प्रदिप जैसवाल सखुवा प्रसौनी गाउँपालिकाको लागी अब नौलो नाम भन्ने पक्कै पनि होईन । बुवा रामेश्वर प्रसाद कलवार र आमा कमलावती देवीको कोखबाट २०३८ साल भदौ ५ गते सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुअनमा जन्मिएका जैसवाल २०७४ सालको स्थानीय निर्वाचनमा सखुवा प्रसौनी गाउँपालिकाको प्रमुखमा विजय भई गाउँपालिका प्रमुख बनेका हुन् । उनी एस.एल.सी पास गरी ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट पोल्टिकल साईन्स लिएर आई ए सम्मको अध्ययन गरेका हुन् । समय अभाव र व्यस्थताका कारणउनी पढाईबाट बिश्राम लिई व्यापारमा लागेको उनको भनाई छ ।
व्यापार पेशामा लागेदेखि नै समाजसेवागर्ने चाहना बमोजिमजैसवाल विपन्न परिवारको सुख दुःखमा स्थानीसंग सधै अगाडी रहे, त्यसै सेवाको परिणामले स्थानीय निकायको निर्वाचनमा आफु निर्वाचित हुन पुगेको उनि बताउँछन् । आफूले गरेको कामको मुल्याङकन गरि जनताले नै मलाई राजनीतिमा आउन प्रेरित गरेकालेसच्चा र इमन्दार भई सेवाको भावलेसमाजलाई विकासशिल समाज निर्माणका लागी आफु राजनीतिमा होमिएको उनको भनाई छ । स्थानीय निकायको निर्वाचन भएको झण्डै एकवर्ष वित्न लाग्यो सोहि विषयमा गाउँपालिका अध्यक्ष प्रदिप जैसवालसंंग मध्यनेपालका लागी बलिराम यादवले गरेको कुराकानी जस्ताको त्यस्तै :
१) आर्थिक वर्ष २०७४/०७५ मा यहाँले गरेको मुख्य मुख्य कामहरु के – के हुन् ?
गएको आर्थिक वर्षमा आएको १७ करोड ९० लाख रुपैयाँको बजेटमा लगभग (६०/६५) प्रतिशत बजेट खर्च गरेको छु । सखुवा प्रसौनी गाउँपालिकामा भएको ६ वटा वडा कार्यालय र ३२ टोल मध्ये सबै टोल र वडामा सडक फराकिलो तथा नाला ढलान लगायतको काम गरेको छु । यस्तै शिक्षामा देखिएको बेतिथिलाई सुधार गरी स्कुलमा पठनपाठनको राम्रो वातावरण बनाई गुणस्तरीय शिक्षा लिनसक्ने वातावरण हामीले सृजना गराएका छौ । समाजमा रहेका विकृति जस्तैः बालबिबाह, दाईजो प्रथा जस्ता कुप्रथा विरुध जनचेतना मुलक कार्यक्रम गर्नुको साथैै बेटी पढाऊ बेटी बचाऊ अभियानलाई पनि हामीले तिब्रता दिएका छौ ।
२) यहाँले चुनावको बेला जनतासंग गरेका प्रतिबद्धताहरु कुन कुन पुरा गरिसक्नु भएको छ ?
जनताको लागी नेता नभई जनताको ‘बेटा’ (छोरा)को रुपमा काम गर्ने प्रतिवद्धता चुनावकै बेलादेखि मैले गरेको हु, र अहिले पनि त्यस्तै भुमिका निर्वाह गर्दै आईरहेको छु । मैले चुनावको बेला जनतासंग गरेको प्रतिबद्धतालाई नै मुख्य एजेण्डा बनाएर जनता माझ पुगेर जनताको गुनासो र चाहनालाई समेटेर नै सखुवा प्रसौनी गाउँपालिकामा सडक, नाला, शिक्षा, स्वास्थ, लगायतको कामलाई पहिलो शर्तको रुपमा लिएर हामी अगाडी बढाएका छौँ । तर अहिले पनि धेरै काम गर्न बाकी छ । गत वर्ष केही महिना मात्रै काम गर्न पायौँ तर यस आर्थिक वर्षमा हामीले धेरै समय पाएका छौँ ।
३) सखुवा प्रसौनी गाउँपालिकामा भएको स्थानीय स्रोत साधनलाई पहिचान गरि परिचाल्न गर्दा के कस्ता आय आर्जन गर्न सक्ने सम्भावना देख्नु भएको छ ?
