जस्को गर्भमा सन्तति उम्रिन्छन् । नौ महिने विरुवा भै संसारमा रोपिन्छन् अनि उनका छाती चुसेर हुर्किन्छन् । भौगालिक दुरी जति भए पनि आमासँगको सामिप्यता, लगाव, प्रेम कहिल्यै कम हुन्न । तर व्यवहारिक जिवनको उल्झनमा भुल्दाभुल्दै आमालाई कृतज्ञता जाहेर गर्ने परिपाटी रहन्न । त्यसैले हिन्दु धर्मावलम्वी हरेकले बुझ्ने भएसँगै आमाका ती सबै योगदानका निमित्त आभार, धन्यवाद व्यक्त गर्न सकुन् भन्नका लागि प्रत्येक वर्ष वैशाख कृष्णऔंसीलाई आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गरिएको पाइन्छ । अर्थात ‘मातातीर्थ औंसी को रूपमा परिचित यस दिन, आफ्नो गच्छे अनुसारका मिठामिठा मनपर्ने परिकार ख्वाएर तथा सकेसम्म राम्रो लुगा कपडा, उपहार दिएर आफूलाई जन्म दिने आमालाई हर्षित बनाउने चलन छ ।
आमा नहुनेहरूले भने यो दिन दिवंगत आमाका नाममा पिण्ड दान गर्ने गरेको पाइन्छ । संभव भएकाहरु काठमाडौंको पश्चिमतर्फ थानकोट जाने बाटोमा गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थमा गई स्नान तर्पण गर्ने गर्छन् । स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कारण यस स्थानमा शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख, सन्तोष पाउने जनविश्वास छ । अर्को किम्बदन्ती अनुसार विष्णुको सातौं अवतार श्रीराम वनवासमा छँदा यो ठाउँ पुगेको, अपरिचित र नौलो सीतारामलाई देखेर त्यहाँका बासिन्दाले आक्रमण गरेको, श्रीराम र उनीहरू बीच घमासान युद्ध भैरहेका बेला माता सीताजीलाई प्यास लागेको । खोज्दा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले ’माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ मन्त्रको ३ पटक उच्चारण गर्दै गँगा माता पुकारेर जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो ।
माता सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाएको क्षण उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्तिमा कोरिन पुगेको भन्ने पनि गरिन्छ । घना जंगल भएको उक्त स्थानमा गाई चराउन पुगेका गोठालाहरू सोही कुण्डको नजिकै बसेर खाजा खाइरहेको बेला एउटा गोठालोको मुखमा रोटी नपरी कुण्ड भएतिर गएपछि नजिक गएर हेर्दा उसले त्यहाँ मृत आमाको दर्शन पाएको र घर फर्कने वेलामा आमासँगै जाने ईच्छा राख्दा हरेक वर्ष वैशाख कृष्णपक्षको औंसीका दिन यहीं दर्शन दिने वाचाका साथ छोरालाई सम्झाएर घर पठाएको कारण आमाको पवित्रस्थल मानेर यस स्थानलाई मातातीर्थ सम्बोधन गरिएको पाइन्छ । यही मान्यतालाई शिरोधार्य गरेर प्रत्येक वर्ष मातातीर्थ औंसीका दिन आमा जिवित नहुनेहरुले दिवंगत माताका नाममा यस तीर्थमा पिण्ड दान गरेर आमालाई सम्झिने गरेको पनि पाइन्छ ।
यो वर्ष विगतभन्दा फरक अवस्था छ । कोरोना संक्रमणबाट जोगिन देशमा लकडाउन घोषित छ । कोही आमासँगै होलान् । धेरै आमाभन्दा टाढा छन् । यस्तो अवस्थामा आमाको मुख हेर्ने यो पर्वलाई कसरी लिने ? विचारसँग खेलौं आमाको मुख हेर्ने दिनमा मात्रै होइन । हरपल माया अनि खुसी दिनुपर्छ मेरो विचारमा त । हरेक दिन मातातिर्थ औशी हो’ भन्छिन् कानुन व्यवसायी सविता न्यौपाने । परम्पराका कारण छोरीचेली सँधै आमासँग बस्न पाउँदैनन् । वैवाहिक सम्बन्ध र आफु स्वयं आमा बनेको सन्दर्भले भौगालिक दुरी हुन्छ नै । यसका अलावा आफुलाई आमा साथमै भएको महसुस हुने तर्कका साथ न्यौपाने भन्छिन् ‘म मेरि आमासँग नहुदा नि प्रत्येक दिन फोनबाट आमाको बोली सुनेर मात्रै दिनको सुरुवात गर्ने गर्छु । हामीलाई हाम्रो सन्तानको जति माया लाग्छ । हो त्यति नै माया आमाबुबाको पनि लाग्छ । मैले मूल्याँंकन त्यसरी गरेको छु उनले भनिन् ।’
