‘सरकारको असक्षमता’ नारा दिदै वीरगंजका युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।
सचेत युवाहरुको समूहले कोरोना संक्रमणको बेला मुलुकमा भइरहेको भ्रष्टाचार, लक डाउनको नाममा जनतालाई घरमा थुनी जबरजस्ती कर लाद्ने कार्य विरुद्ध युवाहरुले वीरगंजमा प्रदर्शन गरेका हुन् ।
१० अर्बको हिसाब सार्वजनिक गर, लकडाउनको मोडालिटि खारिज गर, जनता मार्न पाईदैन्, तीन महिना घरमा थुनेर कर के का लागी, हाम्रो देश पहिलो देश मरेपछि पिसिआर टेष्ट, प्रहरी दमन गर्न पाईदैन्, प्रहरी हाम्रो साथी, साथीलाई कुट्न पाईदैन् लगायतका नारा लगाउँदै युवाहरुले ठाकुरराम क्याम्पसदेखि आदर्शनगर चोक हुँदै महावीरस्थान सम्म पुगेर प्रदर्शन गरेको थियो । विरोध कार्यक्रम घण्टाघरमा पुग्ने भनेपनी सडकमा ठूलो संख्यामा तैनाथ प्रहरी परिचालनले विचमै कार्यक्रम कोणसभामा परिणत गरिएको थियो ।
कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले १० अर्व बजेट खर्चेको भनि रहँदा कहाँ कहाँ कति खर्च भयो त्यसको विवरण सार्वजनिक गर्नुपर्ने, यस्तो विपत्तको बेला जनतालाई राहत नदिई राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री कार्यालयमा करोडौको गलैचा किन्ने, जनतालाई घरमै थुनेर जबरजस्ती कर तिर्न उर्दी जारी गर्ने जस्ता कार्यहरुको विरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएको युवा नेता ओमप्रकाश सर्राफले बताए । उनका अनुसार कोरोना चेकजाँचको क्रममा आरडिटि टेस्ट काम नलाग्ने भएपनि जबरजस्ती आरडिटि किट किनेर भ्रष्टाचारी गर्ने, १० अर्ब खर्चको नाममा भ्रष्टाचार भएको भन्दै सर्राफले सिमा नाका तथा विदेशमा अलपत्र परेका नेपालीहरुलाई सुरक्षित तरिकाले नेपाल ल्याउने तथा अव्यवस्थित क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।
घण्टाघरमा विरोध प्रदर्शन गर्ने भनेर ठाकुरराम बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन गरेपछि युवाहरुको आन्दोलन सफल भएको थियो भने त्यो प्रदर्शन महावीर स्थान पुग्दा पुग्दै ठूलो संख्यामा प्रहरीको टोली आईपुग्दा त्यही समापन गरिएको थियो । विरोध प्रदर्शन हुने प्रहरीले सूचना पाएपछि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको साथै सडकमा हिँड्ने यात्रुहरुलाई हिँड्न नदिन कडाई गरेको थियो ।