२ नं. प्रदेश कृषिमा आधारित प्रदेश हो र खास गरि सखुवा प्रसौनी गाउँपालिका पनि कृषिमै आधारित गाउँपालिका भएकाले हामी कृषि पेशालाई अगाढी बढाउने काममा लागका छौ । गत आर्थिक वर्षमा किसानहरुलाई गँहुको बिऊ, हर्दिनाथ धानको बिऊ किसानहरुले लगाएका थिए बढि भन्दा बढि उब्जनी पनि भएको थियो । मलाई लाग्छ सखुवा प्रसौनी गाउँपालिकामा यसपालि जति धान रोपिएको थियो त्यो जतिको उब्जनी कुनै पनि सालमा भएको थिएन् । यहाँ जमुनिया खोला र पारसनाथ मन्दिर छ, जसको सदुपयोगले आय आर्जन गर्न सकिन्छ । पारसनाथ मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्रयाउन सक्छौँ । यसको विकासको लागी हामीले चाहिने आवश्यक अधारभुत तयार गरिसकेका छौँ पुर्णता दिन मात्रै बाँकी छ ।
४) सखुवा प्रसौनी गाउँपालिकामा अझै पनि सडकको अवस्था दयनिय छ, कति वर्षभित्र सुधार गरि सक्ने लक्ष्य राख्नु भएको छ ?
अरु गाउँपालिका भन्दा हाम्रो गाउँपालिकाको सडकको अवस्था ठिकै छ । तथापी बर्षतको समय भएकाले ठाँउ ठाउँमा खाल्डो खुल्डोले समस्या पारेको छ । तर आउँदो वर्षको वर्षतदेखी सखुवा प्रसौनी गाउँपालिकाको कुनै पनि ठाउँमा खाल्डो खुल्डो देख्न पाउनु हुनेछैन् । बोर्डको बैठकले समेत यसवर्ष यस्ता समस्यालाई सुधार गरि सक्ने योजना बनाएको छ ।
५) तपाईको गाँपालिकाभित्र रहेको बेरोजगार युवा तथा महिलाहरुलाई रोजगारी दिनका लागी के कस्ता योजनाहरु बनाउनु भएको छ ?
हामी कहाँ मात्र हैन, २ नम्बर प्रदेश मै बेरोजगारको संख्या बढी हो । यसलाई कमगर्न आय आर्जनको काममा हामीले जोड दिएका छौँ । युवाहरुको माझमा बेमैसमी तरकारी खेती कार्यक्रम रोजगारतर्फ उन्मुख हुन सक्ने अधारहरु हुन् । हामीले यसपालि तरकारीसंगसंगै मोटरसाईकल बनाउने, पोलम्बरको काम लगायत सिपमुलक तालिमहरु आयोजना गरेका थियौँ । युवाहरुलाई रोजगारमा लगाउन हामीले गाऊँ टोलमा सुझाव र समन्वय गरी यस आर्थिक वर्षदेखि आत्म निर्भर कार्यक्रम अगाडी बढाउँदै छौँ, जसमा महिलाहरुका लागी सिलाई कटाई तालिम मात्र हैन्
तिनिहरुको बजारिकरण समेत समेटिने छ ।
६) तपाईले जन्मेको, हुर्केको र सबैले चिनेको ठाउँ हो, यो गाऊँपालिका सरकारको योजना बाहेक तपाईले जनतालाई के गर्ने ?
