राजनीतिक पृष्ठ भूमिका बुबा राधेचन्द्र राय यादव र रुपकली देवी अहिरको दोस्रो सन्तानका रुपमा जन्मिएका राजेश राय यादव कलैया उपमहानगरपालिकाका नगर प्रमुख हुन् । २०३६ सालमा एस एल सी उतिर्ण गरी बीएसम्मको अध्ययन पूरा गरेका नगर प्रमुख यादवको जन्म २०२१ सालमा भएको हो । २०४८ सालको निर्वाचनमा पराजित भए पनि २०५१ र ०७० को निर्वाचनमा विजयी राधेचन्द्र यादवका चारछोरा र दुई छोरी मध्ये दोस्रो सन्तान रुपमा जन्मिएका हाल कलैया नगर प्रमुख यादवले विद्यार्थी जिवनबाट नै नेपाली कांग्रेस निकटको भातृ संगठनमा रही राजनीतिक यात्रा सुरु गरेको बताए । मधेशमा मधेशी राजनीतिको राम्रो लहर चलेको समयमा संघीय मुलुकको एक स्थानीय सरकार प्रमुख बनेका नगर प्रमुख यादवसँग मध्य नेपालले समय सामयिक बिषयमा गरेको बिशेष कुराकानी :
१) निर्वाचित भएको एक वर्ष बित्न लागेको छ, कलैया उपमहानगरपालिकालाई समृद्ध बनाउने योजना के बनाउनु भएको छ ?
निर्वाचनका बेलामा कलैया उपमहानगरपालिकालाई फ्र्रि वाईफाई जडान, गुणस्तरीय शिक्षा, स्वास्थ्यको लागि अस्पताल अथवा आधुनिक स्वास्थ्य संस्थाको निर्माण, सडकको बिस्तार, नाला व्यवस्थापन जस्ता योजनाहरु घोषण गरेको थियो । त्यस मध्ये लगभग सबै कार्यहरु हुदैछन् । आगामी योजना भन्नु पर्दा हाम्रो यस कलैया उपमहानगरपालिकामा व्यवस्थित बजार छैन ।
हामीले आधुनिक किसिमले बजारको व्यवस्थापन गर्ने योजना बनाएका छौ । त्यसका लागि हामी सबै लागि परेका छौं । यो साल भित्रै बजारको व्यवस्थापन हुन्छ । शिद्धेश्वर मा.वि भनौ वा शिद्धेश्वर महादेव त्यहाँ एउटै ठूलो कम्पाउण्ड छ । त्यस भित्र मन्दिर, विद्यालय, पोखरी , क्रिकेट मैदान छ । यो यहाँको धार्मिक पर्यटकीय रुपले चिनिने ठाउँ हो । त्यो एकदमै जिर्ण अवस्थामा छ । त्यसको सुधारको लागि डिपिआर विस्तार गराउने योजना छ । त्यस्तै मटिहर्वादेखि पिलुवा सम्मको सडक बनाउने कार्य भईरहेको छ । त्यस्तै कलैया उपमहानगरपालिका भित्र २७ वटा वडा छन् । प्रत्येक वडा देखि सदरमुकाम जोडिने सबै सडकहरु कालोपत्रे गराउने योजना छ ।
२) विकास निर्माणका काममा तपाईका विरोधीहरुले कतिको साथ र सहयोग गरेका छन् ?
विरोधी नभएका हैनन् । विरोधी धेरै छन् । अनि काम गर्ने क्रममा बाधा व्यवधान त आइ नै हाल्छन् । विरोधले नै काम गर्ने जोस बढ्छ र काम राम्रो हुन्छ । तर मैले सकेसम्म सबै संग समन्वय गरेरै कार्य गर्दै आएको छु ।
३) अबको चार वर्षमा गर्नु पर्ने कामहरु मध्ये कति काम गर्न बाँकी जस्तो लाग्छ ?
निर्वाचित भइसकेपछिको पहिलो बजेट हत्तारको बजेट थियो । केही कार्यहरु पूर्णरुपले गर्न पाइएन वा सकिएन भनौ । अबको चार वर्षको बजेट डिपिआर गरेर राम्ररी योजनाबद्ध रुपले कार्य गर्ने खाका कोरेको छु हेरौ कतिको पूरा हुन्छ ।
४) अरु स्थानीय तहमा मेयर र उपमेयको खासै तालमेल छैन । तपाईको स्थानीय तहमा उपमेयरलाई उपेक्षा गरेर काम त गर्नु भएको छैन ?
