा पनि गम्भिर छलफल भएको छ ।
पर्सनल प्रोटेक्ट ईक्यूपमेन्ट ४० वटा व्यवस्था गरेका छौ । थप सहयोगहरु समेत आएको छ । थर्मल स्क्यानल, ज्वरो नाप्ने थर्मलगनसंगसंगै संक्रमण गर्ने भाईरस मार्नको लागि ओपीडि, अंतरंग, बहिरंग प्रत्येक यार्डमा फिमिकेट गर्ने प्रक्रिया गरिएको छ ।
२) त्रसित जनतालाई विश्वस्त हुने खालका जनचेतनामुलक गतिविधि कस्ता अपनाउन सकिन्छ ?
विश्व नै स्वास्थ्य संकट घोषणा गरेको अवस्थामा कोरोना भाइरसबाट त्रसित हुनु स्वभाविक नै हो । हामी डराएर मात्रै हुँदैन । यसबाट बच्नका लागि स्वयम् हामी आफै सचेत बन्नुपर्छ । नेपाल गरिब देश हो । अधिराज्यभरिमा भाइरस जाच गर्ने ल्याब उपलब्ध गराउन असमर्थ छ । नेपालमा एउटा मात्रै कोरोना भाइरस संक्रमण परीक्षण गर्ने ल्याब छ । नेपालमा एक जना मात्रै संक्रमित व्यक्ति भेटिएको थियो । उहाँ पनि उपचारबाट पूर्ण रुपमा स्वस्थ्य भएर फर्किसकेका छन् । हामीले स्वयम पनि कोरोना भाइरसबाट बच्न अनावश्यक भिडभाड नगर्ने, आवश्यक कामका लागि मात्रै घर बाहिर जाने आफ्नो कपडा शरीर, घर वरपरको सरसफाई गर्ने, खाना खानु अघि अघिपछि काम गरेर सकेपछि र दूषित समानहरु छोएपछि पटक पटक साबुन पानीले हात सफा गर्ने, घरबाहिर जाँदा नाक मुक छोप्न माक्सको प्रयोग गर्ने सावधानी अपनाउने गर्नु पर्दछ ।
यदि रोग लागि हाले पनि रोगबाट मृत्यु हुने २ प्रतिशत मात्र हुन्छ । ८० प्रतिशत लक्षण नदेखिने सामान्य हुन्छ भने १५ प्रतिशत लक्षण देखिन हस्पिटलाइज हुनुपर्छ भने ५ प्रतिशतमा मात्र मेडिकल केयर, फिजिकल केयर गर्नु पर्दछ । सास रोग जस्तो डराउँन पर्ने अवस्था यो रोगमा छैन ।
३ं) यो रोगको निदानको लागि क—कस्को समन्वय आवश्यक छ ?
अस्पताल पब्लिक हेल्थ ईमरजेन्सी पनि हो । अहिलेको विपत व्यवस्थापन गर्न जिल्लामा जिल्ला प्रमुखको अध्यक्षतामा संयन्त्र गठन छ । यसमा पटक पटक छलफल भएको छ । अहिले जिल्लामा ५० वटा नेशनल मेडिकल कलेज, ४ वटा नारायाणी वयोधा हस्पिटल र ५ वटा नारायणी उपक्षेत्रीय अस्पतालको गरी जम्मा ५९ वटा आइसुलेसन वार्डको व्यवस्था गरिएको छ । महानगरपालिकाको स्वास्थ्य एकाईले पर्चा, पम्पलेटको जिम्मेवारी लिएको छ । बोर्डरमा थर्मलगनद्धारा स्वास्थ्य परीक्षण भएको तथ्याङ्ग राख्नु भएको छ । यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा केन्द्र, प्रदेश स्तरीय टोली र जिल्लाको संयन्त्र टोली बिच समन्वय भएको छ ।
४) नारायणी अस्पतालमा राखिएको आईसुलेसन वार्डको वातावरण र सरसफाई कस्तो छ ?
सरसफाई प्रदेश नंं २ मा अत्यन्तै कम छ । हामीलाई प्रत्येक नागरिकको सहयोग आवश्यक छ । ओहोदामा बसेका व्यक्तिहरुलाई मात्र दोष नदिएर प्रत्येक नागरिकले घर परिवारदेखि नै सरसफाई गर्नु पर्छ । अनि वातावरण पनि सफाई हुन्छ । अरुको मुख ताक्ने प्रवृति छाडेर नागरिक स्वयम् सचेत हुनुपर्छ । सामान्य प्रकृतिका बिरामीलाई संक्रमण नहोस् भनेर अलग कोठामा आईसुलेसन वार्डको व्यवस्था गरिएको हो । आईसुलेसन वाडको कोठा सधै बंद नै रहन्छ । हरेक प्रयोजनका लागि आईसुलेसन वार्ड प्रयोग गर्ने भएकोले सधै खुल्ला राख्न मिल्दैन ।
यस वार्डको संक्रमित बिरामीका लागि अलगै शौचालयको व्यवस्था गरेका छौ । स्रोत साधन जनशक्तिले भ्याए सम्म सेवा सुविधा दिन प्रयास गरेका छौ ।
५) अन्त्यमा सर्वसाधारणलाई के सुझाव दिन चाहनु हुन्छ ?
सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु कि रोग लाग्नबाट डराउनु पर्दछ । डराएर मात्रै पनि हुँदैन । त्यसको सावधानी पनि अपनाउनु पर्छ । कुनै पनि भाइरल रोगहरुको औषधी हामी संग छैन । उपचार हुँदैन । यसमा हमीले सपोर्टिभ ट्रिटमेन्ट गर्ने मात्रै हो । खोकि लागेमा औषधी दिने, ज्वरो वान्ता भए त्यसको रोकथाप गर्ने मात्र हो । कोरोना भाइरस सरुवा रोग हो ।
यसबाट बच्ने उपाय अनावश्यक रुपमा भिडभाड नगरौ, काम परेमा मात्र घर बाहिर जाउँ, साबुन पानीले पटकपटक हात सफा गरौं । आ—आफ्नो व्यक्तिगत सर सफाई र स्वास्थ्य प्रति सचेत रहौं ।