वीरगञ्ज मुर्ली बगैचा बस्ने माधुरी महतो बिबिसी नेपाली सेवा र नारायणी एफएममा काम गर्छिन । रेडियोमा समाचार पढ्न बिहान सबेरै निस्कनुपर्छ । कहिले काम सकेर फर्कदा राति हुन्छ । अध्याँरा गल्लीमा उनले पटक–पटक दुव्र्यबहार भोग्नु परेको छ ।
त्यस दिनको घटना सम्झँदै उनी भन्छिन् । ‘जाडोको महिना बिहान ५ बजे न्यूज पढ्न बिहानै निस्किएँ । ओम आश्रम अगाडिको गल्लीमा आईपुग्दा कसैले अचानक पाखुरा समात्यो । म आत्तिएँ । केही समयको लागि मैले म को हुँ भन्ने नै विर्षिएछु । संयोगबस नजिकै सहकर्मीको कोठा थियो । फुत्किएर म सहकर्मीको कोठासम्म पुगे । त्यसपछि मात्रै सुरक्षित महशुस गरेँ ।’
त्यो घटना भएको चार वर्षपछि पनि माधुरीलाई लाग्छ– बत्ती भैदिएको भए त्यस्तो घटना बेहोर्नुपर्दैनथ्यो होला । त्यो घटना सम्झँदा उनको आङ सिरिङ्ग हुन्छ । त्यसपछि सवेरै काममा जान उनलाई डर लाग्न थालेको छ ।
त्यतिखेर उनले प्रहरीमा उजुरी दिएकी थिईन् । त्यसपछि एकसातासम्म प्रहरी टोलीले यस बाटोमा गस्ती गरेको थियो । ‘पछि थाहा पाँए रेडियोका अरु महिला सहकर्मीहरुले पनि यस्तो दुव्र्यबहारको भोग्नु परेको रहेछ ।’ उनले भनिन् । ‘रेडियोको काम सकेर घर फर्किदा बेलुका ७/८ बज्छ । सेनाको ब्यारेक भएर आउने बाटो अँध्यारो छ । होटेल भएकाले राती भिड्भाड हुन्छ । त्यो बाटो हिँड्दा दुव्र्यवहार गर्ने हुन कि भन्ने डर लाग्छ । ’
‘वीरगञ्ज हामीले सोचेजति सुरक्षित छैन । बत्ती नहुँदा असुरक्षित भए जस्तो लाग्छ । साँझ परेपछि बाटोमा हिँडदा केटा मानिसले जिस्काउने गर्छन् ।’ वीरगञ्जकी आशा यादवले भनिन् ।
‘बिहान सबेरै कलेज जाँदा निकै समस्या हुन्थ्यो, जाडो महिनामा त हुस्सु लाग्ने भएकोले अध्यारो हुन्छ । बाईकमा आउने केटाहरुले हानौंला झे गरि बाईक छेउबाटै कुदाउँथे । शरीरमा छुन्थे । यो समस्या धेरैले भोग्नु परेको छ ।’ वीरगञ्ज पब्लिक कलेजकी विद्यार्थी सञ्जना कार्की भन्छिन् ।
दिव्य युवा क्लबले सन् २०१७ मा गरेको एक अध्ययन अनुसार वीरगञ्जमा सार्वजनिक स्थानमा महिला माथि दुव्र्यबहारको प्रमुख कारण बाटो, गल्लीमा बत्ती नहुनु हो । अध्याँरा गल्लीमा आवारा केटाहरु लुकेर बस्ने अनि गल्लीमा हिँड्ने युवती, किशोरी तथा महिलालाई जिस्क्याउने गरेको अध्ययनले देखाएको छ ।
घण्टाघर, बसपार्क, पावर हाउस चोक देखी यातायात कार्यालयसम्म, वीरगञ्ज भन्सार वरिपरिको क्षेत्र, अस्पताल, विद्यालयहरु, यातायातका साधनहरुमा लेखाजोखा गरिएको थियो । सो अध्ययनका लागि कुराकानी गरिएका ३० जना मध्ये १५ जनाले आफूहरुले दुव्र्यबहार भोग्नु परेको बताएका थिए । उनीहरुले सडक छेउछाउमा बत्ती नहुँदा समस्या भोगेको गुनासो गरेका थिए ।
सडकबत्ती नहुँदा काम गर्न घर बाहिर निस्कन पर्ने महिला, विद्यालय तथा कलेज जाने छात्राले विभिन्न प्रकारका हिंसा तथा दुव्र्यबहार भोग्नु परेको महिला अधिकारकर्मी कोपिला चौलागाई बताउँछिन् । अधिकारकर्मी चौलागाई सन् २०१४ देखि नै ‘सुरक्षित शहर अभियान’ अन्तरगत सार्वजनिक स्थानमा महिला सुरक्षाको अवस्था लेखाजोखा गर्ने काम गर्दैछिन् । ।
बिहान कलेज जाँदा बत्ती नभएका गल्लीमा हिँड्दा १४ देखि १९ वर्षका किशोरीलाई उछृंखल केटाहरुले पछ्याउने, छुने, छुन खोज्ने, सांकेतिक भाषामा जिस्काउने गरेको पाएका छौं । साँझ बिहान आवतजावत गर्नुपर्ने महिलाले पनि दुव्र्यवहार भोग्नु परेको छ ।’ उनले भनिन् ।
