पर्यटकको राम्रो गन्तव्यका रुपमा रहेको वीरगंजको पहिचान घडिअर्वा पोखरी यतिवेला वेवास्थाको शिकार भएको छ । वीरगन्ज महानगरपालिका भित्ररहेको पर्यटकको राम्रो गन्तव्य घडिअर्वा पोखरी सम्बन्धित पालिकाको वेवास्थाको शिकार भएको हो ।यहाँ रहेका सार्वजनिक सम्पतिहरु स्वीमिङ्ग पुल, भिष्वा, शंकराचार्य गेट, लक्षुमनवा पार्क, नारायणी रंगशाला, आदर्शनगर रंगशाला लगायतका सार्वजनिक सम्पतिहरु जस्तै यो पोखरी पनि स्थानीय सरकारको वेवास्थाको शिकार भएको स्थानीयको आरोप छ । मुख्यतयाः पब्लिक पार्टनरसिपका नाममा वीरगन्ज महानगरपालिकाले ठेकदारको जिम्मा लगाएका सार्वजनिक सम्पतिहरु मध्ये घडिअर्वा पोखरी पनि एक हो । ठेगदारले फाइदा हुन्जेल मात्र प्रयोग गर्ने हुँदा जीर्ण बनाएर त्यसपछि महानगरपालिकालाई जिम्मा लगाउने हुँदा महानगरपालिकाले आफै अग्रसर भएर यसको चासो राख्नु पर्ने स्थानीयको सुझाव छ । पर्यटकको मुख्य गन्तव्य यो घडिअर्वा पोखरीको हेरचाहमा भने महामनगरपालिका चुकेको उनीहरुको भनाइ छ ।
विगत १६÷१७ वर्षदेखि विग्रेर जीर्ण बन्दा समेत सम्बन्धित पक्ष मौन बसेको स्थानीय मंकुश्वर ठाकुरले बताए । वि.सं.२०५६ साल पौष १३ गते मंगलबारका दिन तत्कालिन राजा वीरेन्द्र शाहले उद्घाटन गरेको घडिअर्वा पोखरी वीरगंजको एक मात्र पर्यटकीय स्थल मानिदिै आएको थियो । पर्यटक लोभ्याउने फाउन्टेन पेन, पोखरीमा चल्ने डुङ्गा अहिले विग्रेर नचल्ने अवस्थामा छन् । आन्तरिक तथा बाह्य पर्यटकहरु पहिले डुँगा चढ्ने, पानी नाचेको हेर्ने भनी फाउन्टेन पेनको अवलोकन गर्न घडिअर्वा पोखरी परिषरमा पुग्ने गरेका थिए । अहिले भने बाह्य त के आन्तरिक पर्यटक समेत पोखरी परिषरमा नआउने गरेको वीरगंज महानगरपालिका वडा नम्बर १० का सुगेश कर्णले बताए । आफूले पहिलो पटक भारतका केही साथीहरुलाई पोखरी घुमाउन ल्याएको थिए । पोखरीमा रहेको फाउन्टेन नचलेर नरमाईलो लाग्यो । पहिले चल्दा त्यहाँ छुट्टै शान हुन्थ्यो उनले भने । ‘वीरगंजको पर्यटकीय स्थल घडिअर्वा घुमाई मानिसलाई आकर्षित गर्ने, पोखरीको ढुङ्गा चढाउने गरेपछि म्यूजिक फउन्टेन’ तर्फ लगेपछि एक डेडघण्टा समय विताउन कुनै सकस हुँदैनथ्यो । पोखरीमा माछा पालन गरिएको छ । जसले गर्दा डुँगा संचालन बंन्द गरिएको भन्नु सुनेको छु उनले भने ।
घडिअर्वा पोखरीमा छठ पर्वकै पूजाका लागि लक्ष्य गरी निर्माण गरिएकाले बर्षेनी छठ पर्वका बेलामा झन यसको चर्चा देश विदेशमा हुने गरेको थियो । दिनमा समेत महानगरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यसले लोभ्याइरहेको हुन्थ्यो । तर महानगरपालिका स्वयम् उदाशिन देखिएको सर्वसाधारणको आरोप छ । स्थानीय पालिका नै आफै अग्रसर नभई घडिअर्वा पोखरी जस्तो जीर्ण हुँदै गएका अन्य भौतिक संरचना पनि काम नलाग्ने अवस्थामा पुग्ने उनीहरुको तर्क छ ।
धर्मिक पर्यटकका लागि पोखरीको बीच भागमा रहेको सूर्य मन्दिर र गंगामाताको मूर्ति समेत जीर्ण अवस्थामा पुग्दा महानगरपालिकासँग ठेक्का लिएका ठेक्केदारको ध्यान पुग्न नसकेको स्थानीय विकास रौनियारले गुनासो गरे । औद्योगिक नगरीका रुपमा परिचित यस शहरमा पर्याप्त पर्यटकीय स्थल र पार्क नभएको भने होइन । तर अधिकांशको रोजाईमा घडिअर्वा पोखरी परे पनि यहि संरक्षणको पर्खाइमा रहेको उनको भनाइ छ । शनिबारको सार्वजनिक विदा होस् या बिहान र साँझको शारिरिक व्यायाम गर्ने स्थल समेत रहेको यो पोखरी परिषर स्थानीयको समय विताउने राम्रो थलोको रुपमा रहेको थियो । तर अहिले भने त्यस्तो राम्रो स्थल सुनशान जस्तो बनेको छ रौनियारले भने ।
