वीरगन्ज– १८ गते बिहान रिपोर्टिङका लागि गाउँतिर जाने तयारीमा थिएँ । अचानक टाउको, घाँटी र जिउ दुख्यो । ज्वरो पनि आउलाजस्तो भयाे । जान सकिनँ । साँझपख ज्वरो आएपछि सिटामोल किनेर खाएँ । छुँदै छोएन ।
भोलिपल्ट डा. निरज सिंहलाई जानकारी गराएँ । उहाँले केही औषधि पठाएर शनिबार बिहान क्लिनिकमा आउन भन्नुभयो । औषधिले पनि ज्वरो १०२ बाट घटेन ।
शनिबार बिहानै क्लिनिकमा गएँ । उहाँले सामान्य परीक्षण गरेर औषधि दिनुभयो र एक पटक पीसीआर परीक्षण गराउन पनि सुझाव दिनुभयो । नारायणी अस्पतामा स्वाब दिएर आएँ । थकान महसुस भएको थियो । कतै नगई डेरामै बसें ।
भोलिपल्ट बिहान ७ बजे जिल्ला जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरको फोन आयो ।
‘कता हो भाइ? सुरक्षित रहनू, कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।’
छाँगाबाट खसेजस्तो भएँ । असिनपसिन भयो । केही बोल्नै सकिनँ । फोन राखेको पनि पत्तै भएनछ । अब के होला, कसो गर्ने होला? अन्योलमा परें । यस्तो अवस्थामा डेरामा बस्न उचित लागेन । डा. सिंहसँग सल्लाह लिएँ । उहाँले अस्पतालको आइसोलेसनमा बस्न सुझाव दिनुभयो ।
सामुदायिक आइसोलेसन चलाइरहेका सानो पाइलाका कार्यकारी अधिकृत कञ्चन झालाई जानकारी गराएँ । उहाँले नआत्तिन भन्नुभयो । अवस्था सामान्य भएपछि वाटिका होटलमा सर्न सुझाव दिनुभयो ।
केहीबेरमा जनस्वास्थ्य अधिकृत ठाकुरले गण्डक अस्पतालमै बेड खाली रहेको जानकारी दिनुभयो ।
इन्चार्ज डा. उदयनारायण सिंहले व्यवस्थापकलाई जानकारी गराइसक्नुभएको रहेछ । अनि ११ बजेतिर घरअगाडि गाडी आउँछ तयार रहन भनियो । कपडा मिलाएँ । झोला तयार पारें । हल्का खानेकुरा खाएर गाडी पर्खिन थालें । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट फोन आयो– ‘गाडी सुरेश आयलनिर पुग्दै छ, तपाईं त्यहाँ गइहाल्नुस् ।’ केही बेरमै गाडी आयो ।
घरमा फोन गरेर बासँग सामान्य कुराकानी गरें । भर्खरै ब्रेन ट्युमरको शल्यक्रिया गर्नुभएका उहाँलाई कोरोना संक्रमित भएको भन्न सकिनँ । म कार्यरत नेपाल समय मिडिया र नेपाल पत्रकार महासंघ पर्सा शाखामा जानकारी गराएँ ।
गाडी गण्डक अस्पतालअगाडि पुगेर रोकियो । चालकले तपाइँ यतै बस्नुस्, भित्रबाट मान्छे लिन आएपछि मात्र जानुहोला भनेर गए ।
