कहाँ के भैरहेको छ ? कस्ले के भने र गरे ? खुशी, आनन्द, इष्र्या, दम्भ, घमण्ड, रिस, वैरभाव आफ्ना मनमा प्रायः जे छन् ? ती कैयन विषयमा जानकारी पाउने र दिने द्रुत माध्यम हो समाजिक सञ्जाल । समाजिक सञ्जालका अनेक फाइदा छन् । तर बेफाइदा पनि उत्रिकै छन् । प्रयोगको तरिकाले परिणाम प्राप्त हुन्छ । विश्वले कोरोनाको कहरबाट छुटकारा पाउन गरेका अनेक प्रयासहरु जान्न र अवलम्वन गर्न सञ्जाल फाइदाजनक छ नै । तर कोरोना भगाउने उपाएका नाममा बनाइएका भिडियो, टिकटक, लेखिएका स्टाटसहरुले भने आम जनतालाई भ्रमित बनाइरहेका छन् । समाचार संकलनका लागि बाराको एउटा गाउँमा पुग्दा ९० प्रतिशत घरका दैला अगाडि खाल्डो थियो । यस्को कारण बारे थाहा पाउँदा जोकोही अचम्मित हुन्थे जसरी म भएँ । कोरोना भगाएको रे ।
जेट र बमको संरचना गर्ने, चन्द्रमामा टेक्ने, विश्व सखापको योजना बुन्ने, सर्वसुविधा सम्पन्न राष्ट्रले कोरोनाको भाइरसको संक्रमण निवारण गर्ने सुत्र फेला नपारेको अवस्थामा हामी कहाँ त कोरोना भाइरस छिर्नै नसक्ने अचुक औषधी फेला परेछ । लौ जान्नै पर्यो चुरो कुरो भनेर सोध्दा ६५÷६६ वर्षका वृद्धले ‘भान्साबाट बाहिरिंदा मुल ढोकाको बाहिर दाहिने पट्टी खाल्डो खन्ने, त्यहाँ अंगार जस्तो कालो टुक्रा भेटिन्छ, त्यसको टिका घरका सबै सदस्यले लागाउने, राती खनेको ठाउँमा बत्ती बाल्ने ढोग्ने, यत्ती गरेपछि कोरोनाले छुँदैन भनेर एकै श्वासमा उपाय बताइदिए । एकजना अत्यन्तै दुरदर्शी लामा गुरुले भन्नुभाको भनेर कसैले स्टाटस र केहीले यस्तै प्रकृया अपनाएको भिडियो सामाजिक संजालमा अपलोड गरेको देखियो । गाउँ नगरमा यस्तो गरेको देखेर अरुले पनि गरे । कतिपय ठाउँमा ढुक्क भएको पनि देखियो ।
सामाजिक सञ्जालले फैलाएको हल्लाको गलत शिकार भएका गाउँले प्रतिनिधिले सुस्केरा हाल्दै थपे ‘के गर्नु मर्नुभन्दा बौलाउनु निको भन्दै आफनो बाटो लागे । उनीहरुले दैलोमा खने जस्तै कतै थाल ठटाइए, कतै शंंख फुकिए, कतै दिपावली मनाइए, कतै वेलना ठड्याइयो आदि मात्रै सामाजिक सञ्जालले ल्याएको हल्ला भाइरल भयो र मान्छे त्यसको शिकार भएका छन् । संसार नै घरमा कैद भएर बसेको यो आपतको घडीमा सुशुचित गराउन तल्लिन सञ्चारकर्मीहरुको यात्रा सहज पक्कै छैन । तर उनीहरुलाई समेत मात दिने गरी जन्मिएका फेसबुक पत्रकार पनि कहाँ कम छन् र ?
