कोभिड १९ कमाण्ड पोष्ट पर्साले २५ भन्दा बढि एकै ठाउँमा खटाएर काम नगर्न उद्योगी व्यवसायीलाई संकेत गर्दै त्यसको समन्वय गर्न वीरगन्ज उद्योग बाणिज्य संघलाई भनेको छ । तर कमाण्ड पोष्टको निर्णय अनुसारको कार्य सम्पादन भने भएको छैन । यदि शैली परिवर्तन नभए वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हर्ट स्पोर्ट जोन’का रुपमा नहोला भन्न नसकिने भएको छ । पर्सा, बारा रौतहट र भारतका पनि सयौं व्यक्ति कार्यरत यो औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानले सो कुराको परिपालना नगरेको त्यहाँ कार्यरत श्रमिकहरुको भनाइ छ । दुई अढाइ सय श्रमिक कार्यरत उद्योगहरुमा २५ भन्दा बढि आउनु हुँदैन भन्ने कुनै उद्योग प्रतिष्ठानले समन्वय नगरेको श्रमिकहरुको दावी छ । हाम्रो उद्योगमा भएभरका सबै श्रमिक एकै पटक खटाइरहिएका छौं उनीहरुले तर्क गरे ।
नेपाल सरकारले अत्यावश्यक सामग्री उत्पादक कम्पनीहरुलाई श्रमिकको सुरक्षा सतर्कता अपनाइ उद्योग संचालन गर्ने भने पनि त्यो कुराको कुनै परिपालना नभएको खुलेको छ । औषधी निर्माण कम्पनीहरुले झन साविकमा श्रमिकलाई दिने पन्जा मास्क जतिको क्वालिटीका पनि नदिई अझ घरेलुमा काम लगाएको औषधी उत्पादक कम्पनीका श्रमिकको भनाइ छ । यो औद्योगिक कोरिडोरको औषधी उत्पादक कम्पनी मध्ये कोयष्ट फर्मास्यूटिकल्सले भने दुई गाडीमा ओसार्ने श्रमिकलाई ३ वटा गाडीमा ओसार्न थालेको छ । अनि उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिने गरेको छ । बाँकी नाम चलेका नेपाल फर्मास्यूटिकल्स, नेशनल फर्मास्यूटिकल्स जस्ता ठूला कम्पनीले श्रमिकका लागि खासै कुनै सतर्कता नअपनाएको खुलेको छ । के भन्ने ? पहिले भन्दा खासै फरक छैन त्यहाँ काम गर्ने श्रमिकले नाम उल्लेख नगर्ने शर्तमा भने ।
‘ उद्योगमा काम गर्नु भनेको सरकारका मन्त्रीहरुले परपर कुर्सी सारेर दूरी कायम गरेजस्तो हो ? मेशिनमा काम गर्ने श्रमिकले मेशिनको पार्ट छुट्याएर पर सारेर काम गर्न मिल्छ ? त्यहाँ काम गर्ने श्रमिकहरुले प्रतिप्रश्न गरे । अस्ती पर्सा र रौतहटमा कोरोना संक्रमित फेला परिसकेका छन् । बारामा पनि उच्च आशंकामा मानिसहरु आइसोलेशनमा राखिदैछ । यस्तो अवस्थामा यो क्षेत्रका अनेक ठाउँबाट उद्योगमा आउने श्रमिकको कारण तीनवटै जिल्लामा संक्रमण फैलाउने काम नहोस् । सुरक्षा सतर्कताका सवालमा खासै केही भएको छैन । कि उतै बसन नत्र काममा नजाऊ भनी घर परिवारको दवाव अत्याधिक छ श्रमिकहरुले भने । तर यसको सवालमा यस कोरिडोरका उद्योग संचालकहरुले भने उद्योगमा नै क्वारेन्टाइनको व्यवस्था गर्न सकेको छैन । उनीहरुले सरकारले नसकेको हामीले तुरुन्तै कसरी सक्नु ? तर्क गरे ।
कतै छैन आवासीय व्यवस्था