अस्पताल र उपचार व्यवस्थापन गतिलो नभएको संकेत यहींबाट मिल्न थाल्यो । एक घण्टासम्म कोही आएन । डेराबाट हिँड्दा औषधि खान भुलेछु । पानीको बोतल छुटेछ । अघिल्तिरबाट एकजना नर्स जाँदै थिइन् । ‘औषधि खानुछ, अलिकता पानी छ भने पाऊँ न’ भनें । उनले भनिन्, ‘दाइ हात धुन जाँदै छु एकछिनमा ल्याइदिन्छु ।’
ती नर्स हात धोएर त आइन् । तर पानी ल्याइनन् । तीनचार घण्टापछि फेरि आइन् । अझै पनि पानी ल्याइनन् । भन्दै थिइन्– ‘क्याबिनमा राखिदिन भनेको अहिलेसम्म सुनेका छ्रैनन् । अब डाक्टरसाप् कराउँछन् ।’
चार बज्नै लाग्दा अर्की नर्स आइन् । कोठा सफा गर्नु परेकोले समय लागेको भनिन्, म गाडिबाट ओर्लिएर उनको पछि लागें । पहिलो तलाको १०२ नम्बर कोठा देखाइदिइन् । म आइसोलोसन कक्षभित्र छिरें ।
आइसोलेसनभित्र छिर्दा
कोठामा पस्नेबित्तिकै ह्वास्स गन्हायो । जताततै सुई छरिएका, ठाउँठाउँमा रगतका टाटा । खानेकुरा पोखिएका । नर्सलाई भनें, ‘कोठा सफा हुँदै छ भन्नुभएको हैन? यसमा त केही गरेको रैनछ । यस्तो फोहोरमा कसरी बस्नु?’ ‘खै दाइ थाहा छैन मलाई । अहिले छेउतिर बस्दै गर्नू, म सफा गर्ने मान्छे पठाइदिन्छु’ भनेर उनी गइन् ।
बान्ता आउला जस्तो भयो । तर उपाय केही थिएन । झोला राखें । बेडको तन्ना हटाएँ । अस्पतालका प्रमुखसमेत रहेका चिकित्सक डा. उदयनारायण सिंहलाई फोन गरें । उहाँले पनि सफा गर्ने मान्छे आउँदै छ भन्नुभयो । धेरै बेर कुर्दासम्म कोही आएन ।
एकैछिनपछि आईसीयूबाट एक वृद्ध बाहिर निस्किए । उनी एउटा हातमा चढाइरहेको स्लाइनको बोतल र अर्को हातमा खाने पानीको बोतल बोकेर स्याँस्याँ गर्दै थिए । बाहिर रहेको जारबाट बोतलमा पानी भर्न आएका रहेछन् । जारमा पानी थिएन । बोतलले जारमा ढकढक ठोक्न थाले ।
म हेरेको हेरै भएँ । के हुँदै छ? आईसीयूका बिरामी किन यता आएका? कोही छैन रेखदेख गर्ने? उनले पानी भरिदिन इसारा गरे ।
मलाई निकै कमजोरी महसुस भएको थियो । आँखा बेस्सरी दुखिरहेको थियो । वृद्धलाई पानी भरिदिएँ ।
मलाई पनि प्यास लागेको थियो । बोतल थिएन । तल्लो तलामा गएर नर्ससँग खाली बोतल मागें । क्याबिनमा आएँ । बोतल राम्ररी धोएँ । प्यास मेटें ।
आईसीयूका बिरामीको दुर्गति देखेपछि म बसेको क्याबिनमा सफाइ कर्मचारी आउलान् भन्ने आस मर्यो । बाथरुमबाट बाल्टिन र कुचो ल्याएँ । सबै फोहोर एउटा बट्टामा राखें ।
