वीरगंजको विकास र समृद्धिका विषयमा विभिन्न व्यक्तित्वसँग राय परामर्श गर्ने क्रम चल्दै थियो । यसै विचमा सुरुमा कराँते खेलाडी, त्यसपछि व्यवसायी र पछिल्लो चरणमा मोफसलबाट नेपाली साहित्यमा कलम चलाउँदै गरेका सामाजिक व्यक्तित्व गणेश लाठसँग भेटने अवसर मिल्यो ।
मन्द मुस्कानका साथ मधुर स्वरमा बोल्ने लाठले छुट्टिने बेलामा फर्म द कोर अफ माइ हर्ट भन्दै वहाँबाटै लिखत व्यङग्य कथा संग्रह ‘छमिया’ मेरा हातमा राखिदिनु भो । धन्यवादका दुइ शब्दले मैले औपचारिकता निभाएँ । सधै जसो नेपाली राजनीति, विशेष गरी २ नं प्रदेश र त्यसमा पनि आफ्नै वीरगंज र पर्सा जिल्लालाई केन्द्र भागमा राखेर यहाँको विकास र समृद्धिका पक्षमा लेख मार्फत विचार पोखिरहेको म । लाठजीको व्यङ्ग कथा छमिया हातमा परे देखिनै चाँडोभन्दा पढी सकाउन लालायित थिएँ । त्यसैले त आफ्ना कतिपय नियमित कामलाई थाति राखेरै पुस्तक हातपरेको पर्सी सम्ममा पढी सकें पनि ।
सधैं जसो कानूनका किताव र नेपालको राजनीतिक इतिहाससँग सम्बन्धित पुस्तक पढ्ने मलाइ लाठ जी को छमिया पढ्दा छूट्टै अनुभूति भयो । छमिया भित्र तराई मधेश मात्र होइन पुरै नेपाली समाज लुकेको छ । यसका पात्र काल्पनिक होलान् तर कथावस्तु यथार्थ, अनि प्रस्तुति व्यङग्यात्मक वाह ! मनै प्रफूल्लित हुने । पढ्दा बिचमा छोड्न मनै नलान्ने । पढी सकेपछि सोचें यो उत्कृष्ट सृजना गरी म जस्तालाई यसको रसास्वादन गर्न अवसर दिनुहुने लाठ जीलाई कसरी सम्मान गरौं । तत्कालै मेरो मस्तिष्कले छमियाको बारेमा समिक्षा लेख्न सुझायो र मनले पनि तुरुन्त स्विकार गर्यो । मलाइ लाग्यो यही नै वहाँ प्रतिको सम्मान हुनेछ ।
राजनीतिक सामाजिक र कानूनी विषयमा धेरै आलेखहरु लेखेको भए पनि, कथा कविता जस्ता साहित्यिक पुस्तकको समिक्षा मेरो लागी नौलो भएकाले यो धृष्टता नगरेको भए हुन्थ्यो । तर मनको अगाडी मस्तिस्कले हार खायो । लेख्ने प्रयत्न गरें ।
मन्जरी पब्लिकेशनको प्रकाशनमा निस्केको छमिया बजारमा आएको धेरै भएको छैन । तराई मधेशकी चिटक्क परेकी सुन्दर, शुसिल, बारुले कम्मर भएकी चञ्चल छमियालाई खोज्दा खोज्दै कथा संग्रह सकिन्छ । तर त्यस्तो आवरणकी वास्तविक छमिया भने मैले फेला पार्न सकिन । फेला पर्छ त केवल नेपाली समाजको धरातलीय यर्थाथ, यहाँका राजनीतिज्ञको व्यवहार, शासक, प्रशासक, संचारक्षेत्र, नागरिक समाजको सजिव चित्र ।