उद्योग व्यवस्थापनले आवासीय व्यवस्था गरी उद्योगमा नै क्वारेन्टाइन बनाएर काममा लगाए दोहोरो तनावमा हुने थिएनौं । अनि भारत, पर्सा, बारा र रौतहट देखिका श्रमिक एकै ठाउँमा काम गर्ने उद्योगबाट गाउँसम्म संक्रमण सर्ने तनाव पनि हुने थिएन श्रमिकहरुले बताए ।
सुरक्षा सतर्कता अपनाएर काममा लगाए हामीलाई काम गर्न कुनै टेन्सन हुने थिएन उनीहरुले समग्र श्रमिकको कुरा गर्दै बताए ।
श्रमिक अगुवा उद्योगमा अनुगमन गर्न छैनन् पुगेका
विश्वका कतिपय मुलुक झैं नेपालमा पनि कोरोना संक्रमण पैmलन नदिन नेपाल सरकारले लकडाउन गरिरहेको छ । सो समयमा अत्यावश्यकीय सामग्री निर्माण गर्ने उद्योगहरुलाई भने संचालन नै गर्नु भन्न पनि बाँकी राखेको छैन । तर श्रमिकको सुरक्षा सतर्कताका कुरा उद्योगीका टाउकामा फालिदिएर सरकार आफू पर सरेको छ । उद्योगीले डब्लुएचओ को मान्यता अनुसार श्रमिकको सुरक्षा गरेर उद्योग चलाउने कुरै भएन । यस्तो अवस्थामा सरकार र उद्योग व्यवस्थापनले श्रमिकलाई घान हालेर कतिन्जेल उद्योग चलाउने ? समग्र उद्योग ट्रेड युनियनका केन्द्रिय अध्यक्ष आनन्द थामीले भने । फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई २५ लाखको बीमा लगायत सुविधा दिने नेपाल सरकारको निर्णय छ । सुरक्षित सामग्री पनि उपलब्ध गराउँदै छ । तर श्रमिकको सुरक्षाको लागि दुवै तर्फबाट हेलचेक्र्याई भयो उनले तर्क गरे । उद्योग चलाउने भनेको डब्लुएचओ को मान्यता अनुसार हो डब्लुएचओले भनेको पनि छ । अत्यावश्यकीय सामग्री उत्पादन गर्नै पर्ने भए भनेर । तर एकै पटक जिल्लाका जिल्ला संक्रमणमा होम्न सम्बन्धित पक्षहरु सजग भएका छैनन् उनले भने ।
श्रमिक संगठनहरुले श्रमिकका पीरमर्का बुझ्ने गरी एकद्वार प्रणालीबाट सम्बन्धित पक्षसँग कुरा गर्न जेटीयुसिसी, आइपीयुसी⁄नेक जस्ता संयुक्त समिति बल्ल विज्ञप्ती निकाल्दै छन् । उनीहरु पनि सुरुमा नै चुकेको नेपाल ट्रेड युनियन कांग्रेसका पर्सा अध्यक्ष छोटेलाल प्रसाद स्वीकार छन् । यो महामारीमा फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको जस्तो श्रमिकको सवालमा पनि सरकारले बीमा लगायतको सुविधाका बारेमा बोलेको छ । तर, गाउँका गाउँबाट जम्मा भएर श्रम खर्चने श्रमिका सवालमा ठोस अनुगमन समिति बनाएर अनुगमन गरी सोही आधारमा काम अगाडी बढाउनु पर्ने उनको भनाइ छ । मानिसका बीचमा काम गरेर फर्कने श्रमिकका बारेमा सरकार पनि प्रष्ट बोलेको छैन उनले भने । सरकारले भने जस्तो उद्योग संचालकले सुरक्षाको आवश्यक पूर्वाधार तुरुन्त गर्न सक्ने अवस्था छैन । त्यसो हुँदा यो जस्तो मुलुकका अन्य कोरिडोरमा कार्यरत श्रमिकका कारण भोली गाउँका गाउँ कोरोनाबाट गाँजिने त होइन भन्ने पनि उत्तिकै सम्भावना बढेर गएको शिक्षक महासंघका केन्द्रिय सदस्य समेत रहेका साहले तर्क गरे ।