साबुन लिएरै आएको थिएँ, हात धोएँ । बिस्कुट खाएँ । औषधि खाएर एकछिन पल्टिएँ । साढे सात बज्न लागेको थियो । बाहिर ड्रमको आवाज आयो । हेरें, दुईजना कुचिकार बरन्डा सफा गर्दै रहेछन् । कोठा आफैंले सफा गरे पनि औषधि र फोहोरको गन्ध आउन छाडेको थिएन । मेरो अनुरोधपछि उनीहरुले फिनेल छर्किदिए ।
साढे ८ बजेतिर एउटी नर्स आइन् । ५/६ किसिमका औषधि दिइन् । साढे ९ बजेतिर खाना आयो । दाल, भात र चना थियो । तरकारी अमिलो थियो । औषधि खाएर सुतें ।
दोस्रो दिन
बिहानदेखि झाडापखाला सुरु भयो । सात बजे नर्स आएर अर्को सुई लगाइदिइन् । ज्वरोले छाडेको थिएन । नर्सलाई आफ्नो पीडा सुनाएँ । नसुने झैं गरेर गइन् । पानी खाएँ । घरबाटै ल्याएको स्याउ र बिस्कुट खाएँ । साढे आठ बजेतिर खाजा आयो । चना, स्याउ, एउटा अण्डा र दुईवटा रोटी ।
रोटी काँचै रहेछ । चना पनि अमिलो । अण्डामात्र खाएँ । आराम गरें । दिउँसो साढे १२ बजे दाल, भात, तरकारी ल्याइदिए । अमिलो तरकारी छुनै मन लागेन । दालभात खाएँ । कमजोरी बढ्दै थियो । कोरोनाका लक्षण देखिएकाले चिकित्सकले अस्पतालमै बस्न सल्लाह दिए ।
तर यहाँ रेखदेख गर्ने कोही छैन । आईसीयूतिर गएँ, कुनै चिकित्सक भए झाडापखाला र कमजोरीको औषधि दिन्छन् कि भनेर । कोही थिएनन् । नाम मात्रको आईसीयू रहेछ । मोनिटर चलेका थिएनन् । एसी नचलेकाले दुर्गन्ध फैलिएको थियो ।
एउटा कुनामा सानो पाइलाको पुनर्स्थापना केन्द्रमा काम गर्ने सुनिल प्रधान भेन्टिलेटरको सहायताले सास फेर्दै रहेछन् । कुराकानी भयो । चिकित्सकलाई फोन गर्न सल्लाह दिए । डा. उदयनारायण सिंहलाई झाडापखाला र कमजोरीका बारेमा जानकारी गराए । उहाँले निर्देशन दिएपछि राति नर्स आएर औषधि दिइन् । खाना त उस्तै थियो । तैपनि थोरै खाएर सुतें ।
तेस्रो दिन
निकै गलेछु । दिनभर आराम गरें । बाहिर निस्कन सकिनँ । राति औषधि खाएर सुतें ।
चौथो दिन
बिहान ४ बजे ढोकामा कसैले बेस्सरी हिर्कायो । खोलेर हेरें । आईसीयूमा रहेका सुनिल दाइ रहेछन् । सोधें, ‘के भयो दाइ?’ उनले भने, ‘छिटो आइज यता कुनातिर! ती वृद्धा मर्न लागिन् यार, अक्सिजन नै छैन ।’
नर्सिङ स्टाफहरु कोही थिएनन् त्यहाँ । उनी आफैं आईसीयूका बिरामी, हातमा निडल छ । दुई जना भएर ती वृद्धा नजिकै सिलिन्डर लग्यौं । अक्सिजन चढाइदियौं । सास बढिसकेको रहेछ । अक्सिजन दिएपछि उनलाई सास फेर्न सजिलो भयो ।
मान्छे अक्सिजन नपाएर कसरी छटपटाउँदो रहेछ भन्ने नजिकैबाट देखें । हामीले अक्सिजन नदिएको भए ती वृद्धाको अवस्था के हुन्थ्यो होला?
