कोरोना कहरले विश्वलाई चुनैति दिएको छ । को धनि को गरिब सबै त्रासमा छ । देशमा लकडाउनको पालना गर्दै घरभित्रै थुनिनु पर्दा यो समयका सबै पर्व खुशी रहित छन् । तर आज जन्मदिन परेकाहरु मध्येका एक श्याम अधीकारीलाई खुशी हुन न लकडाउनले रोक्न सक्यो न त कोरोनाले नै ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ नरवस्ति प्रभातटोल निवासी श्यामले त गजबको जन्मदिन मनाए । एका बिहानै नुहाइधुवाई गरेर आमाबुवाको आर्शीवाद लिए अनी लागे जन्मदिनको पार्टी मनाउन ।
उनले दिएको पार्टी समान्य भन्दा भिन्न थियो । न त भिडभाड न त तडक भडक बाटो छेउमा केहि पोकाहरु देखिन्थे भने छेउमा मुस्कुराउँदै उभीएका श्याम आउनुस् एउटा पोका लैजानुहोस् भन्दै थिए । भोकले चारभित्ता कोपर्न मिल्ने भए पनि कोपार्थें भन्ने अवस्था आएको बेला पाएको दश किलो चामल, दुई किलो दाल, एक पाकेट नुन र आधा लिटर तेल सहितको पोको उचाल्दै कमजोर दृष्टिका गोपाल बस्नेतले मनभरी आशिष सहित धन्यवाद दिए । मागेरै श्रीमती सहित सुकुम्वासी बस्तीमा गुजारा चलाईरहेका बस्नेतलाई मरुभुमीमा पनि मिलेजस्तो बनाए श्यामले । उत्सव मनाउने रकमले कसैको पेट भर्ने मन छ भन्ने विचार सुने पछी स्थानिय रुपान्तरण युवा क्लबले वडा नं. १ र २ का दैनिक ज्यालादारीको भरमा बाँच्ने, असक्षमताका कारण मागी खान बध्य, एकल तथा वृद्धवृद्धाको परीवार बारे पत्ता लगाएर जन्मोत्सवको यो चाँजोपाँजो मिलाइदिएको थियो ।
स्वास्थ्य जोखिममा नपरोस् भनेर गरीएको लकडाउनका कारण सबै समस्यामा छन् भने नाजुक आर्थीक अवस्थाका परीवार भोकको चपेटामा छन् । यस्तै समस्याले जकडिएका पेन्टर अब्दुल अन्सारी, ध्रुव थापा मगर, रेखा मिश्रा लगाएतका २१ परीवारलाई श्यामले २० हजार बराबरको खाद्यान्न वितरण गरे । त्रासदीपूर्ण अवस्थाका कारण व्यक्तिगत दुरी कामय गर्दै गरीएको यो सहयोगले मनसँगै जोड्यो मनलाई ।
एक वर्ष अघी एयरपोर्ट नजिकै माजाघरे टेन्ट हाउस खोल्दा वर्षीकउत्सवका समय वृद्धाश्रममा भोजन गराउने अठोट गरेका श्यामले समयको प्रतीकुलताका कारण वार्षीकउत्सव लाई पनि जन्मदिनसँग जोडेर विपन्नलाई सहयोग गरेको बताए । उनले भने ‘‘बुवा (दुर्गादत्त अधिकारी रुपान्तरण युवा क्लबका अध्यक्ष) ले गरेका समाजिक कार्यहरु देख्दा सँधै केहि गरौं भन्ने लाग्थ्यो तर स्वयं परीवारमा निर्भर थिएँ । अहिले कमाई छ जसले गर्दा चाहेको गर्न सक्छु भने किन एक दिन सक्षमलाई पार्टी दिउँ, बरु केहि दिनलाई पार्टी झैं मान्ने वातावरण बनाउँ भन्ने लाग्यो र परीवारलाई भनें । सबै खुशी हुनुभयो जस्को परीणाम आज मैले २१ अभिभावकको मुहारमा मिठो मुस्कान पाएँ । यो मेरो बेस्ट बर्थडे पार्टी भयो ।’’
रोगको डरले घरमै कैद भएका बेला हुनेले त थरीथरी पकवान बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै समय काटीरहेकाछन् । तर हुदा खानेहरुलाई यत्तीका समय काम, दाम विना बस्नुपर्दा दैनिक जिवन धान्न निकै मुश्कील परेको छ । ‘‘यस्तो बेला श्यामले गरेको दानले केहि परीवार केहि दिन त सहजै पेट भर्न सक्छन् त्यसैले यो पुण्यको कार्य हो’’ भन्छन् रुपान्तरण युवा क्लबका सचिव मधुसुदन कंडेल । ‘प्रतीकुल समयमा पनि समस्यामा परेकोहरुको मनोबल उच्च बनाउने कार्यमा जुट्ने यो प्रयास सराहनिय कार्य भएको भन्छन्’ साहित्कार एवं रेडियोकर्मी रामप्रसाद अधिकारी ।
खुशी बाँडे बढ्छ, दुःख बाँडे घट्छ भने झैं आफुसँग भएको खुशी बाँडेर अझै बढाउने र जो सँग दुःख छ त्यो बाँडेर घटाउने तर्फ सबैले सोच्ने समय भएकोले श्यामले गरेको कार्यबाट सबैले सिक्न र व्यवहारमा उतार्न सके यो मुश्किल समय पार गर्न सकिन्छ भन्छिन् श्यामकी छिमेकी एवं रुपान्तरण युवा क्लबकी सदस्य तारा कंडेल ।