विरगञ्ज, वीरगञ्ज, वीरगंज र वीरगन्ज उच्चारणले उति झट्ट फरक जस्तो लाग्दैन । तर यो एउटा शब्द लेखाइले भने वीरगन्जवासीलाई अब हामी कुन वीरगन्जका हौँ ? हाम्रो वास्तविक पहिचान कुन वीरगन्जको हो ? भन्नें द्विविधा खडा गरिदिएको छ ।
आफूलाई नेपाली भाषाको ज्ञानका पण्डित ठान्ने वर्तमान ठालुहरुले एउटा शब्दलाई यसरी खण्डित पार्दैछन् । यो त केवल नमूना मात्र हो । सरल प्रविधिमैत्री बनाउने नाममा यतिवेला नेपाली भाषाको कुल र मूलमा प्रहार गर्ने अनि बनिबनाउ अर्थपूर्ण र विवादरहित शब्दहरुलाई पदयोग गराइने काम भईरहेको छ । दुई कौडीको ज्ञानलाई करोडौं नेपालीको ज्ञानमाथि सौदावाजी गर्ने शैली कपटपूर्ण छ । व्याकरण, वर्णमाला र लिपिको संयोगबाट शब्दहरुको संरचना हुन्छ । कला, साहित्य संस्कार, संस्कृति, दर्शन र सभ्यता प्रारम्भको प्रस्थान विन्दु पनि त्यहिबाट हुन्छ । शब्दहरुको भाव ग्रहण पनि क्रमशः वर्णमाला, व्याकरण र लिपिबाटै हुने हो । क्षणिक, आवेग वा एकल व्यक्ति विशेषको प्रयासले वर्णमाला, व्याकरण र लिपि तयार भएको हुदैन । विश्वमा रहेका सम्पूर्ण भाषामा लागू हुदै आइरहेका नियमहरुकै परिधिभित्र देवनागरी लिपिमा नेपाली भाषा निरन्तर पुष्पित र पल्लवित हुंदै आइरहेको छ ।
भाषाको मेरुदण्ड, मुटु वा मूलाधार भनेकै वर्णहरु हुन् । १६ वटा स्वरवर्ण र ३६ वटा व्यञ्जन वर्ण गरी ५२ वटा वर्णमालाको प्रयुक्त नै नेपाली भाषाको शब्द निर्माणका आधार श्रोत हुन् । यिनै १÷१ वर्णबाट लाखौँ, करोडौँ शब्द निर्माण हुन्छ । यस्ता आधार विन्दुका वर्णमालाबाट विस्तारै वर्ण हटाउनु, घटाउनु र कटाउनु भनेकै भाषाको हत्या गर्ने विषाक्त षडयन्त्र होइन भन्न सकिन्न ।
संसारमा भएका कुनैपनि भाषा विज्ञान र वैज्ञानिकहरुले कथ्यलाई मानक भनेको पाइदैन । कथ्य मानक हुने सम्भावना पनि हुंदैन । शुभारम्भदेखि अविच्छिन्न रुपमा कायम रहदै आएका नेपाली वर्णमाला माथि भाषा माफियाहरुको दुष्प्रयासले कता – कता धावा बोलिरहेको छ । शब्दको अर्थ वंग्याएर त्यसको हुर्मत लिई नेपाली भाषालाई कोपभाजनमा पर्ने अधिकार कसैलाइ छैन । भाषा भाफियाहरुको यो भयानक षडयन्त्रले नेपाली कला, साहित्य, संस्कार संस्कृतिको अपव्याख्या गरी कानूनतः तथ्य प्रस्तुत गर्ने आधालाई समेत निस्तेज पार्दछ । अनि प्रामाणिक इतिहासलाई एकै पटक, एकमुष्ट रुपमा प्रयोजनहीन बनाएर समाप्त पारिदिन्छ ।
सर्वभौम प्रत्येक राष्ट्रको प्राण प्रयोजनहीन बनाउने उस्तै अनुहारका षडयन्त्रकारीहरुसंग अब नेपालीहरुले चनाखो भएर बस्न आवश्यक भैसकेको छ । नत्र तथाकथित सरल प्रविधिमैत्री भाषाको नाममा कपटपूर्ण, छद्मभेशी षडयन्त्रकारीको भयानक योजना भित्र देशका ऐन कानूनको परिभाषा बँधुवा जस्तो बन्न सक्छ । अनि प्रकारान्तरले जालसाजी पूर्ण अथ्र्याइबाट देशका सम्पूर्ण शिक्षक, विद्यार्थी, कवि, लेखक, पत्रकार, साहित्यकार, सेना, प्रहरी, कानून र विद्यालय, विश्वविद्यालय तथा प्राध्यापक र न्यायकर्मी समेत भाषा माफियाहरुको कोपभाजनको शिकार बन्ने छर्लङ्ग छ । त्यसैले भाषालाई तोडमोड गर्ने भाषा माफियालाई छुट दिनु अपराधीलाई जन्माउनु जस्तो हो । गणतान्त्रिक नेपालका नेपालीको सम्पूर्ण सार्वभौम अस्तित्व र पहिचानलाई सधंैका लागि समाप्त पार्न तम्सेका त्यस्ता लोभीपापीहरुको षडयन्त्र विफल पार्न नेपाली युवापंति अग्रसर हुनुपर्छ । त्यसो नभए वीरहरुको वीरगन्ज जस्ता सर्वथा अस्तित्वमा रहेका वीरगन्जवावसीको मात्र होइन सबै नेपालीको टाउको दुःखाइ बन्न सक्छ ।