स्थायी कमिटी स्थगित भएसँगै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको भेटवार्ता पनि सरेको छ। बिहान ९ बजे बस्ने तय भएको ‘वान अन वान’ वार्ता दिउँसो ४ बजेलाई सारिएको हो।
मंगलबार दिउँसो भएको झण्डै तीन घण्टा लामो वार्ताले आज स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्ष बस्ने तय भएको थियो। तर, ११ बजे बोलाइएको स्थायी कमिटी बैठक २६ असारका लागि स्थगित गरिएसँगै दुई अध्यक्ष बीचको वार्ता पनि सारिएको छ।
स्रोतका अनुसार, यसपटक भने दाहाल खेमाकै नेताहरुको प्रस्तावमा बैठक स्थगित गरिएको हो। यसअगाडि भने प्रधानमन्त्री एवम् अध्यक्ष ओली पक्षको प्रस्तावमा बैठक स्थगित हुँदै आएको थियो।
फुटको संघारमा पुगेको नेकपाका शीर्ष नेताहरुको छलफल सकारात्मक बनेपछि स्थायी कमिटी स्थगित गरी छलफल बढाउने रणनीतिमा नेताहरु जुटेका छन्। विशेषगरी दोस्रो तहका नेताहरुको हस्तक्षेपले नेकपा नेतृत्व बैठक स्थगित गरेर भए पनि सहमतिमा जुट्न बाध्य बनेको छ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छलफल भइरहे पनि सहमतिको ठोस प्रस्ताव तयार भइनसकेको बताउँछन्। उनी भन्छन्, “अनौपचारिक वार्ता भइरहेकै छ। तर, सहमतिको ठोस प्रस्ताव तयार हुनसकेको छैन।”
अर्का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि छलफल सकारात्मक बन्दै गएकाले बैठक स्थगित गरेर अनौपचारिक छलफल बढाइएको बताउँछन्। मण्डल भन्छन्, “सहमतिको ठोस् प्रस्तावमा गृहकार्य भइरहेको छ, तर निष्कर्षमा पुगिएको छैन।” उनी चाँडै निष्कर्षमा पुग्ने संभावना देख्छन्।
दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा दुई अध्यक्ष बीचको वार्ता अगाडि अन्य नेताहरुसँग पनि छलफल गर्ने तयारी रहेको बताउँछन्। “चार बजे बालुवाटारमा दुई अध्यक्ष बीच छलफलको समय निर्धारण भएको छ। त्यस अगाडि अनौपचारिक सम्वाद हुन्छ”, उनले भने।
गएको १० असारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक १६ असारदेखि भने बस्न सकेको छैन। १८ असारमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि नेकपाको स्थायी कमिटी प्रभावित बन्दै गएको छ। त्यसपछि २०, २२ र २४ असारमा बोलाइएको स्थायी कमिटी बैठक लगातार स्थगित गरिदै आएको छ।
विशेषगरी मदन जयन्तीको अवसरमा ९१४ असारमा० प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको अभिव्यक्ति दिएपछि दुवै पदबाट हट्न उनी इतर नेताहरुले माग गरेका छन्। प्रधानमन्त्री ओली इतर समूहमा दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्। ९ सदस्यीय सचिवालयमा अल्पमतमा परेका ओली स्थायी कमिटीमा समेत अल्पमतमा छन्।
हिमालखबरबाट