राति फेरि त्यस्तै भयो । आईसीयू कक्षमा दुईवटा सिलिन्डर थिए । आफैं गएर किरणदेवी कर्ण र २०१ नम्बरका बिरामी मुनिलाल पटेललाई अक्सिजन चढाइदिएँ । फोन गर्दा नर्स आउँदैनन् । आए पनि पीपीई छैन भन्छन् । उल्टै मलाई पो काम लगाउन थाले । म झन् शिथिल हुँदै गएँ ।
आफ्नो क्याबिनमा आएँ । मनमा विभिन्न कुरा खेल्न थालें । पर्साका प्रमुख जिल्ला अधिकारीलाई फोन गरें, उठेन । तल नर्सकहाँ फोन गरें । ‘दाइ मान्छे आएको छैन । आएपछि म पठाइदिन्छु’ भनिन् । सिलिन्डर फेर्न साढे १० बजेसम्म कोही आएन ।
क्याबिनदेखि आईसीयू कक्षसम्म भात, तरकारी, सुई, मास्क, पन्जा छरपस्ट छन् । डस्टबिन कसैले प्रयोग गरेको छैन । ज्यादै दिक्क लाग्यो । सरफाइ र खानाको जिम्मेवारी वीरगन्ज महानगरपालिकाले लिएको रहेछ ।
पितृशोकमा रहेका मेयर विजयकुमार सरावगीलाई फोन गर्न मन लागेन । खाना खुवाउने हिमाल भान्छाघरका साहुको नम्बर पत्ता लगाएँ । फोन गरेर गुनासो गरें । उनले बिरामीका लागि ल्याउने खानाको गुणस्तरबारे केही बताएनन् । बरु मलाई भने भिन्नै खाना पठाउने वचन दिए ।
त्यसपछि मेरो नाममा अलग्गै खाना आउन थाल्यो । दालभात, आलुको तरकारी, पहिलाको भन्दा राम्रो थियो । साँझ सुई लगाउन नर्स आइन् । पीपीई, दुईतीनवटा मास्क, पन्जा लगाएकी थिइन् । म पनि मास्क लगाएर दूरी कायम गरेर बसेको थिएँ ।
नर्स निकै हतास देखिन्थिन् । निडल झिक्दा र लगाउँदा भुइँभरि रगत लतपतियो । स्लाइनको बोतल जोडिदिएर ‘दाइ सकिएपछि यो बन्द गरिदिनुहोला’ भनेर उनी गइन् । राति साढे १० बजेतिर खाना ल्याएका एकजना दाइलाई स्लाइन लगाइदिन अनुरोध गरें । उनले निकाल्दा र लगाउँदा रगतैरगत भयो ।
खाना खाएँ । एकछिन आईसीयूतिर गएँ । सुनिल दाइ र वीरगन्ज महानगरपालिकाका योजना फाँटका रविन पटवारी दुबै जना मुखमा अक्सिजन जोडेर स्याँस्याँ गर्दै थिए ।
उनीहरुले रातिका लागि तीन चारवटा सिलिन्डर ल्याइदिनुहास् न भने । शरीर थकित छ । सुतेको पनि छैन । आईसीयूका बिरामी कोही सिलिन्डरबाट आक्सिजन आउँदैन भन्छन्, कसैले पानी माग्छन् । नर्सलाई खबर गर्छु, तपाईंले सहयोग गरिदिनुस् न दाइ भन्छन् । बिरामीको सेवा गर्दै समय बितेको पत्तै भएन ।
गण्डक हस्पिटलका सञ्चालक रहबर अन्सारीलाई फोन गरें । सम्पर्क हुन सकेन भन्यो । नर्सलाई खबर गर्छु कोही छैन दाइ भन्छन् ।
आफै विरामी भए पनि छटपटाइरहेकालाई यसै हेरेर बस्न मिलेन । पालैपालो गरेर आईसीयू कक्षमा दुईवटा सिलिन्डर लग्यौं । मुनिलाल पटेल बेडमा छटपटाइरहेका थिए । सुनिल दाइको सहयोगमा सिलिन्डर फेरिदिएँ । सबै बेडमा सिलिन्डर राखेपछि क्याबिनमा आएँ । औषधी खाएर सुतें ।
पाँचौं दिन
बिहान १० बजे सिलिन्डर फेर्न आउनुपर्नेमा ११ बजेसम्म कोही आएन । भरिएको सिलिन्डर एउटा मात्र बाँकी थियो । नर्सलाई फोन गर्दा ल्याउँदै छ भन्ने जवाफ आयो । सुनिल दाइ भने सुई लगाउने बेला नर्स आएको बाहेक अरु कोही नआएको भन्दै आक्रोश पोखिरहेका छन् । उनी अब सक्दिनँ म अर्को कोठामा सर्छु भन्न थाले ।
