जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनलाई सहज पार्दै विभिन्न पसलहरु खोल्ने निर्णय गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले जोर र विजोर गते अनुसार पसल संचालन गर्ने निर्णय गरेको छ ।
जसअन्तरर्गत जोर गते विहान ११ बजेदेखी दिउसो ४ बजेसम्म रेडिमेट पसल, कपडा पसल, कस्मेटिक पसल, इलेक्ट्रिक पसल लगायतको खोल्ने निर्णय गरेको छ भने, विजोर गते विहान ११ बजेदेखी ४ बजेसम्म हार्डवेयर, साईकल तथा मोटरसाइकलका पार्टस, भाडावर्तन, फर्निचर, सुनचाँदीका पसल संचालन गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्मीले जनाकारी दिएका छन् ।
यसैगरी माछा, मासु तथा सोको दाना, आहार, खाद्य तथा किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोइला, विटुमिन तेल, क्लिन्कर, निर्माण समाग्रिहरु हरेक दिन साझ ७ बजेपछि संचालन गर्न पाउने निर्णय भएको छ ।
संचालन गर्दा भिडभाड गर्न नदिने, कम्तिमा तीन फिटको दुरी कायम गर्ने, लाइनको व्यवस्थापन संम्बन्धित संस्था वा व्यवसायीले गर्ने । यसैगरी सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने र सेन्टिाइजरको व्यवस्थापन गर्नुपर्ने लगायतको सर्त राखेको छ ।
यसगरी जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयले भने सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट, चियापसल लगायत मिठाइपसल, सैलुन, मठ मन्दिर, मस्जिद, गुम्बा पुर्ण रुपमा बन्द नै रहने निर्णय गरिएको छ । बैठकले सार्वजनिक बस, रिक्सा, टेम्पो, मोटरसाइकल लगायत पास नभएका सम्पुर्ण सवारी बन्द नै रहने जनाएको छ ।