विना कुनै श्रोत, सञ्चारगृह र विना कलमका फेसबुके पत्रकारहरुले गर्दा कलमजीवी पत्रकारको समेत तेजोबध गरिएको छ ।
केही दिन अघी एउटा समाचार बाहिरियो ‘जितपुरसिमरामा पनि कोरोना संक्रमित भेटिए भनेर । यस्ले उपमहानगरवासिलाई निकै त्रस्त बनायो । अन्ततः यो झुटो थियो । वास्तविक घटनालेभन्दा यस्ता बतासे समाचारले बढी त्रसित बनाउँछ । यस्तैका शिकार बने जितपुरसिमरा उपमहानगरपालिका निवासी ४५ वर्षिय विजयराज थापा (नाम परिवर्तन) पनि । आफ्नो व्यवसायका अलावा समाजिक कार्यमा समेत व्यस्त रहने उनी एकान्तवासको समय विताउन इन्टरनेटको साहारा लिंदै थिए । टि.भि.÷रेडीयोका समाचारमा कारोनाका अपडेट, युट्युबमा कोरोना सम्बन्धित भिडियो, फेसबुकका कोरोना बारेका स्टाटस, टिकटकमा बनाइएका कोरोना सम्बन्धित व्यङ्गग्यात्मक भिडियो नै उनका साथी बन्दै थिए ।
चिनी पनि धेरै खाए तितो हुन्छ भनेझैं एउटा घटना त्यस्तै भएको छ । कोरोना कि जय, कोरोना नमस्कार, कोरोना आयो आयो भन्दै एक स्थानीय अचानक चिच्याउन थाले । परिवारका सदस्यले सुरुमा मजाक गरेको ठाने । तर यसरी चिच्याउने क्रम नारोक्किएपछि उनलाई नजिकैको अस्पताल लगियो । समान्य उपचारपछि घर ल्याइयो । तर चिच्याउने क्रम रोकिएन । भन्ने वित्तिकै चाहेको ठाउँमा पुर्याउन सकिने समान्य अवस्था छैन अहिले । जसोतसो गरेर राती नै काठमाण्डौं पुयाइयो । चिकित्सकले उनलाई मानसिक समस्या देखिएको र अस्पतालमा राख्न नसकिने भन्दै घरमै विषेश ख्याल गर्न तथा बढीभन्दा बढी व्यस्त राख्ने सल्लाह दिएर पठाएका छन् । उनकै हेरचाहमा परिवार व्यस्त छन् भने पहिलाको भन्दा अहिले सुधार भएको परिवारको भनाई छ ।
यी समाजिक संजालका कारण पैदा भएका प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् । सामजिक संजालले संसार भरको घटनाहरु एकै क्षणमा मान्छेको हातमा पुर्याउँछ । तर सामाजिक संजालबाट प्राप्त हुने त्यस्ता जनाकारीहरु कतिपय अवस्थामा झूठा, काम नलाग्ने खालका हुन्छन् । अहिले लकडाउनको अवस्थामा साथी बनेको इन्टरनेट र त्यसका माध्यमले सामाजिक संजालमा बिचरण गर्दा पनि आफूलाई कस्ता खालका जानकारी चाहिन्छ ? र कस्तो जानकारी लिने भन्ने बिषयमा आफू तयार हुनु पर्छ । जे आउला त्यो हेरौंलाभन्दा पनि आफूलाई नचाहिएका अनि बिश्वास योग्य नरहेका सूचनामा झुण्डिनु ठिक हुदैन ।
कुनै त्यस्तो सूचनामा आफ्नो झुकाव बढ्यो भने त्यो ठिक हो होइन भन्ने कुरा सुनिश्चित गरेर मात्र आफनो धारणा बनाउन वा त्यसलाई ग्रहण गर्नु आवश्यक छ । सामाजिक संजाल आफूमा रहेको आवेग कुण्ठा घृणा अभिब्यक्त गर्ने माध्यम समेत भएकोले यस्तो बेलामा सामाजिक संजालमा आएका धारणाका आधारमा आफनो धारणा बनाउनु पनि बेठीक हुन सक्छ । त्यसकारण धारणा बनाउने कुरामा पनि तथ्यका आधारमा बनाउँदा ठिक हुन्छ । त्यसको लागि सन्दर्भ सामग्रीहरुको सहयोग लिन जरुरी हुन्छ ।