रोना भाइरसले ल्याएको वैश्विक आर्थिक संकटका कारण बाल मजदुरको संख्या ह्वात्तै बढ्ने एक अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) को एक प्रतिवेदनअनुसार कोरोना भाइरसले लाखौं बालबालिकालाई मजदुरीको दलदलमा धकेल्नेछ । बालबालिकाको भविष्य अन्धरकारमय बनाउने यसको मुख्य कारण कोरोना भाइरसबाट सिर्जित आर्थिक संकट हाे ।
कोभिड–१९ एन्ड चाइल्ड लेबर : अ टाइम अफ क्राइसिस शीर्षकको यो प्रतिवेदन विश्व बालश्रम निषेध दिवसको मौकामा जारी गरिएको हो ।
प्रतिवेदनअनुसार सन् २००० पछि निरन्तर घट्दै गएको बाल मजदुरको संख्या अब बढ्नेछ । पछिल्लो दुई दशकमा विश्वभर गरिएको अथक प्रयासका कारण बाल मजदुरको संख्या निरन्तर कम भइरहेको थियो ।
आईएलओको तथ्यांकअनुसार सन् २००० मा विश्वभर बालमजदुरको संख्या करिब २४.६ करोड थियो । तर, सन् २०१७ सम्म आइपुग्दा यो संख्या १५.२ करोडमा झरिसकेको थियो ।
कुल बाल मजदुरमध्ये झन्डै आधा (४८ प्रतिशत) ५ देखि ११ वर्ष उमेर समूहका छन् । जबकि २८ प्रतिशत १२ देखि १४ वर्ष र २४ प्रतिशत बालमजदुर १५ देखि १७ वर्ष उमेर समूहका छन् ।
अभिभावकको आम्दानी नभएपछि बालबालिकालाई जोखिमपूर्ण काममा टाढा पठाउने क्रम सुरु हुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा नेपालको उदाहरण दिँदै परिवार पाल्नै धौ भएपछि घरबाहिर पठाइने यस्ता बालबालिकाको शोषण हुने गरेको बताइएको छ ।
२०७२ को महाभूकम्प लगत्तै नेपालमा सार्वजनिक सुरक्षा संयन्त्रले समेत काम गर्न नसक्दा बालबालिकाको तस्करी बढेको र त्यस्तो अवस्था फेरि निम्तिन सक्ने प्रतिवेदनमा चेतावनी दिइएको छ ।
नेपालको रेमिट्यान्समा आउने कमी, स्वस्थ्य सेवा लथालिंग हुँदा अभिभावकको मृत्यु, आम्दानीका लागि जिल्ला वा देशबाहिर अभिभावक जानुपर्ने स्थितिले बालबालिकालाई थप जोखिममा पार्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
परिवारको घटदो आम्दानीको सोधभर्ना
प्रतिवेदन अनुसार विश्वका ५५ प्रतिशत करिब ४ अर्ब मानिससँग अहिलेको आर्थिक संकटबाट पार पाउने कुनै विकल्प छैन । एसियाली विकास बैंक (एडीबी) का अनुसार कोरोना भाइरसले निम्त्याएको संकटका कारण २४.२ करोड रोजगारीका अवसर समाप्त हुनेछन् । यस्तो अवस्थामा विशेष गरी श्रमिकहरुलाई आफ्नो परिवार पाल्नु नै ठूलो समस्या हुनेछ ।
आधारभूत सुविधाविहीन आवास र वस्तीमा बस्ने श्रमिकहरुले एकातिर न्यूनतम स्वास्थ्य सुविधा नपाउँदा अप्ठ्यारो व्यहोर्नुपरेको छ अर्कोतिर लकडाउनका कारण हातमा काम छैन ।
यसको प्रत्यक्ष असर ती परिवारका बालबालिकामा पर्नेछ जसले सानोतिनो काम गरेर परिवारलाई आर्थिक सहयोग गरिरहेका छन् । त्यस्ता बालबालिकामा अब धेरै समय र जोखिमपूर्ण काम गर्नुपर्ने दबाब पर्न सक्छ ।
सेभ द चिल्ड्रेन र युनिसेफकाे विश्लेषणअनुसार वर्षको अन्तसम्म करिब ८.६ करोड थप बालबालिकाले चरम गरिबीको अवस्था व्यहोर्नुपर्नेछ । यस्तोमा गरिबी झेल्ने बालबालिकाको संख्या ६७.२ करोड पुग्नेछ । यी बालबालिकासँग मजदुरी गर्नुबाहेक अन्य विकल्प हुनेछैन ।
अध्ययनहरुका अनुसार कुनै देशमा गरिबी एक प्रतिशतले बढ्छ भने त्यसबाट बालश्रम ०.७ प्रतिशत वृद्धि हुन्छ ।
विद्यालय बन्द हुँदाको असर
प्रतिवेदनले विद्यालय बन्द हुँदा पनि बालमजदुरी बढ्ने उल्लेख गरेको छ ।
विद्यालय बन्द हुँदा बालबालिकालाई घरेलु र कृषि कार्यमा जान दबाब परिरहेको छ । योभन्दा ठूलो चिन्ता त लकडाउन खुल्यो भने के होला भन्ने छ । किनभने त्यसपछि पनि परिवारको आर्थिक अवस्थामा सुधार हुने छैन, अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन सक्ने छैनन् ।
यस्तो अवस्थामा बालमजदुरी बाध्यता बन्न सक्छ । यो महामारीले पहिल्यैदेखि गरिबीसँग जुधिरहेका एसिया र अफ्रिकामा सबैभन्दा ठूलो आर्थिक संकट ल्याउनेछ ।
आईएलओले सन् २०१५ मा गरेको अध्ययन अनुसार नेपालमा १६ लाख बाल मजदुर (५–१७ उमेर समूह) छन् । यीमध्ये ३ लाख ७३ हजार बालबालिका जोखिमपूर्ण काम गरिरहेका छन् । यस्तो बेला महामारीले ल्याएको आर्थिक संकटका कारण बाल मजदुरको संख्यामा बढोत्तरी हुनेछ ।
बालबालिकामा कोरोना भाइरसको चौतर्फी असर सीमित बनाउनका लागि सामाजिक सुरक्षा योजनाका कार्यक्रममा तीव्रता ल्याउनु जरुरी छ । सेभ द चिल्ड्रेन र युनिसेफले यो संकटबाट पार पाउनका लागि बालबालिका केन्द्रित योजनालाई ठूलो मात्रामा विस्तार गर्न सल्लाह दिएका छन् ।
यस्ता कार्यक्रमअन्तर्गत बालबालिकालाई सोझै आर्थिक सहयोग, विद्यालयमा भोजनको व्यवस्था र अन्य लाभकारी योजना सामेल छन् । त्यसैगरी भविष्यमा पनि आउनसक्ने यस्तो जोखिमबाट बच्न बलियो आधार बनाइराख्नु जरुरी देखिएको छ । - नेपाल समयबाट साभार गरिएको