क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक बलात्कार भएको घटना प्रकाशमा अाएकाे छ । घटना ढाकछोप गर्न दबाब दिएको भन्दै वडा कार्यालयमा ताेडफाेड समेत भएको छ ।
कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् ।
स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’
के भएको थियो घटना ?
पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् । तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन ।
ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् । मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गाली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पीडितले बताइन् ।
त्यसपछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्यो र ढोका खोलेर मलाई जबरजस्ती गर्यो ।’ अर्का स्वयंसेवक आएर भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गुहार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ बचाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्यो ममाथि ।’
भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र नदिए भिडियो भाइरल गर्ने धम्की दिएको पीडित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चा भएको मान्छे हुँ । नभएको भए आरोप लगाएर बेइज्जत गर्नुपर्ने केही छैन ।’ - अनलाइन खबरबाट साभार गरिएको