नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई आग्रह गरेको छ ।
कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारहरूलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी पनि दिएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे ।
उनले कोभिड¬–१९ को पहिलो लहरमा जस्तौ दोस्रो लहरमा पनि पत्रकारहरूलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरूको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताए । महासंघले कोभिडको दोस्रो लहरमा निष्कासनमा परेका ९ जनाको पुनर्नियुक्तिसमेत गराएको उनले जानकारी दिए । त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिनभित्र पत्रकारहरूको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले बताए ।
उनले भने, ‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । दोस्रो लहर सुरु भइसकेपछि हामीले ९ जनाको पुनर्नियुक्ति गरी समस्या समाधान गरेका छौं । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमूलक काम पनि पत्रकार महासंघले गरिरहेको छ । श्रम समस्यासँग जोडिएका ५ सञ्चारमाध्यमलाई ७ दिनभित्र समस्या समाधान गर्न आग्रह पनि गरेका छौं । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरूलाई भेटेर विस्थापित भएकालाई पुनःस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौं ।
महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो । महासंघले महामारीको समयमा पत्रकारहरू फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरूलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ । महासचिव पुरीले भने, ‘सरकारलाई बारम्बार आग्रह गरेका छौं । फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकारलगायत सरसफाइकर्मीहरूलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामूलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौं ।
पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारहरूलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा आइसोलेसन बेड निर्माण गरेको गरिएको छ । त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सक सहितको आइसोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको छ । काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भईआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आईसीयू, भेन्टिलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उनले बताए ।
महासंघका अनुसार, जेठ २ गतेसम्म मुलुकभर गरी करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् भने २५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराइरहेका छन् । ६ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाइसकेका छन् । कारोकार दैनिक