कमिक कन नेपालको आयोजना र मोडेल ग्लोबल भिजा कन्सल्टेन्सीको मुख्य प्रायोजना र होन्डाको सह–प्रायोजनमा यही भदौ ३० गते (सेप्टेम्बर १५) मा शनिबार काठमाडौंको भृकुटीमन्डपस्थित् बगैंचामा ‘कमिक कन नेपाल २०१८’ महोत्सवको आयोजना हुने भएको छ ।
विशेषगरि कस्प्ले प्रेमीहरुलाई कमिक कल्चरमा समावेश गराउने उद्येश्यसहित सञ्चालन हुन लागेको उक्त महोत्सवले सम्पूर्ण उमेर समूहलाई समावेश गराउने भएको छ । उक्त मेलामा दश हजारभन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कमिक कन नेपालले यस्तो जानकारी गराएको हो । कमिक कन नेपालकी निर्देशक सृष्टि श्रेष्ठले यो मेलाले नेपालमा रहेका कस्प्ले प्रेमीहरुलाई आफ्नो कला र ट्यालेन्टलाई प्रष्टफुटन गर्नको लागि बिदेश जान नपर्ने विश्वास व्यक्त गरिन् ।
नेपालमा पनि कला, संगित, चलचित्र, नाटक, भिडियो गेममा एनिमेसन प्रविधिको बिकासमा यो मेलाले टेवा पुर्याउने श्रेष्ठको दाबी छ । उनले भनिन्, ‘अहिलेको पुस्ताको छुट्टै इच्छा र चाहाना छन्, उनीहरुलाई परिवारले डाक्टर, ईन्जिनियर बन्न दबाब दिईराखेका छन् । तर, हाम्रो यो महोत्स्वले उनीहरुलाई आफ्नो प्रतिभा र वास्तविक क्षमतालाई प्रस्फुटन देखाउन ठूलो सहयोग पुग्नेछ । जसले आधुनिक वाणिज्य व्यवस्थापनमा, कला, सांगितीक प्रस्तुतिमा नयाँ प्रविधिलाई जोड्न मद्दत गर्छ । साथै, पश्चिमी पप संस्कृतिसँग जोड्न पनि सहयोग गर्छ ।’
‘स्पाईडर म्यान, सुपरम्यान, वन्डर उमनजस्ता एनिमेटिभ प्रस्तुति देखाउन चाहनेको लागि यो मेला एउटा अवसर सिर्जना गरिदिने बाटो बन्नेछ’–श्रेष्ठले थपिन् ।
सहभागीहरुले आफ्नो प्रस्तुति देखाएपछि विजेता हुनेलाई दिल्ली कमिक कनमा सहभागी गराउने र आयोजकले नै यो महोत्सवमा सहभागी हुनेमध्येबाट छनौट गरेर टोकियो कमिक कनमा पठाउने तयारी गरेको पनि कमिक कन नेपालका अर्का निर्देशक अभिनव श्रेष्ठले जानकारी दिए ।
साथै, यस मेलामा अतिथिको रुपमा नेपालका लागि जापान, अष्ट्रेलिया र अमेरिकाका राजदुतहरुको उपस्थिति रहनेछ । राजदुतहरुको साथै, महोत्सवमा विभिन्न कलाकारहरुको उपस्थिति रहनेपनि आयोजकले जानकारी दिएको छ । नेपाल चलचित्र विकास बोर्डका उपाध्यक्ष चेतबहादुर सिंह राजा र चलचित्र निर्देशक सविन बास्तोलाको पनि उपस्थिति रहनेछ । महोत्सवमा नेपाली पप गायक सविन राई र टर्कीका चर्चित कस्प्ले बेस्टी अक्टेमको प्रस्तुती रहनेछ ।
महोत्सवका सह–प्रायोजकहरुमा जिरो स्टार प्रा.ली., अष्ट्रेलियन ईन्स्टिच्यूट अफ बिजनेश एण्ड टेक्नोलोजी, पिग्स् एण्ड पाण्डा, ड्रिम स्टार ईम्पेक्स प्रा.ली. रहेका छन् । त्यस्तै कार्यक्रमको व्यवस्थापन ईभेन्ट सोलुशन प्रा.ली. र कार्यक्रमको प्रर्वद्धन ओटाकु क्लब नेपालले गर्ने भएको छ ।
मेला भदौ ३० गते (सेप्टेम्ब १५) को विहान ८ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ । मेलामा सहभागीहरुको लागि अनलाइन रजिष्टर तथा टिकटको माध्यमबाट पनि दर्ता गराइने जानकारी पनि आयोजकले गराएको छ ।
नेपालमा पहिलोपटक कमिक कन नेपाल सन् २०१७ को सेप्टेम्बर ९ मा कोटो ईन्टरनेश्नल एल.एल.सि र जिरोस्टार प्रा.ली.ले ओटाकु क्लब नेपालको सहकार्यमा ललितपुरस्थित् झम्सिखेलको हेरिटेज गार्डेनमा सम्पन्न भएको थियो ।