जिवनमा आनन्द चाहनेले प्रत्येक दिन आमाबुबाको खुशीका लागि सोच्नु पर्ने भन्दै यशोदा ब्याग तथा रेडिमेड उद्योगकी प्रमुख यशोदा गजुरेल पोख्रेल तर्क गर्छिन । ‘आमाको माया साथ र काखको छहारीले अहिलेसम्म जिवनमा शान्ती सुख र सफलता मिलेको छ । मुख हेर्ने दिनमा मात्र होइन । सधैं आमाबुबालाई खुशी राख्नु नै सन्तानको कर्तव्य हो ।’ उनी भन्छिन् ।
आमाको ममताको ऋण कहिल्यै चुक्ता गर्न नसकिने ठान्छन् व्यवसायी मनोज बावरी । यस्तै सोच बोक्ने जयन्ति मेमोरीयल ट्रस्ट पोखराकी संयोजक सविता मैनाली भन्छिन् ‘मेरो लागि त हरेक दिन मातातीर्थ औंसी, हरेक दिन उहाँको आवाज नसुनी मेरो दिनको अन्त्य हुन्न । यो पटक प्रत्यक्ष भेट गर्न भने नसकिने अवस्था छ । फोन भिडियो कलबाट कुरा गरेर मन बुझाउनु पर्ने भयो ।’ उनले भनिन् । जिवन काट्न सहज बनाउने उद्देश्यले विदेशिएका ऋषीराम खतिवडा नेपालमा छोराकै प्रतिक्षामा रहेकी आमा सम्झिंदै भन्छन् ‘परेको बेला ख्याल गर्नुहोस् आमा भन्ने शब्द नै अटल अमर हो । ममता र शक्तिको खानी आमालाई मन भित्र भगवान बस्ने ठाउँ नजिकै राखे पुग्छ । यो बेला यस्तै छ के गर्नु ।
आमालाई खुशी राख्न वर्षमा एकदिन कुर्नु किन पर्यो र ? विदेशिएर फर्केका नवराज घिमिरे भन्छन् । ‘छाक टार्नै धौ–धौ परेको अवस्था सुधार्न विदेशिएर दिनभरीको थकान मार्ने धुनमा चाहेर पनि फोन गर्न अनि आमाका गुनासा सुनेर मन हलुका बानाइदिएर हँसाउन नसक्ने लाखौं छन् । विदेशीलाई हामे पर्वको के अर्थ ? त्यस्ता अवस्थामा पनि वर्षमा एक पटक आउने यो दिनले छुट्टै आनन्द दिन्छ । त्यसैले परिस्थिति जे भए पनि संधै जे छ । त्यो बाहेक पनि आमाको मुख हेर्ने दिन विषेश छ उनी थप्छन् ।
यस वर्ष मातातिर्थ औसी पर्व ऋइख्क्ष्म्(ज्ञढ का कारण घर भित्रै थुनिएको बेलामा पर्यो । डरले घरबाट निस्कन नसकिने तथा बजार, सवारी सबै बन्द रहेको समयमा परेकोले मातातीर्थ औंसी । आमालाई कसरी कृतज्ञता व्यक्त गर्ने ? संकोचका विच युवा नेता ओमप्रकाश सर्राफ भन्छन् ‘आमालाई खुसी पार्न कुनै बिशेष दिन वा पर्व चाहिदैन । आमा नै सन्तानको लागि देवी हुन्, मलाई लाग्छ सन्तानको सतकर्म र सन्तानको खुसी एवम् सफलतामा नै आमा खुसी हुन्छिन् । अहिलेको प्रतिकुल समयमा आमासँग घरमा नै भलाकुसारी गरेर समय बिताएर आमाको मुख हेर्ने दिन मनाउन राम्रो अवसरको रुपमा लिन सक्नु पर्छ ।’ सर्राफको जस्तै विचार पोख्छिन् नेपाल पत्रकार महासंघ प्रदेश नं २ की महिला उपाध्यक्ष रिंकु गायत्री मिश्रा । फुर्सदले आमासँग घरमै बस्न पाएको यो समयमा आमाबाट सिक्न सकिने कुरा धेरै भएकोले अनुभव साँटासाँट गर्नुपर्ने राय उनको छ । उनी भन्छिन् ‘घरमै बस्ने मातासँग भलाकुसारी गर्ने । संसारमा प्रथम पुजनीय मातासँग बसेका छोराछोरीले उनीहरुको इतिहास बुझ्ने कोसिस गर्ने र विभिन्न आरोह अवरोह कसरी पार गर्नु भो ? ती उपाय सिक्ने सोध्ने ।
आफ्नो पीडाको पर्वाह नगरी आफ्नो सन्तानको हरसम्भव खुशी चाहने अपार मनकी आमाको हरेक रुपलाई सधैं सम्मान गर्नुपर्ने ठान्छन् गायक तथा संगीतकार सञ्जु अमात्य । भन्छन् ‘आमाको सामिप्यता र आशिर्वाद बिना आफु अधुरो छु भन्ने कुरा संधै मनन गरौँ र कसैले पनि आफ्ना बृद्ध आमा बुवालाई बोझ नठानौं र समय परिस्थितिले भौतिक रुपमा आमाबाट टाढा रहे पनि आमाको माया त संधै आफ्नो सन्तानकै लागि रहन्छ । जहाँ जसरी रहे पनि चोखो अनि पबित्र मनले आखाँ चिम्लेर आमालाई सम्झिउँ । सँगै हुन नसके पनि जसले जुन ठाउँबाट जसरी सकिन्छ आमा प्रति श्र्रद्धा सुमन अर्पित गरौँ ।
