परिवर्तनशिल समयको यात्री मानव समयको मागसगैँ हरेक क्रियाकलाप र गरिने व्यावहारमा परिवर्तन हुनु स्वभाविक हो । कतिपय धर्म संस्कृति र परम्पराहरु निभाउने क्रममा कहिं कतै अल्मलिएर आफ्ना रीतिरिवाजलाई विसंगति र बिकृति तर्फ धकेल्नु धर्म संस्कृतिहरुको जर्गेना गर्न नसक्नु हो । जसको उदाहरणको रुपमा आजभोलिको तीज पर्वलाई लिन सकिन्छ ।
हिजो र आजलाई नियालेर हेर्ने हो भने तीज पर्व मनाउने तरिका धेरै परिवर्तन भएको छ । कुनै बेला तीज पर्वलाई महिलाले आफुले भोगेका दुःख पीडाहरुलाई शब्दरुपी माला बनाएर अभिव्यक्ति गर्ने र आफ्नै घरमा मिठो मसिनो बनाएर छोरी चेलिलाई खुवाउने महान् पर्वको रुपमा मनाउने गरिन्थ्यो । तर आज भोलि आफ्नो मौलिक स्वभाव बिर्सेर आयातित अनुकरणमा सुख खोज्ने कार्यहरु सामान्य हुन थालेको छ । जस्को कारण परापूर्वकालदेखि मान्दै आएका धर्म संस्कृतिहरु लोप हुदैछन् । पारिवारिक मौलिकता, हासो, खुशी, गित संगितको स्वरमा परिवर्तन हुदै विकृति र बिसंगति झाँगिदैछन् । र नलुकाईकन भन्नु पर्दा आज भोलि तीज पर्र्व भड्किलो र खर्चिलो बन्दै गएको यथार्थलाई नकार्न सकिन्न ।
यो सत्य कुरा हो, पहिले र अहिलको दृष्टिकोणमा हाम्रो समाजमा महिलालाई हेर्ने नजरमा परिवर्तन आएको छ । चाडपर्वमा मात्र नभएर अन्य कुराहरुको अध्ययन गर्ने जमाना बदलिएको छ ।
सासु बुहारी, नन्द आमाजु प्रति गरिने असमान व्याबहारमा परिवर्तन भएकोछ । छोरी र बुहारी प्रति गरिने ब्यवहार पहिले जस्तो छैन । जन्म घर गएर मिठो मसिनो खान तीजमा भाइ लिन आउँला भनेर पिढीमा बसेर आखाँले भ्याउन्जेल बाटो हेर्न पर्ने जमनाबाट हामी विस्तारै वाहिरिदै आएका छौ । विज्ञान र प्रवृद्धिको बिकाससगै आफुलाई फड्को मार्न सतप्रतिशत नसके पनि सो प्रवृद्धिको पछि पछि दर्गुदै छांै । घरको दलान भित्र मात्रै सिमित भएर आफ्नै घरमा दाशी सरह ढिकी र जाँतोमा आफूलाई बन्दि सरह जीवनयापन गर्न पर्ने बाध्यता यो समाजबाट बाहिरिदै छ । महिलाहरुको हक र अधिकार प्रप्तिका लागि गरिएका थुर्पै आन्दोलनले सार्थकता पाएको छ ।
स्वतन्त्र रुपमा हाँस्न, बोल्न, र आफुलाई लागेको कुरा अभिव्यक्त गर्ने स्तन्त्रता पाएको छ । यो महिलाले गर्ने काम यो पुरुषले गर्ने कामका नाराहरु विलन हुदैछ् । यस्ता थुप्रै उपलब्धि छन् जस्लाई हेरेर महिलाहरुले गर्व गर्न सक्छन् । तर यदाकता महिला अधिकारको आढमा बिकृतिहरु जन्मिन थालेका छन् । स्वतन्त्रताको नाममा आफ्नो अधिकारको गलत प्रयोग हुने सम्भावनाको गन्ध आउन थाल्नु पक्कै पनि राम्रो पक्ष होइन । चाड पर्व कै कुरा गर्ने हो भने आज भोलि पर्व मनाउने प्रचलनमा गुणात्मकता हराँउदै जानु, धर्म संस्कृतिको मिठासभन्दा पनि अस्वभाविक प्रतिष्पर्धाको गन्ध आउनु भोलिका दिनमा आउने पिढीहरुलाई कस्तो छाप पर्ला ? त्यता पट्टि ध्यान जान आवश्यक देखिन्छ ।
तीज पर्व सुरु हुनुभन्दा महिना दिन पहिले देखि नै दर खान ठूल्ठुला होटेल, रेष्टुरेन्टमा महिला दिदिबहिनीहरु भेला भएर फजुल खर्च गर्दै महँगा लत्ताकपडा अनि गरगहनाको फेसन सो गर्ने मौलिकता बिहिन डिस्को नाचको बिकृति दिनहुँ बढ्दै जानु पक्कै पनि राम्रो पक्ष हुदै होइन । अस्तव्यस्त जीवन र भड्किलो संस्कार अनि चाडपर्वको नाममा बिग्रँदो समाजलाई बेलैमा रोक्न सकिएन भने कुनै पनि पर्वहरु पर्व जस्तो रहदैन भन्ने बुझ्न नितान्त आवश्यक छ । महिला हक र अधिकारका कुरालाई ग्रहण गर्दे अबका दिनमा कस्तो कदम चाल्नु पर्दछ भन्ने तर्फ सकारात्कम सोच सहित अघि बढ्न सक्नु पर्दछ । गलत मानसिकता र प्रविधिलाई रोक्न सकिएन भने भावि पिढीहरुले तीज पर्वको महत्व भुल्दै जानेछन् र भड्किलो संस्कार झाँगिदै जाने चिन्ता हुनु स्वभाविक हुन जान्छ । आफ्नो धर्म संस्कृतिको जर्गेना गर्न सके मात्र हाम्रो संस्कार आउँदो पिढीले पर्वको महत्वलाई भावी पुस्ता सम्म डोर्याउन सक्नेछ । भाषा सभ्यता सगैँ शिष्टताको पहिचान बोकेको हाम्रो तीज पर्व सबै नेपाली महिलाहरुको जीवनमा खुशि छाइरहोस् ।