त्यस्तो हैन । उहाँलाई न्यायिक समितिको जिम्मेवारी छ भने विकास निर्माणका कार्यको जिम्मेवारी नगर प्रमुखको हुन्छ । त्यसैले म अलि दौडरुप गरेको देखिएको हो । मेरो जतिकै जिम्मेवारी उहाँको पनि छ । र उहाँले आफ्नो जिम्मेवारी राम्ररी बुझ्नु भएको छ । केही गाह्रो अप्ठ्यारो परेका बेला उहाँले म संग समन्वय गरेर काम गर्नु भएको छ । उहाँ र मेरो बीचमा कुनै वेमेल पनि छैन । आ–आफ्नो कामको जिम्मेवारी राम्रोसंग समन्वय गरेर बहन गर्दै आएका छौं ।
५) एक वर्ष वितिसक्यो तपाईले अझ कति जनताको मन जित्न बाँकी छ ?
त्यो त जनता माझ गए पछि थाहा हुन्छ । तर मैले बुझे अनुसार जनताको मन जित्नको लािग सबै जसो काम मैले गरेको छु । गाउँ गाउँमा गएर सडक नाला बनाउने काम देखि लिएर जनताको दैलोमा गएर सबै संग भेट्ने र समस्या सुने र समाधान गर्ने कार्य सम्म गरेको छु । जनताले मलाई कत्तिको विश्वास गरेका छन् र म कतिको मन मुटुमा बस्न सफल भएको छु । यो त अब आउने निर्वाचनमा नै थाहा हुन्छ ।
६) एक वर्षको अनुभवमा मेयरको पद कस्तो रहेछ ?
मेयरको पदमा रहेर काम गर्न गराउन धेरै नै अप्ठ्यारो छ । किन अप्ठ्यारो छ भने काम गर्ने मानिस नै छैन । प्रमुखले त भएका काम समन्वय गर्ने मात्र हो । हामी कहाँ काम गर्ने जमात खासै छैन । कर्मचारीको अभाव छ । म निर्वाचित भएर आएको चार पाँच महिना जति कार्यकारी अधिकृत बस्नु भयो । त्यस पछि उहाँको सरुवा भयो । फेरि अर्को अधिकृत आउनु भयो । उहाँ पनि २–३ महिनामै सरुवा हुनु भयो ।
पहिले सहायक पदमा हुनु हुन्थ्यो उहाँनै अहिले प्रमुख हुनुहुन्छ । कर्मचारी फेर बदल भइरहने कारणले यहाँ काम गर्न र गराउन एकदमै अप्ठ्यारो भैराखेको अवस्था छ । त्यस्तै जनताले पनि धेरै समय दौडनु परेको अवस्था छ । समयमै कार्म नहँुदा जनताहरुको गाली पनि खानु परेको छ । त्यसैले मेयरको पद बोल्दा जति सहज छ । कार्य सम्पादनका क्रममा त्यति नै जटिल छ ।
७) तपाईलाई मत दिएर जिताउने जनतालाई तपाई के भन्न चाहँनु हुन्छ ? र अबको चार वर्षमा तपाईले क–कसको साथ र सहयोगको अपेक्षा राख्नु भएको छ ?
सबैभन्दा पहिला त म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । मैले दिनु पर्ने सेवा सुविधा र उपमहानगरपालिकाबाट दिन सक्ने सबै सेवा सुविधा म सबै जनतालाई दिनेछु । जस्तै जनताको सेवाको लागि अस्पताल, विद्यालय, सडक नाला यी सबै सेवा सुविधा दिनका लागि म सधै तत्पर छु ।
मलाई काम गर्नमा राजनीतिक दल, कर्मचारी, नागरिक समाज, पत्रकार, जनता, मित्र लगायत सबैको सहयोग र साथ चाहिन्छ । त्यो मैले पाउछु भन्नेमा म पूर्ण विश्वस्त छु ।