मुलुककै पहिलो म्युजिकल फाउन्टेनको रुपमा उत्तिबेला देश भित्र र बाहिर समेत चर्चा कमाएको घडिअर्वाको म्यूजिक फाउन्टेन हेर्न आउने आगन्तुक पर्यटकहरुको पहिलो रोजाई ७÷८ वर्षदेखि ओझेलमा परेको छ । अहिले न त फाउन्टेनको रंगिन पानी, पोखरीमा उठिरहेका पानीका फोहोरा त परै जाओस् पोखरीको पानीमा देखिने बत्तिको छायाँले बनाउने आकषर्क दृश्य पनि हराएको छ । २०७३ साल भदौ २२ गते ठेक्कामा लिएको दिपु कलवारले पोखरी भित्र हालसम्म शौचालय, शौर्यबती, पार्कीङ्ग लाईट, गार्डेनिङ्गलाईट, क्यान्टिन, ४ वटा नयाँ डुङ्ग र पोखरीस्थलको दृष्य अकर्षक बनाएको दाबी चाही छ । मैले ठेक्का लिएको बखत शौचालय जिर्ण अवस्थामा र प्रयोग गर्न नसक्ने अवस्थाबाट अहिले आधुनिक अवस्थामा ल्याएको छु । पोखरी स्थललाई आकर्षण बनाउन आफ्नै खर्चमा सोलारबती, पार्कीङ्ग र गार्डेनिङ्ग लाइट समेत जडान गराएको छ ।
म्युजिक वाटर फाउण्टेनको, म्यूजिक वाटर फाउण्टेन भित्रको आधुनिक बत्ति र साउण्ड बिग्रेकाले त्यसका लागी म कोलकता सम्म पुगे । तर त्यसको सामान नपाइने जनाइएको छ । हरेक १५ वर्षमा नयाँ टेक्नोलोजि आउँने हुँदा पुराना समानहरु नपाइने र त्यसलाई मर्मत सम्भार गर्न नसकिने बुझिएको छ । पछि मैले नयाँ म्युजिकल वाटर फाउन्डेसनको लागि बुफ्दा ६०–७० लाख लाग्ने बताइयो । यसको लागि ६ महिना अघि पालिका र प्रदेश सरकारलाई निवेदन दिइसकेको छ । महानगरपालिकाले असार पछि लगाउने आश्वासन दिएको छ भने प्रदेश सरकारबाट कुनै प्रतिक्रिया आएको छैन । अब यो असारबाट त हाम्रो सम्झौता पनि सकिदै छ उनले भने ।
यता महानगरपालिका मेयर विजय सरावगीले महानगरपालिकाले घडिअर्वा पोखरीको मर्मत सम्भारको जिम्मा ठेकेदारको नै भए पनि घडिअर्वा पोखरीको मर्मत सम्भारमा महानगरपालिकाले गर्नु पर्ने काम गरेको तर्क गरे । उनले भने, घडिअर्वा पोखरीको टेन्डरको समयावधि समाप्त हुन लागेकोले पनि घडिअर्वा पोखरी अहिले बहसको विषय बनेको छ । करारमा गरिएको सम्झौता अनुसार केही काम भएको र केही काम बाकी छन् । महानगरपालिकाले हाल घडिअर्वा पोखरी जिम्मा लिएका ठेकेदार कम्पनीबाट म्यूजिकल वाटर फाउन्टेनको मागको पत्र आएको र अब वाटर फाउन्टेनका लागि यस वर्षको बजेटमा रकम विनियोजन गरी वाटर फाउन्टेन जडान गरेर नै टेन्डर आह्वान गर्ने उनले दावी गरे ।
२०६७ साल माघ १ देखि यो परिसर पोखरी निजी क्षेत्रलाई सञ्चालन गर्न साविकको वीरगन्ज उपमहानगरपालिकाले दिएको थियो ।ठेक्का सम्झौता अनुसार, ठेक्का अवधिभर पार्कको भौतिक संरक्षण र मर्मत सम्भार ठेकेदार पक्षले नै गर्नु पर्ने शर्त थियो । सर्त अनुशार पार्कका भित्ताहरु सजिएको र बत्ती लगाइएको भए पनि त्यस भित्रको सुन्दरता नरहेको भन्दै स्थानीय वासिन्दाहरु भने रुष्ट बनेका छन् । विद्यालय तथा कलेजका युवा युवतीको लर्को लाग्ने भएकाले पनि परिवार सहित पार्क घुम्न जान लाज लाग्ने भएको स्थानीयहरुको आरोप पनि छ ।