वीरगञ्ज महानगरपालिकाले गौरबको आयोजनाको रुपमा उज्यालो वीरगञ्ज अभियान चलाएको छ । महानगरपालिकाले यसलाई नेपालका लागि नमुना कार्यक्रम बनाउने दावी गर्ने गरेको छ । यस अन्र्तगत महानगरपालिकाका ३२ वटै वडाका मुख्य तथा भित्री सडकमा बत्ती जडान गरिनेछ ।
वीरगञ्जका धेरै जसो सडक अध्याँरो भएको, नियमित रुपमा बत्ति फेरे पनि समस्या समाधान हुन नसकेको कुरालाई ध्यान दिएर उज्यालो वीरगञ्ज कार्यक्रम ल्याईएको महानगरपालिकाले जनाएको छ । यसको आर्थिक भार ५० प्रतिशत नेपाल सरकार र ५० प्रतिशत महानगरपालिकादले व्यहोर्नेछन् ।
आवश्यकता हेरी ४०, ६०, १०० वाटका बत्ती जडान गरिनेछन् । बत्ती तोकिएको समयमा बल्ने र निभ्ने गर्छन् । यसले गर्दा आवश्यक नभएको बेला बत्ती नबल्ने हुँदा बिजुली खपत घटी महानगरपालिकाको पैसा बचत हुने दावी गरिएको छ । यो काम २०७८ असार मसान्तसम्ममा सकिनेछ । महानगरपालिकाका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख राकेश साहका अनुसार एउटा विषेशता के हो भने सन् २०२६ सम्म बत्ती नबल्दा ठेकेदारले मर्मत गर्नुपर्छ । उसले त्यसो गरोस भन्नका लागि ठेकेदारबाट धरौटी लिईएको छ ।
‘कोभिड महामारीले गर्दा योजना कार्यान्वयनमा केहि समस्या भईरहेको छ । त्यसैले यो काम तोकिएको समयमा भइनसक्ने डर छ । ’महाशाखा प्रमुख साहले भने ।
१५ ठाउँमा टावर लाईट जडान
उज्यालो वीरगञ्ज परियोजना लागु हुनु अघि नै वीरगञ्जलाई उज्यालो पार्न १२ ठाउँमा टावर लाईट जडान भएका छन् । १० ठाउँमा महानगरपालिकाले र ५ ठाउँमा सांसद प्रदिप यादवले संसदीय कोषको पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट टावर लाईट जडान गराएका हुन् ।
महानगरपालिकाले आदर्शनगर रंगशाला, रजतजयन्ती चोक, परवानीपुर, बिन्दवासीनीको केहुनिया चोक, रामगढवा हुँदै ड्राईपोर्ट जाने बाटोमा र बसपार्क लगायतका ठाउँमा टावर लाईट लगाएको छ भने वीरगञ्जको घण्टाघर, प्रतिमा चोक, मिलन चोक, लाल पर्सा लगायतमा संसदीय कोषबाट साढे १२ मिटर उचाईको पोलमा लाइट लगाईएको छ ।
टावर लाईटमा एलईडी बल्बको १० वर्षे ग्यारेन्टी भएको महानगरपालिकाका इन्जिनियर सुरेन्द्र साहले बताए । ‘ यस्तो लाईटले खुल्ला ठाउँमा १ किलोमिटर र ओझेलअन्य ठाउँमा कम्तीमा ३/४ सय मिटरसम्म उज्यालो दिन्छ ।’ इन्जिनियर साहले भने ‘ यसको मुख्य विषेशता भनेको बत्ती अटोमेटिक बल्ने र निभ्ने गर्छ ।’
यस्तो लाईटले धेरै परसम्म उज्यालो बनाउने भएपनि यो खर्चिलो रहेको महानगरपालिकाका कर्मचारीले बताएका छन् । ‘एउटा टावरमा ८/१० वटा बत्ति जडान हुन्छ, एउटै ४ सय वाटको हुँदा ३ हजार देखि ४ हजार वाटसम्म विद्युत खपत गर्छ ।’ ती कर्मचारीले भने ।
वीरगञ्जमा अहिले तत्कालिन नगर प्रमुख बिमल श्रीवास्तवको पालामा जडान गरिएका पुराना सडक बत्ती (भेपर लाइट) छन । तिनको नियमित मर्मत संभार समेत गर्न नसकेको महानगरपालिकाले खर्चिलो ‘टावर लाइट’ लगाएको भन्दै कतिपयले यसको आलोचना गरेका छन् । टावर लाईटले आसपासको घर तथा वस्तीमा अनावश्यक प्रकाशले सताउने गरेको गुनासो नगरबासीले गरेको उनले बताए ।
वीरगञ्ज मिलनचोककी सुस्मिता ढकाल भने चोकमा टावर लाईट जडान भएकोमा खुशी छिन् । ‘लाईट नहुँदा राति घरबाट बाहिर निस्कन अप्ठ्यारो हुन्थ्यो तर लाईट राखिसकेपछि त्यो समस्या हटेको छ । राति यात्रा गर्ने साईकल यात्री दुर्घटनामा पर्ने क्रम पनि घटेको छ ।’ उनले भनिन् ‘त्यति मात्रै हैन लाईट नहुँदा राति घुम्ति पसलहरुमा चोरी हुन्थ्यो । दुई महिन यता घुम्ति फोडिएको छैन । टावर लाईटले उज्यालो संगसंगै सुरक्षा पनि दिएको छ ।’
किन ल्याईयो उज्यालो वीरगञ्ज कार्यक्रम ?