बीमा, सुरक्षित सामग्री, बाहिरी मानिससँग सम्पर्कमा निशेध र अनुगमन अनि सोही आधारमा कार्यान्वयन हाम्रो माग यो हो नेपाल कारखाना श्रमिक संघका केन्द्रिय अध्यक्ष अमृतलाल जोशीले भने ।
सुरक्षा सतर्कता अपनाउन औषधी उत्पादक कम्पनी पनि असफल
औषधी उत्पादक कम्पनीहरुले समेत श्रमिकका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन नसक्नु र उद्योग प्रतिष्ठानमा नै आवासीय तथा क्वारेन्टाइनको व्यवस्था नसक्नु दुखद् पक्ष भएको छ । नेपाल औषधी उत्पादक संघका कोषाध्यक्ष प्रभात रुंगटा इण्डियामा औषधी उत्पादन गर्ने कम्पनी कार्यरत २६ श्रमिकमा कोभिड १९ देखा परेको तर्क गर्दै यहाँ पनि त्यस्तो नहोला भन्न सक्ने अवस्था नभएको बताउँछन् । तर सरकारले अत्यावश्यकीय औषधी उद्योग बन्द गर्न नमिल्ने भनेपछि हामीले चलाउनु को विकल्प छैन । सेनिटाइजरको केही व्यवस्था, माक्स, पन्जा जस्ता कुरा उपलब्ध गराउने वाहेक अरु उपाय पनि त उद्योगीसँग त छैन नि उनी तर्क गर्छन् । यो वाहेक डब्लुएचओले भने जस्तो पीपीइ सहितको सामग्री श्रमिकलाई उपलब्ध गराउन अहिले नै सकिन्न उनले भने ।
हामी संघको तर्फबाट कुनै उद्योग बन्द गर, या चलाउ भन्न सक्ने अवस्थामा छैनौं । तर औषधी व्यवस्था विभागलाई कुन उद्योगले के औषधी उत्पादन गर्छ ? अहिलेको समयमा कुन बढि प्रभावकारी छ ? अनि श्रमिकलाई भित्रै राखेर चलाउन सक्ने अवस्थाका कुन उद्योग छन् ? भन्ने राम्रो थाहा छ । त्यस्ता केही अत्यावश्यकीय पूर्वाधार भएको केही उद्योग चलाउन सहकार्य गराएर गरे त्यो बरु प्रभावकारी हुने उनले सुझाव दिए ।
सरकारले नसकेको उद्योगीले कहाँबाट ? : अध्यक्ष गुप्ता
वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा १४ वटा औषधी उद्योग छन् । खाद्यान्न बारा, पर्सामा गरी ३५० वटा रहेका छन् । जसमा ४० प्रतिशत उद्योग अहिले संचालनमा छन् । ती उद्योगका सबै श्रमिकहरु जसोतसो काममा आएर काम गर्दैछन् । तर उनीहरुको पूर्ण सुरक्षा सतर्कता त उद्योगीले कसरी मिलाउन सक्छ ? चामल, तेल दाल उद्योग संघका केन्द्रिय अध्यक्ष सुवोध गुप्ताले भने । संचालित उद्योगहरुमा श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन एउटा उद्योगीले सम्भव छैन । ‘नेपाल सरकारले कोभिड १९ को महामारीमा फ्रन्ट लाइनमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तो जनशक्तिलाई अझै सुरक्षित सामग्री उपलब्ध गराइ नसकेको समयमा एउटा उद्योगीले यो सम्भ्व नभएको वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले बताए । यो महामारीका समयमा डब्लुएचओको मान्यता अनुसार सम्भव भएसम्म दूरी कायम गर्ने भन्ने सम्मको कुरा हामी गर्न प्रयास गर्दैछौं । मास्क, पन्जा र बजारमा भेटिए सेनिटाइजरको व्यवस्था गर्ने काम पनि भइरहेको उनले थपे ।