संघीय समाजवादी फोरम नेपालले संविधान दिवस (३ असोज) मा पार्टीले विरोधका कुनै कार्यक्रम नराखेको अध्यक्ष उपेन्द्र यादवले स्पष्ट पारेका छन् ।
संघीय समाजवादी फोरम तराई मधेश तदर्थ समितिले ३ असोजलाई ‘कालो दिन’ भन्दै आन्दोलन गर्ने जानकारी सहितको विज्ञप्ति जारी गरेको प्रति असहमति व्यक्त गर्दै उनले भने, “बाटोघाटोबाट आएको त्यस्तो विज्ञप्ति पार्टीको होइन ।”
उप्रधानमन्त्री समेत रहेका यादवले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त जानकारी गराएका हुन् ।
तराई मधेश समितिका अध्यक्ष रेणु यादवले २ असोजमा विज्ञप्ति जारी गर्दै ३ असोजमा कालो पट्टी बाँध्ने, सार्वजनिक स्थलमा कालो झण्डा प्रदर्शन गर्ने र बेलुका ब्ल्याक आउट गर्ने घोषणा गरेकी थिइन् ।
यता अध्यक्ष यादवले भने पार्टी संवैधानिक प्रक्रियाबाट अघि बढेकाले ‘कालो, रातो वा सेतो दिवस मनाउने अवस्था नरहेको’ बताएका छन् । उनले पार्टी सत्तामा रहेर संघर्षको बाटोमा अघि बढेको भन्दै थपे, “मौलिक हकका महत्वपूर्ण कानूनहरु बन्दैछन्, परिस्थिति पहिलेभन्दा परिवर्तन भएको छ ।”
अर्को प्रसंगमा अध्यक्ष यादवले कांग्रेसले गरेको आन्दोलन प्रतिपक्षीको धर्म भएको बताए । स्वास्थ्यमन्त्री समेत रहेका यादवले एक जनाको दवबन्दीमा सात जनासम्मको सरुवा भएको प्रति छानविन समितिले सत्य तथ्य बाहिर ल्याउंने बताए ।
नेपालका स्वास्थ्य संस्थालाई २५ प्रतिशत चिकित्सक अभाव रहेको बताउँदै उनले आर्थिक भार नपर्ने गरी स्वास्थ्यकर्मी थप गर्दै लानु पर्ने बताए । - हिमालखबर