जनतामा मैले गरेको लगनीलाई देखेर नै मलाई जनताले आफ्नो प्रतिनीधिको रुपमा चुने । मैले गरिब, विपन्न परिवार मात्र नभई सबै र सधैका लागी स्वास्थ चौकी सञ्चालन र आफ्नो व्यक्तिगत लगानीमा यस गाउँपालिकाको ६ वटै वडाहरुमा बाटो मर्मत गराएको छु । नेताले गर्नुपर्ने काम र कर्तव्यको सही तरिकाले पाल्ना गर्छु । र सरकारद्धारा आएको बजेट आफ्नो बुद्धि विवेकले सखुवा प्रसौनी गाउँपालिकालार्ई एउटा नमुना गाउँपालिका बनाउँने अठोट गरेको छु त्यो नै मैले जनतालाई गर्ने काम हो ।
७) तपाई जनप्रतिनिधि भएर आईसकेपछि पहिला र अहिलेमा सखुवा प्रसौनी गाउँपालिकाको शिक्षा र स्वास्थको अवस्था कस्तो छ ?
हाम्रो गाउँपालिकामा २९ वटा विद्यालयहरु छन् । त्यहाँ खानेपानी बाहेक भौतिक संरचनाको अभावले बच्चाहरु भुई मै बस्ने, शिक्षकहरु समयमा नआउने र आएपनि बच्चाहरुलाई नपढाउने जस्ता धेरै समस्याहरु थियो । त्यसलाई मैले समाधान गरेको छु । स्वास्थ्य र बाटो घाटोको अघि नै भने, मैले प्रशासनिक कामलाई पनि अगाडि बढाएको छु । मेरो गाउँपालिकामा कक्षा १ देखि कक्षा ३ सम्मका बालबालिकाहरुलाई अंग्रजी माध्यमबाट पढ्ने किताब पठाएका छौ । यसवर्षदेखि कम्पयुटरको पनि व्यवस्था मिलाई सबै विद्यालयहरुमा कम्पयुटर शिक्षा पनि संचालनमा ल्याउने कुरा चलिरहेको छ ।
८) गाउँपालिकाको प्रमुख भएर पार्टीको मान्छेहरुलाई यहाँले कतिको सहयोग गर्नु हुन्छ ?
पार्टीका व्यक्तिहरुलाई कुनै पनि किसिमको सहयोग गरिएको छैन् । पार्टीबाट हामी चुनाव जितेका हौ तर पार्टीका कार्यकर्तालाई नै मुख्य एजेण्डा नबनाई सम्पूर्ण गाउँपालिकाको वासी, सम्पूर्ण जनतालाई कसरी अगाडी बढाउन सकिन्छ त्यसै किसिमले काम अगाडी बढाउदै गएको छु । पार्टीगत हिसाबले बजेट छुट्याएर ठेक्का पटा दिने काम हाम्रो गाउँपालिकामा छैन् । हामीले जीवनस्तर उकास्ने आवश्यक पर्ने हरेक कुराहरुको चिन्नतन गरि काम गरिरहेका छौँ ।
९) अबको आउँदो चार वर्षभित्रमा यस गाऊँपालिकाले के के पाईसक्नेछ ?
यस गाउँपालिका धेरै नै पछाडी परेको गाऊँपालिका हो । अहिले पनि धेरै यस्ता विद्यालयहरु छन जहाँ कक्षा कोठा छैन, कही बेन्चको अभाव छ । बाटोघाटो, खानेपानी, रोजगारी, गरिबी जस्ता समस्या अबको ४ वर्षभित्र समाधान हुन्छ । अहिले पनि हाम्रो गाउँपालिकामा यस्ता परिवार छन् जसलाई खान र बस्न समेत अफ्ठयारो छ । यो सबैलाई समेटेर हामीले एकपछी अर्को गर्दै गाऊँपालिकालाई समृद्ध र सुशासन सहितको गाऊँपालिका बनाउँछौँ ।