वीरगंजस्थित गण्डक अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि विशेष अस्पताल बनाइने भएको छ । वीरगंज महानगरपालिका र अस्पतालबीच कोभिड अस्पताल बनाउने विषयमा सहमति भएको हो ।
नेकपा वीरगंज महानगर कमिटी अध्यक्षसमेत रहेका सञ्चालक रहबर अन्सारीले यस्तो माहामारीको परिस्थितिलाई मध्यनजर गरेर महानगरपालिकालाई कोभिड अस्पताल सञ्चालन गर्न दिने घोषणा गरेका थिए ।
अस्पताल र महानगरपालिकाबीच भएको १३ बुँदे सम्झौता पत्रमा निशुल्क रुपमा अस्पताल भवन, शैया तथा भवनमा जडित प्रयोग भइरहेको सम्पूर्ण उपकरणहरु उपलब्ध गराउने, अस्पतालको व्यवस्थापन, उपकरणको मर्मत सम्भार खर्च, जेनेरेटर, विद्युत महसुल, खाना खर्च लगायत अन्य सञ्चालन खर्च महानगरपालिकाले बेहोर्ने उल्लेख छ ।
महानगरपालिकाले २४ घण्टाभित्र कोभिड अस्पतालमा परिणत गर्नुपर्ने र त्यहाँ रहेको विरामीहरुको व्यवस्थापन महानगरपालिकाले गर्ने, चिकित्सक तथा अन्य जनशक्तिको व्यवस्थापनका लागि गठन गरिने प्राविधिक समितिका संयोजक नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको निर्देशन अनुसार हुने सम्झौतामा उल्लेख छ । विरामीहरुको उपचारमा लाग्ने औषधी, आवश्यक जाँच (ल्याब, एक्सरे, युसिजी, ईसिजी) लगायतका सम्पूर्ण मेडिकल किट र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र आवश्यक थप औजार उपकरणहरुको व्यवस्थापन महानगरले नै गर्ने गरी सम्झौता भएको छ ।
प्रस्तावित गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयको टोलीले शनिबार नै अनुगमनसमेत गरेको महानगरपालिकाका सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।