महत्वाकांक्षी राष्ट्रिय परियोजनाको रूपमा रहेको बाराको दोस्रो अन्तराष्ट्रिय विमानस्थलकाृे निर्माण कार्य सुस्त गतिमा भएपनि अगाडी बढन थालेको छ । झण्डै १० बर्ष अघि सुरु भएको यो परियोजनाको पहिलो चरणको देखिने काममा चारकिल्लामा तारबार र पसाहा खोलामा तटबन्ध बनाउन सुरु गरे संगै काम अगाडी बढन थालेको होे ।
यता जनप्रतिनिधिहरुले वन फडानी र वातावरणको असरलाई बहाना बनाएर विमानस्थल निर्माणको कार्यमा अवरोध ल्याउन नहुने बताएका हुन् । तर, विमानस्थल निर्माण गर्दा त्यसको वातावरणीय असरमा पनि ध्यान पुर्याउनुपर्ने उनीहरुको भनाइ छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल विमानस्थल निर्माणका क्रममा आवश्यक मात्रै रूख कटान गरिनुपर्ने बताउँछन् । उनी भन्छन, “सकभर कम क्षतिमै विमानस्थल बनाइनुपर्छ । अहिले जति आवश्यक हो, त्यति मात्रै काट्न हामीले सरकारसँग आग्रह गरेका छौं ।” रूखकै विषयलाई लिएर विमानस्थल निर्माणको आयोजनालाई अलपत्र पार्न नहुने उनको भनाइ छ ।
बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर थारु विमानस्थल निर्माण गर्दा पर्यावरण र सिचाइँमा स्थानीयलाई मर्का पर्नु स्वभाविक भएको भन्दै क्षतिको तुलनामा फाइदा धेरै हुने अनुमान गर्छन् ।
विमानस्थलसँगै तयार हुने फास्टट्रयाकको दूरीले काठमाडौं र तराईको भावनात्मक सम्बन्धलाई पनि बढाउने उनको विश्वास छ । रुख कटानले दक्षिणी क्षेत्रमा पानीको स्रोतमा पर्न सक्ने प्रभाव र त्यसले सिचाइँमा हुने असरप्रति स्थानीय जनप्रतिनिधिकोे बढी चासो देखिन्छ । त्यसका लागि सरकारले पर्यावरण विनाश गर्दा ख्याल गर्नुपर्ने र सिचाइँको वैकल्पिक व्यवस्था गर्नुपर्ने चौधरी बताउँछन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्य विमानस्थलको चर्चा मात्रै नभएर काम पनि हुनुपर्ने बताउँछन् । विमानस्थल बन्ने कुरामा अझै विश्वस्त नभएका उनी भन्छन्, “निजगढ विमानस्थलको काम मेलम्ची खानेपानी अयोजना जस्तो नहोस् ।” वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी निजगढ विमानस्थल राष्ट्रिय आवश्यकताको विषय भएको बताउँछन् । विमानस्थल निर्माणपछि प्रदेश–२ को विकासमा कायापलट हुने उनको धारणा छ ।
विमानस्थल निर्माण गर्ने क्रममा हुने वन विनाशप्रति भने जनप्रतिनिधिको बढी सरोकार देखिन्छ । सरावगीले भने, “विमानस्थल निर्माणका क्रममा कटान हुने रूखको क्षतिपूर्तीवापत् निजीस्तरबाटै वृक्षारोपन गर्न सरकारले प्रोत्साहन गर्नुपर्छ ।”
निर्माणमा प्रक्रिया अगाडी बढ्नमा चुनौती
परियोजनाले वातावरण मुल्याङ्कन, मुआब्जा वितरण, एलानी जग्गाको लगत लगाएतका कामहरु सम्पन्न गरीसकेको छ । मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको आवस्यकताका लागि बाराको निजगढमा बिमानस्थला बनाउने निर्णय भएको थियो ।
यता समितिले निर्धारण गरेको मुअब्जाप्रति असन्तुष्टि राख्दै ककडी र काटँगाउँका १ सय १० विगहा मध्ये ५६ विगहाका १ सय ४१ जनाले मात्र मुआबजा लिएका छन् । विमानस्थालमा निर्माणको क्रममा टाँगिया बस्ति ठुलो समस्याको रुपमा देखा परेको बताउदै यस वस्तिलाई पनि स्थानान्तरण गर्न राज्यले केहि सहयोग गर्ने योजना बनाउन लागेको अन्तराष्ट्रिय विमान स्थल सिमराका प्रमुख ओम शार्माले बताउनुभयो । टाँगियामा हाल १ हजार ४ सय ७६ घरधुरी सुकुम्बासी परिवार बस्दै आएका छन् ।
अन्तराष्ट्रिय विमानस्थलमा पर्ने रुख कटानको लागि पनि सम्बन्धित मन्त्रालयले काम अगाडी बढाएको आयोजनााका प्रमुख शर्माले बताउनुभएको छ । रुख कटानको आदेश आए लगतै नेपाली सेनाको सहयोगमा हाल इ.आई.ए को रिपोर्ट अनुसार निर्माण क्षेत्र भित्र रहेको १० किलो मिटर लामो र ८ कि.लो. चौडाई भएको भागको रुख कटान गरीने प्रमुख शर्माको भनाई छ । निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको ०६४ माघको सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४ र ६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्रा्ष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।