मध्य नेपाल प्रेसकी संचालिका कविता खड्का भने समय अनुसार यस्तो सुझ्याउँछिन् “आमाले गरेका महान् र कष्टपुर्ण कार्यहरुको सम्झना गरिने विशेष दिन । देवीको प्रतिरुप अनि ममताकी खानी हरेक ईच्छा आकांक्षा अनि चाहाना पुरा गरिदिने कल्पवृक्ष झैं हुन् आमा । यस पृथ्वीलोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन । अहिले संंसार नै त्रासपुर्ण अवस्थामा छ । यो घडीमा तपाई जो कोही पनि आमाबाट टाँढा हुनुहुन्छ भने एक पटक आमालाई फोन गर्नुहोस् । आमाको अवााज धेरै बेर सम्म सुन्नुहोस् । आमाको स्मरण गदैँ तपाई जोसंग हुनुहुन्छ । आमाको वर्णन र स्नेहको वृतान्त सुनाएर आमाको काखैमा रहेको अनुभव ताजा गर्न सक्नु हुनेछ । जे गर्नु हुन्छ मनले गर्नुहोस् । आमाको माया र वहाँले खुवाउनु भएका दशधारा दुधकारु प्रति ईमान्दार र वफादार बन्नुस् । आमा साथमा नभए पनि सदैव आमाको तस्वीरसंग प्रण गर्नु होस् ।
बिबीसिको पर्सा संवाददाता एवं पत्रकार महिला समूह पर्साकी सदस्य सचिव माधुरी महतो भन्छिन् ‘आमाको माया सन्तान प्रति र सन्तानले आफनो आमा प्रतिको माया देखाउन कुनै विशेष समय नै चाहिन्न । किनकी आमा त आफनो सन्तानको मन मस्तिष्क र आशिर्वादमा सधै बास गर्ने देवता हुन् । हालको समयमा भने आमाको पहिलो प्राथमिकता आफनो सन्तानको सुस्वास्थ्यका लागि हरसम्भव प्रार्थना गर्ने र सन्तानले पनि आमाको स्वास्थ्यको ख्याल राख्नु वुद्धिमानी हुन्छ । त्यसैले कतै जान नसकिने अवस्था सिर्जना भएको अहिलेको समयमा फोन मार्फत, भिडियो कल मार्फत, सामाजिक सन्जाल मार्फत आमाको मुख सधै झैँ हेर्ने र यो विशेष दिन मनाउने साथै विभिन्न उपाय अपनाएर कोरोनाको संक्रमण हुनबाट आफुलाई बचाउनु र आमालाई पनि स्वस्थ रहन आग्रह गर्नु नै आमाको मुख हेर्ने दिनमा आमाको लागि ठुलो उपहार हुन सक्छ ।
खाने मुखलाई जुँगाले छेक्दैन भने झैं यो विषेश दिनलाई मनाउन आजको अवस्थाले खासै फरक नपार्ने तर्क सहित न्युज ट्वान्टी फोर टेलिभिजनका केन्द्रिय ब्युरो प्रमुख राजु श्रेष्ठ भन्छन् ‘‘आमाको मुख हेर्न कुनै बिशेष चाड पर्वको आवश्यकता पर्दैन, किनकी आमा भनेको त सधैं मुटु भित्र हुनुपर्छ । यद्यपि आमालाई सम्झन कुनै कोरोनाले छेक्नै सक्दैन ।’
आफु नमरी स्वर्ग देखिंदैन भने जस्तै अनुभव संगालेका छन् युट्युबर सन्तोष देउजा ठकुरीले ।
यो पर्वको महत्व मैले तब बुझे जब बुवा बने ।’ आफ्ना सन्तानलाई घर भित्रै थुनिनु पर्ने अवस्थामा टुलुटुलु हेर्नु बाहेकको विकल्प नदेख्दा मातृभूमि नै विवश भएको उनको ठम्याइ छ । त्यसैले उनी यस्तो सुझाव दिन्छन् ‘आमाहरु खुसी हुन टाढाका छोराछोरीले समय समयमा कल गरेर आमा भनिदिए पुग्छ । तर अहिलेको अवस्थामा नेपाल आमा नै रोइरहेकी छिन् । उनलाई खुसी राख्न लकडाउनको पूर्ण पालना गरे हुन्छ है ।विपतको यो समयलाई ख्याल गरी सुरक्षित हुनु नै आमाको लागि गतिलो उपहार हुने धारणा सहित युवा नेतृ मेघा शाही भन्छिन् ‘आमाहरुको लागि आफ्नो सन्तान र सन्तानको स्वास्थ्यभन्दा महत्वपूर्ण अरु केही पनि ठूलो हुदैन । त्यसैले यो वर्षको मातातिर्थ औसी आफु सुरक्षित बसौं र आमाको पनि सुरक्षाको ध्यान दिउ यो नै आमाको लागि अनमोल उपहार हुनेछ ।’