मैले पनि केही भन्न सक्ने अवस्था थिएन । दिउँसोको खाना खाएँ । एकछिनमा सुनिल दाइ र रविन पटवारीले आईसीयूबाट मेरो नजिकैको कोठामा सर्न प्रस्ताव गरे । नर्सलाई सोध्यौं, मिल्दैन भने । कारण सोध्दा थाहा छैन भनेर पन्छिए ।
सुनिल दाइले भने, ‘मलाई धेरै गाह्रो भइसक्यो । मलाई आराम चाहिएको छ । म बरु माथिल्लो तहका डाक्टरसँग अनुरोध गर्छु ।’ साँझसम्म दुवैजना अर्को कोठामा सरे । एउटा मात्रै बेड थियो । मेरो कोठामा भएको अर्को बेड लगे । राति खाना खाएर आईसीयूतिर गयौं । कोठा सरे पनि अक्सिजन अभावले छटपटिइरहेका बिरामीलाई केही नहोस् भन्ने थियो ।
राति १० बजे दुईजना स्टाफ सिलिन्डर लिएर आए । उनीहरुसँग पीपीई थिएन । मैले र सुनिल दाइले राखिदियौं । क्याबिनमा आएँ । निद्रै लागेन । डेढ दुई बजेतिर आईसीयूमा हेर्न गएँ । सबै ठिक रहेछ । फर्किएर आएर सुतें ।
बिहान साढे ५ बजे बाहिर हल्ला सुनें । ढोकामा आईसीयूमा भर्खरै भर्ना भएका छपकैयाका किस्मत मन्सुरी रहेछन् । उनले भने, ‘दाइ मेरो अक्सिन सकियो । त्यो बुढिया कराइरहेको छ । हिँड्नुस् न कोही छैन त्यहाँ ।’
आँखा मिच्दै बाहिर आएँ । आईसीयूको बाथरुमबाट धारा फुटेर एनआईसीयू, आईसीयू, क्याबिन जताततै पानी, रगत, सिंगान, सुई, र प्याड असरल्ल थिए । बिरामीको कपडा पनि भिजेका थिए । बोल्न सक्ने जति आक्रोश पोखिरहेका थिए । कोही डाक्टर बोलाउन भन्दै थिए ।
किरण कर्णले हातको इसाराले मलाई बोलाइन् । मन्सुरीचाहिँ पहिला मलाई अक्सिजन लगाइदिनुस् भन्दै थिए । मन्सुरीलाई सम्झाएँ । बिस्तारै सास फेर्दै गर्नुस् भनें । किरण कर्णका आँखा राता भइसकेका थिए । सास फेर्न कठिन भइरहेको थियो ।
अक्सिजनको सिलिन्डर बाहिरबाट एक्लै बोकेर ल्याएँ । नट कसें । किरणलाई अक्सिजन जोडिदिएँँ । उनलाई बल्ल राहत महसुस भयो । मन्सुरीलाई पनि अक्सिजनको सिलिन्डर चढाइदिएँ । सबै बिरामी कराउन थाले ।
वातावरण कोलाहलपूर्ण बन्यो । कोही डाक्टरलाई र कोही आफन्तलाई फोन लगाउन भन्दै थिए । नर्कमा पुगेछु जस्तो लाग्यो । आइसोेलेसन वार्डमा सबै जानकारी गराएँ । एकजना नर्सले भनिन्, ‘दाइ हामीलाई पनि थाहा छ । मान्छे आउँदैनन् । आएपछि पठाइदिन्छौं ।’
केहीबेरमा डा. निरज सिंहको फोन आयो । उहाँले भन्नुभयो, दिउँसो ११ बजेतिर गाडी आउँछ । तपाईं र सुनिलजी वाटिकाको सामुदायिक आइसोलेसन वार्डमा जानुहोला ।
मैले हुन्छ त भनें तर आईसीयूका गम्भीर बिरामीलाई कसले सहयोग गर्ला भन्ने लागिरहेको छ ।
पत्रकारिता गर्दा र अन्य बिरामी भेट्दा धेरै पटक आईसीयू गएको छु । तर, यस्तो आईसीयू पहिलो पटक देखियो जहाँ बिरामी आफैं अक्सिजन सिलिन्डर र पानीका लागि कराइरहेका हुन्छन् ।
अहिलेको आइसोलेसन अलिक सफा र सहज छ । निकै कमजोर महसुस गरिरहेको छु । गण्डक अस्पतालको आईसीयूका बिरामीको अवस्था सम्झेर पनि होला छटपटी बढ्दो छ ।