कथा संग्रह भित्रको ९ वटा कथा मध्ये चोरसँग सात्क्षाकार, श्रीमती पीडित महासंघ, रामभरोसेकी छमियाले पाठकको हृदयमा अमिट छाप छोड्ने छ । त्यसै गरी म वीरगंजेली खासगरी वीरगंजको भताभुङ्ग अवस्था र आफ्नो जन्मभुमि प्रतिको यहाँको नागरिकको वेपर्वाहा भूमिकाको राम्रो व्यङ्ग गरेको हुँदा यो पनि वीरगंजका लागी स्पेशल हुनेछ ।
रामभरोसेकी छमियामा लेखकले नेपाली प्रेस एवं संचार क्षेत्रका साथै सरकारबाट पटक पटक गठन हुने आयोग र तिनीहरुको भूमिकालाई अनि सम्बादताहरुको दैनिकीलाई गज्जव व्यङग्यात्मक शैलीमा प्रहार गरेका छन् । एक गैर नेपाली भाषी जो मोफसलमा बस्छन् र आफ्नो नीजि व्यवसायमा व्यस्त छन् । उनिबाट सृजित यो यो व्यङग्य कथाले समग्र नेपाली साहित्यमा नयाँ आयाम थपिदिएको अनुभुति हुन्छ । कथा अत्यन्त सरल र वोलिचालिको भाषामा सरसर्ति वगेको छ । कथाको शब्द शब्दमा मिठास भरिएको छ । दुईजनाका बिचमा हुने संवादलाई ठेट शब्दमा नै अत्यन्त सजिवपारमा प्रस्तुत गरिएको भेटिन्छ । लाग्छ वास्तविक चरित्रहरु नै बोल्दैछन् । मोफसलबाट यो स्तरको साहित्यक सृजना हुन भनेको नेपाली साहित्यको लगाम गैर नेपाली भाषी र त्यो पनि मोफसलमा बस्नेले पनि लिन सक्छ भन्ने हाँक दिनु जस्तै हो ।
नेपाली साहित्यका सृजनाहरु अक्सर गरेर मध्यमवर्ग लक्षित हुने गरेका पाइन्छ । छमियामा पनि यो निरन्तरता देख्न पाइन्छ । विशेष गरी यही वर्गमा रहेका विसंगतिहरुलाई लेखकले व्यङग्यका माध्यमबाट पस्केका छन् । दौतरीहरु बिचको सम्बन्ध, श्रीमान् श्रीमती बिचको मायप्रेमका साथसाथै आपसी टकराव र मतभेद, रोजगारदाता र श्रमिक, राजनीतिज्ञ र तिनका कार्यकर्ताको बिचको वार्ता त्यतिकै रोचक पाइन्छ कथामा । बोलिचालिको मिठो भाषामा लेखिएको यो कथा उत्कृष्ट कथा स्थापित हुनेछ । छमिया पढ्दा राम्रो सिनेमा हेरे बराबरको ह्यांगओभर र मनोरन्जन अवश्य हुने छ ।
कथाकार लाठको पृष्ठभूमि साहित्यिक हो जस्तो मलाइ लाग्दैन । हुन त म गलत पनि हुन सक्छु । युवा अवस्थामा कँरातेका खेलाडी रहनु भएका लाठ विस्तारै पुख्र्याैली पेशा व्यापारिक क्षेत्रमा कृयाशिल हुदै गर्दा, पछिल्लो चरणमा नेपाली साहित्यमा पनि कलम चलाउन सुरु गर्नु भएको हो । त्यसै पनि लेखक सबै कुरामा निपूर्ण हुन्छन् भन्ने छैन । लेखक जादुगर पनि होइनन् । सबै जादुजस्तो मिलाउने । त्यसैले लाठको कथा सँग्रहमा पनि सच्याउन सकिने त्रृटी नहोलान् भन्न सकिदैन । त्यसका वापजुत पनि यो समय सान्दर्भिक छ । उत्कृष्ट छ । त्यसैले त मैले पनि भने छमिया छमछमाछम छम । अब पालो पाठकको .......
- लेखक अधिवक्ता हुन् ।