आयोडीनको कमिले हुने थाइराइडलाई आम रुपमा रोगको नाम दिने गरिएको पाइन्छ । तर यो रोग नभई एक प्रकारको संक्रमण हो ।
जुनसुकै उमेरको मानिसलाई हुने थाइराइड समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । किनकी पुरुषको तुलनामा महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । चिकित्सकका अनुसार दश जना मध्ये नौ जना महिला यसको शिकार हुँदा एक जना पुरुषमा मात्रै यो संक्रमण हुन्छ । थाइराइड हाम्रो घाँटीमा हुने एउटा ग्रन्थी हो, यसलाई गलगाँड पनि भनिन्छ । यसको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो । जसले शरीरको मेटाबोलिजममा काम गरी हाम्रो शरीरलाई फूर्तिलो बनाइराख्छ । तर विभिन्न कारणले आवश्यकता भन्दा बढि भएमा थाइराइड समस्याको रुपमा देखा पर्छ ।
चर्चा भए अनुसारको ठूूलो रोग नभएको र उपचार पद्दती सजिलो भएता पनि थाइराइडको उपचार समयमै गरिएन भने शरीरका अन्य अंगहरुमा समस्या देखापर्ने र विभिन्न किसिमका जटिल रोग लाग्न सक्ने चिकित्सकहरु बताउँछन् ।
मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.एस एन यादवसँग मध्य नेपालका लागी खुुशी शर्माले गरेको कुराकानी : –
१) थाइराइड के कारणले हुन्छ ?
मुख्यतः आयोडीनको कमीले थाइराइड हुन्छ । आयोडीनको सहायताले थाइरोक्सीन नामक हार्मोन थाइराइड ग्रन्थिबाट निस्कन्छ, तर हाम्रो देशमा समून्द्र छैन । हिमाल पहाड बढी छ । जस्ले गर्दा आयोडीनको मात्रा पर्याप्त पाइन्न । त्यसैले थाइराइड हुनुको प्रमुख कारण देशको भौगोलीक अवस्था हो । त्यस्तै घर परिवारमा कसैलाई थाइराइड भएको छ भने वंशाणुुगत कारण, विग्रिँदो वातावरण, रोगप्रतिरोधक क्षमताको कमी, कुनै पनि संक्रमण (इन्फेक्सन) ले थाइराइड ग्ल्यान्डको कार्यविधि कमी, जथाभावी औषधीको सेवन, अत्याधिक चिन्ता जस्ता कारणले थाइराइड हुन्छ । अझ गर्भवती अवस्थामा आवश्यक पर्ने जति आयोडीनको मात्रामा कमी भयो भने जन्मिने बच्चालाई जन्मजात थाइराइड संक्रमण भई बच्चाको मनस्थिती सुस्त हुन जान्छ । जसलाई क्रिटिनिजम भनिन्छ ।
२) थाइराइडको समस्या भएको कसरी थाहा पाउने ?
थाइराइडको संक्रमण थाहा पाउन चिकित्सकीय जाँच गराउनुपर्छ । यदी शरीरमा आलस्यपन छायो, वजन बढ्ने÷घट्ने, हातखुट्टा र अनुुहार सुन्निने, चिसोबाट वा घामबाट टाढा रहन मन लाग्नु, मुटुको चाल बढ्नु, कपाल झर्नु, महिनावारी गढबढ हुने, बच्चा पेटमा रहन गाह्रो हुने जस्ता अनेक समस्या देखियो भने चिकित्सकलाई भेटेर जाँच गराउनु नै थाइराइड बारे थाहा पाउने उपयुक्त उपाय हो ।
२) थाइराइड कति किसिमका हुन्छन् ?
वर्गीकरणका हिसाबले थाइराइड २ प्रकारका हुन्छन् ।
- हाइपोथाइराइडिजम - हाइपोथाइराइडिजम भएको समयमा आवश्यक मात्रामा हार्मोन बन्दैन । यस्तो अवस्थामा भोक कम लाग्छ तर तौल बढ्दै जान्छ । त्यसैले यो खालको समस्यालाई मोटाउने थाइराइड पनि भनिन्छ ।
- हाइपरथाइरोडिजम - हाइपरथाइरोडिजम भएमा आवश्यकता भन्दा बढी हार्मोन निस्कन्छ । मुटुको चाल बढ्ने, हातखुट्टा काँप्ने, शरीरको तौल घट्दै जाने जस्ता अनेकन समस्या देखिन्छन् । यस्तो संक्रमणलाई दुुब्लाउने थाइराइड भनिन्छ ।
३) फरक फरक किसिमको थाइराइडको उपचार विधि पनि फरक होला नि होइन ?
अवश्य नै फरक हुन्छ । हाइपोथाइराइडिजम हुँदा हर्मोन उत्पादन नहुने भएकोले आजिवन औषधीको सेवन गर्नुको विकल्प छैन । साथै कुनै कारणवश (जथाभावी औषधीको सेवनबाट) समस्या भएको भए त्यस्तो कारणलाई पनि निदान गर्नुपर्छ । यदि हाइपरथाइरोडिजम भएको छ भने ३ तरिकाले उपचार गरिन्छ । यस्तो संक्रमणमा अत्याधिक हर्मोन निस्कने हुनाले सबैभन्दा पहिले आयोडीनयुक्त खाना खान छोड्नुपर्छ । हाइपरथाइरोडिजमको उपचार गर्दा पहिलो उपाय कम्तीमा १८ महिनासम्म नियमित औषधी खान दिइन्छ । दोश्रो गलगाँड गलाउन रेडियोयाक्टीभ आयोडीन थेरापी गर्ने र तेश्रो शल्यक्रिया (अपरेशन) गरेर गलगाँड निकाल्ने गरिन्छ । अपरेशन गरी निकाले पछी हार्मोन उत्पादन हुन छाड्छ जस्ले गर्दा हाइपरथाइरोडिजमबाट त मुक्ती मिल्छ थर हाइपोथाइराइडिजम हुन गई आजीवन औषधीको भर पर्नुपर्छ ।
४) थाइराइडको समस्या आउन नदिन के गर्न सकिन्छ ?
विशेषतः आयोडीन युक्त खाना खाने, फास्टफुड, जंक फुड एवं धूम्रपानको सेवन बन्द गर्ने, प्रशस्त मात्रमा भिटामिन ‘डी’ पाइने माछा, अण्डा, गाजर, मसरुम आदि खानमा जोड दिने, सेलेनियमयुक्त बदाम, ओखरजस्ता खाद्यपदार्थका साथै गाईको दूध, दही, पनीर, काजु आदीको सेवन गर्ने, वातावरण सफा राख्ने, इन्फेक्सन हुनबाट बच्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, नियमित चिकित्सकीय जाँचमा ध्यान दिने गर्दा थाइराइड हुनबाट बच्न सकिन्छ ।
मध्य नेपाल पत्रिकामा २०७३ साल असोजमा प्रकाशित समाचार अध्यावधी गरिएको ।