देशमा धेरै क्रान्ति भए । क्रान्तिकै जगमा टेकेर व्यवस्था परिवर्तन भयो । लोकतन्त्र, गणतन्त्र हुदै देशमा संघियता आयो । क्रान्ति गर्नेहरु सत्तामा आए । देशमा तीनतहको सरकार आयो । क्रान्ति गर्ने बेला देखि कृषि क्रान्ति गर्ने भन्नेहरुको नीतिमा त कृषि क्रान्ति आयो । तर व्यवहारमा कहिले आएन ।
नीति तथा कार्यक्रममा कृषि क्रान्तिका कुरा गरे पनि त्यसको लाभ कृषकले लिन सकेन भन्दा पनि सरकारले दिन चाहेन । दिनेहरुले नियतले दिएन । कृषिप्रधान देश भनिए पनि कृषिलाई प्राथमिकतामा राखिएन । संघ वा प्रदेश सरकारले नीतिमा कृषि क्रान्तीका कुरा गरे पनि कृषक सधै पिडित नै भए । रोपाई गर्ने बेलामा मलविउमा लफडा, धान फल्यो मुल्यमा लफडा, मकै रोप्यो व्यापारीको मनमानी मूल्य । तरकारीमा पनि विचौलीयाको मनमानी । कृषिमा गरेको लगनी पनि उठाउन अभाव भएपछि कसरी हुने कृषि क्रान्ति ?
अहिले देशमा तीन तहको सरकार छ । सरकारहरुको नीतिमा त कृषिक्रान्तिका कुरा हुन्छ । तर व्यवहारमा हुदैन । व्यवस्था परिवर्तन त भयो । तर नीतिमा भएका कुराहरु व्यवहार देखिएन । व्यवस्था परिवर्तन होस अरु कुनै आन्दोलन, कुनै कार्यक्रमको भाषण होस् ।
मन्त्रीको पदभार ग्रहण भाषणमा क्रान्तीको कुरा नहुने कुरै छैन । तर बजेट छुटयाउने र त्यसको कार्यान्वयन गर्ने बेलामा अनेकौं समस्या देखाइन्छ र कार्यान्वयन रोकिन्छ । तराईमा धान, गहु, मकैको खेती गरेर देश भरी अनाज पु¥याउने काम हुन्छ । तराई मधेशलाई अन्नको भण्डार भनेर सुन्दैै आइरहेका छौ । हामीले पढने बेलादेखि नै स्ुन्दै आएको यो कुरा अहिले पनि परिवर्तन भएको छैन । हुन त यो भनाइ मात्र परिवर्तन नभएको होइन । यो खेती शैली पनि परिवर्तन भएको छैन । पानी पर्ने समयमा धान लगाउने, काटने बेच्ने र साहुनको पैसा तिर्ने । बर्षमा दुई बाली मात्र लगाउने परम्परा अहिले पनि गएको छैन । परम्परा नगएको भन्दा पनि कृषिलाई आधुनिकिकरण गरिएन ।
किसानका लागि क्रान्ती भएन । सवैको लागि आधुनिकता आयो तर किसानका लागि आएन । बर्षको आधा दिन बाझो रहने जमिनका लागि कुनै पनि सरकारले सोचेन । असार १५ मा हलो जोत्नेहरु फर्केर कहिले पनि खेतमा गएनन् । वर्षमा एक पटक फोटो खिचाउनका लागि हलो समात्नेहरुले किसानका हात समातेनन् । किसानले उब्जाएको ताजा तरकारी मन पराउनेहरुले किसानको समस्याको बारेमा कहिले ताजा बहश गरेनन् । अनि कसरी हुन्छ कृषिमा क्रान्ति ? कसरी हुन्छ किसानको पिडा कम ?
अहिले कोभिड १९ को संक्रमणका बेला सवै उद्योग धन्धाहरु बन्द भएका छन । बिदेशमा आफनो भविष्य उज्वल देख्नेहरु नेपालको भुमिमा आउनका लागि छटपटाई रहेका छन भने छिमेकी मुलुकमा गएकाहरु लामो संघर्ष गर्दै स्वदेश फर्केका छन् । सवै कुरा बन्द हु्दाँ सवैको आशाको केन्द्र बनेको छ कृषि ।
एउटा गमलामा भए पनि तरकारी रोप्नेहरु ठुलै काम गरेको झै सामाजिक संजालमा पोष्ट गरिरहेका छन । बाहिरबाट आएकाहरु प्नि अव खेती किसानी गरेर भए पनि खाने तर बाहिर नजाने भनिरहेका छन् । संघदेखि स्थानीय सम्म पनि कृषिक्रान्तीका चर्चाहरु चलिरहेका छन । कृषिप्रधान देशमा कृषिको चर्चा हुनु सुखद कुरा भए पनि चर्चामा आए जस्तो बजेट आएन । नारा त आयो तर कार्यक्रम आएन । अनि कसरी हुन्छ कृषिमा क्रान्ति । अहिलेको अवस्थाामा पनि असारे विकास शुरु भएको छ । सडकमा माटो पुरी ग्रेवल गर्ने, प्रवेश द्धवार बनाउने र एक महिना भित्र बजेट सिध्याउने ? अहिले अवस्थामा खोई त धानको विउ वितरण गरेको ? खोइ राहतमा मलखाद उपलब्ध गराएको ?
संघिय सरकारले बजेट ल्याई सकेको छ भने प्रदेश सरकारहरुको आउने प्रकृयामा छ । स्थानीय सरकाहरुले भने कागजी रुपमा मिलाउने प्रकृयामा छन् । संघिय सरकारले कृषमा ल्याएको कार्यक्रम प्रति स्वयम कृषिमन्त्री नै असन्तुष्ट रहेको कुरा बाहिर आईसकेकोले यसमा धेरै चर्चा नै गर्नु परेन । कतिपय प्रदेशहरुले किसानका लागि राहत दिने , कृषिमा क्रान्ती गर्ने, स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने,मलखाद तथा नगद सहित राहत दिने भनिएको छ ।
नारा हेर्दा त क्रान्ति होला जस्तो देखिन्छ । तर व्यवहार हेर्दा कागज मात्र क्रान्ति होला जस्तो लाग्छ । संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रममा सोचेको र चर्चा भएको जस्तो न त कार्यक्रम आयो न त बजेट नै । अब स्थानीय सरकरको हेर्न बाकी छ । हुन त स्थानीय सरकारले मात्र के नै गर्न सक्छ र । सवैको आशा स्थानीय सरकारमा हुन्छ । तर बजेट भने संघिय सरकारमा । वास्तवमा अहिलेको अवस्थामा कृषिमा क्रान्ती गर्न चाहेको भए सम्भव पनि थियो । किनभने हामीलाई चाहिने जनशतिmको अभाव अहिले छैन । न त बजार नै नपाउने समस्या । नीतिमा कृषिका कुरा गर्ने । तर व्यवहारमा गिट्टी र बालुवाका कुरा गर्नेहको ध्यान यस तर्फ जाओस् । कागजमा भन्दा पनि व्यवहारमा कृषि क्रान्तिको कुरा आम किसानले हेर्न चाहेका छन् ।