बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं. ४ निवासी अन्दाजी ३५ वर्षीय दिपेन्द्र कुमार गुप्ताले सडक विकासको नाममा गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षले आफ्नो घर तोड्न लागेको आरोप लगाएका छन् ।
सडक निर्माण गर्ने क्रममा गाउँपालिका अध्यक्ष भोला गुप्ता तथा वडाध्यक्ष आनन्द गुप्ताले १ फिट सडक घरमा परेको भन्दै घर तोड्न लागि परेको बताए । साविक खुट्वाजब्दी गाविस वडा नं. ८, हाल प्रसौनी गाउँपालिका वडा नं. ४ निवासी सीता देवी कलवारिन्को नाममा कित्ता नं. ५२ को १० धुर तथा कित्ता नं. ५३ को ६ धुर जग्गामा रहेको पक्की घरलाई सडक निर्माणको नाममा जनप्रतिनिधिले तोड्ने प्रयास गरि रहेको पीडित दिपेन्द्र गुप्ताले बताए ।
गाउँपालिकाको विभिन्न वडाहरुमा विकास निर्माणको कार्यहरु धमाधम चलि रहेको अवस्थामा वडाध्यक्ष आनन्द गुप्ताले १३ फिट सडक निर्माण गर्ने नाममा आफ्नो निजी जग्गामा रहेको घरलाई तोडेर जग्गा अधिग्रहण गरि भोटको खेती गरि रहेको बताए । उनले सडक निर्माणका लागि सडककै लगभग ३५ फिटको जग्गा रहेकोमा सडकको पूर्वतर्फ रहेको घरधनीहरुले सडकको जग्गा अतिक्रमण गरेर माटोको घर, गाईभैसी राख्ने गोठ, चापाकल तथा भकारी निर्माण गरेका छन् । तिनीहरुलाई हटाएर सडक फराकिलो पार्नुको सट्टा आफ्नो निजी जग्गाबाट पनि ३ फिट छाडेर निर्माण गरिएको पक्की भवनलाई तोड्ने षडयन्त्र भइरहेको बताए ।
नापी नक्सा तथा कागजातको हिसाबले १६ धुर निजी जग्गामध्ये ११ धुर जग्गामा मात्रै घर निर्माण गरेको बाँकी जग्गा सडकमै छाडेको भन्दै पीडित दिपेन्द्र गुप्ताले अहिलेपनि कानूनी प्रक्रिया अनुसार सडकको नाप नक्सा गरि मात्रै सडक निर्माण गर्नुपर्ने माग गरेका छन् । नक्सा अनुसार सडक निर्माण गर्नुपर्नेमा आफ्नो मनमौजी तरिकाले वडाध्यक्षले जहाँ जति मन लाग्यो त्यति फिट सडक निर्माण गर्दै आफ्नो भोटको खेती गरि रहेको पीडित गुप्ताको आरोप छ । कतै १३ फिट, कतै १५ फिट, कतै २० गरेर सडक निर्माण गर्दै आफ्नो पार्टीको कार्यकर्ताहरुले सडकको जग्गा अतिक्रमण गरेतापनि केही नबोल्ने तर विपक्षी पार्टीका नागरिकहरुलाई विना कारण दुःख दिने काम गर्दै आएको पीडित गुप्ताको भनाई छ ।
सडकको जग्गा हुँदाहुँदै सडकको जग्गा अतिक्रमण गरेकालाई नहटाई आफ्नो निजी जग्गामा रहेको पक्की घरलाई वडाध्यक्षको निर्देशन अनुसार तोड्न लागेपछि न्यायको लागि आफू उच्च अदालतमा समेत निवेदन दिएर निषेधाज्ञा परमादेश ल्याएपनि वडाध्यक्षले लिन नमानेको बताए । यही जेठ २६ गते नै उच्च अदालत अस्थायी इजलाश वीरगंजका न्यायधीश सत्यमोहन जोशी थारुको एकल इजलाशले अहिले तत्कालको लागि उक्त सडकको काम नगर्न निर्देशन दिदै निषेधाज्ञा परमादेश जारी गर्दागर्दै पनि वडाध्यक्षले घर तोड्न रोक्ने पक्षमा नरहेको गुनासो पोखे ।
यस विषयमा प्रसौनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आनन्द गुप्ताले नापी नक्साको हिसाबले सडक निर्माण गर्न नसकिने बताए । उनले नक्साको हिसाबले धेरैले सडकको जग्गा अतिक्रमण गरिसकेको र बाँकी सडकको जग्गामा पुर्खाहरुले निर्माण गरेको इटको खरन्जा सडक अनुसार नै नयाँ सडक निर्माण गर्न लागिएको भन्दै पुर्खौदेखि सडकको जग्गा अतिक्रमण गरेकाहरुलाई पनि हटाउन नसकिने बताए । नक्साको हिसाबले सडक निर्माण गर्ने हो भने सडक निर्माण हुनै सक्दैन, सहमतिको हिसाबले सडक निर्माण भइरहेको छ, विगतमा भएको सम्झौता अनुसार नै घर तोड्न लागिएको र, उहाँको मात्रै नभई धेरै जनाको घर तोडिएकोले विकास निर्माणको कार्यमा बाधक नबन्न आग्रह समेत गरे ।