वीरगञ्ज महानगरपालिका भईसकेको छ । तर पुरानो भेपर लाईट नै बलिरहेको छ । भेपर लाईट छिटो विग्रनुको साथै त्यसले मानव शरीरम समेत असर पार्ने प्राविधिकहरु नै बताउँछन् । महानगरपालिकाको १६ वटा वडा ग्रामिण भेगमा पर्छ । शहरी क्षेत्रका पोलमा बत्ती जडान भएपनि ग्रामिण क्षेत्रमा अझैसम्म केही पनि व्यवस्था हुन सकेको छैन । अर्को कुरा, महानगरपालिकामा कहिलेकाँही चौबीसै घण्टा समेत सडक बत्ति बालिन्छ । यसले गर्दा बिजुली खेर गईरहेको छ, महानगरपालिकामा विद्युतमा अनावश्यक आर्थिक भार परेको छ ।
‘महानगरपालिकाले हरेक पोलमा गएर बत्ती निभाउन समस्या हुन्छ, सर्वसाधले बत्ती निभाई दिँदैनन् । उज्यालो वीरगञ्ज अभियान अन्र्तगत जडान भएका बत्ती आवश्यकता अनुसार आफैं बल्छन्, आफैं निभ्छन् ।’ महानगर प्रमुख विजय कुमार सरावगीले भने ।
लाईट जडानका लागि विद्युत प्राधिकरणलाई छुट्टै लाईन दिन पनि भनिएको नगर प्रमुख सरावगीले बताए । ‘४ सय किलो मिटर तार अपुग रहेछ, त्यसको लागि थप २ करोड देखि २ करोड ५० लाख सम्मको खर्च छ । त्यो पनि हामीले माग गरेका छौ ।,’ उनले भने ।
पुराना लाईटहरु भएको ठाउँमा दोहोरा खर्च किन त ?
नगर प्रमुख सरावगी भन्छन्, ‘यो दोहोरो खर्च नभएर बारम्बार खर्च नहोस भनेर एकै पटक खर्च गर्न लागिएको हो । अर्कोतिर यसले विद्युतको खर्चलाई पनि कम गर्छ । अहिलेसम्म हामीले विद्युत प्राधिकरणले दिएको विल अनुसार नै बिल तिर्दै आएका थियौं । अब कति युनिट विद्युत खपत भयो भनेर हामीलाई थाहा हुन्छ । पैसासँगसँगै विद्युतको पनि बचत हुन्छ ।’
छठसम्ममा वीरगञ्जको मुख्य सडकमा उज्यालो वीरगञ्ज कार्यक्रमको बत्ति बलिसक्ने दावी उनको छ । उज्यालो वीरगञ्ज कार्यक्रम आएको भन्ने जानकारी पाएपछि साँझ विहान काम विशेषले घर बाहिर हिँडडुल गर्नुपर्ने महिला खुशी छन् । अभियानमा वीरगञ्जका हरेक गल्लीलाई उज्यालो पार्ने भनिएको छ ।
उज्यालो वीरगञ्ज अभियानलाई महिला सुरक्षासँग जोडेर हेर्नुपर्ने महिला अधिकारकर्मी चौलागाई बताउँछिन् । ‘ कुन ठाउँमा बत्ती जडान गर्ने भन्ने कुरा निर्धारण गर्दा महलाका आवश्यकतालाई समेत ध्यान दिनुपर्छ । किनभने अध्याँरो गल्लीमा बत्ती बलेको खण्डमा धेरै महिलाको सुरक्षा हुन्छ ।, ’ उनले भनिन् ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)