वीरगंज महानगरपालिका वडा नम्बर ९ का संदिप राउत फोहरबाट मोहर कमाउन निकै खप्पिस भइसकेका छन् ।
९ वर्षिय राउत फोहरबाटै आफ्नो उमेरको अंकभन्दा दोब्बर रकम कमाउँछन् भन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । तर उनको कमाई प्रायः दैनिक नै ५ देखि ७ सय पुग्छ । वीरगंजस्थित रेल्वे रोडको सडकखण्ड अन्तर्गत दुर्गा हल नजिकै फोहर संकलन गर्दै गर्दा भेट भएका संदिपले भने बर्षात्को समयमा मात्रै थोरै कमाई हुन्छ । होइन भने प्रायः हरेक दिन ५ देखि ७ सय सम्म हुने उनको भनाइ छ । बालश्रमका बिषयमा चौतर्फी आवाज उठ्ने गरेको छ । हुन पनि कम उमेरमा काम गर्दै गरेका सन्दिप जस्तै हरेक बालबालिकाले कडा मेहेनत गर्नुपर्छ भन्ने होइन । तर संदिपको बाध्यता भने पेट पाल्नकै लागि फोहर संकलन गर्दै अध्ययनलाई पनि निरन्तरता दिनु कम चानचुने कुरो होइन । अध्ययन पनि यो प्रदेशकै ठूलो लगानीमा सञ्चालित नीजि विद्यालय ज्ञान्दा एकेडेमी इङ्गलिस बोर्डिङ्ग स्कुलमा छ भन्दा अझ धेरैलाई विश्वास नलाग्न सक्छ । तर यथार्थ यहि हो ।
घण्टाघर नजिकैको वीपी उद्यान भित्रको सार्वजनिक रेल्वे संस्थानको जग्गामा टहरा बनाएर बुबा गजेन्द्र राउत र आमा वविता राउतसंगै बस्दै आएका संदिप विहान पढ्ने र दिउसो फोहोर संकलन गरेर आफ्नो घर परिवारको आर्थिक बोझलाई हलुका पार्दै आएका मेहेनति विद्यार्थी हुन् ।
बुवा र आमा दुबैजना महानगरपालिकाको नाला सफाई र सडक बढार्ने काम गर्दै आएको भए पनि बुबाआमाको कमाइले मात्र परिवार चलाउन गाह्रो भई आफूले पनि फोहर संकलन गर्न थालेको उनको भनाइ छ । वीरगंज महागरपालिकाको अस्पताल, क्लिनिक, बजार एरिया, बसपार्क लगायतको स्थानमा फालिएको प्लाष्टिक जन्य झोला, बोतल, टुटेफुटेर फालिएका प्लाष्टिकका कुर्सी लगायतको समाग्रि जम्मा पारेर छपकैयाँ स्थित प्लाष्टिक कारखानामा बेचेर आउने रकमबाट घरमा साथ दिने र सोही रकमबाट कामी किताबको जोहो गर्ने गरेको उनको तर्क छ । राम्रो कमाई हुँदा ५ देखि ७ सय रुपैयाँ सम्मको कमाईले महिनाको जम्मै कति भयो भन्ने हिसाब ठ्याक्कै बताउन नसके पनि बर्षात् नभएको महिनामा राम्रो कमाई हुने गरेको उनकी आमा बविता राउतले पनि स्वीकारिन् । हरेक दिनको खानपानमा खर्च हुने भएकाले सो पैसा बचत हुन नसकेको उनकी आमाको बविताको भनाई छ ।
चार भाइ मध्ये सबैभन्दा जेठो सन्तान रहेका संदिपलाई ऊ बस्दै आएको टोलमै आएकी एक शिक्षिकाले ज्ञान्दा स्कुलमा निःशुल्क भर्ना गराई दिएको उनीहरुले बताए । सुरुवातमा नेपाल रेल्वे माविमा अध्ययन गर्दै आएको भए पनि सरकारी विद्यालयमा भेदभाव हुने गरेकाले पढ्न छोडेको छोरोलाई निजि विद्यालयमा भेदभाव नहुने भए पछि सो विद्यालय भर्ना गराएको उनकी आमा बबिता बताईन् ।
विद्यालय भर्ना अभियानमा आउने शिक्षकहरुले टोलका बालबालिकाहरुलाई भर्ना गराई दिन्छन् । तर दुई तिन महिना नबित्दै छोरा छोरीलाई जातियता, पहिरन जस्ता भेदभावले उनीहरु पढ्न जान मान्दैनन् उनले थपिन् । शिक्षिका बहिनिले भेदभाव नहुने आश्वासनले छोरो पढ्न मानेको उनको तर्क छ ।
वीरगंज महानगरपालिका अन्तर्गत शिक्षा समन्वय इकाईले शिक्षा ऐन २०२८ संशोधीत २०७२ अनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत नघटाई गरीब, अपाङ्ग, महिला, दलित र जनजाति लगायतका विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउनु पर्ने व्यवस्था अनुसार महानगरपालिकाले निजि विद्यालय हरुलाई चिठी पठाई छात्रवृति उपलब्ध गराउने विद्यार्थीहरुको नाम ठेगाना बुझाउन परिपत्र गरेको थियो । सोही अनुरुप गरिब विद्यार्थीहरुलाई संस्थागतमा समेत भर्ना गराउने काम गरिएको वीरगंज महानगरपालिका शिक्षा महासाखा प्रमुख मन्जुर आलमले बताए । उनले भने, महानगर अन्तर्गत धेरै जसो संस्थागत विद्यालयहरुले नियम पालना गरेका छैन तर हामी यसलाई कार्यन्यन गराउन लागी परेका छौँ ।