महिला, जो समाज परिवार अनि आफ्नै श्रीमान्का कारण हिंसाको शिकार हुने गरेको पाइन्छ । दाइजो प्रथा,यौन शोषण, छोराछोरीबीचको विभेद जस्ता अनेकौ समस्याका कारण महिलामाथिको दृष्टिकोण अपेक्षाकृत फराकिलो हुन नसकेको अधिकारकर्मीहरुको भनाई छ ।
महिला, जसलाई समाज, घर अनि परिवारले सहयोग गर्ने हो भने पक्कै पनि एकदिन सफलताको सिंढीमा उक्लन उनलाई कसैले पनि रोक्न सक्दैन । आफ्नो श्रीमती प्रतिको जिम्मेवारी अनि सहयोगी भावनालाई आत्मसाथ गर्दै धेरैसजो श्रीमान् हातेमालो गरी अघि बढिरहेको कमै उदाहरणहरु पाइन्छ । तर वीरगंज माईस्थानमा विगत २५ वर्षदेखि टेलरिगं व्यवसाय गर्दै आउनु भएका अजय मिश्रा उर्फ बौवा मिश्रा भने आफ्नो श्रीमती अनमिका मिश्रालाई अगाडी बढाउन उदाहरणीय काम गर्दै आएका छन् ।
१० वर्षअघि मागी विवाह गरेका बौवाको श्रीमती सो समयमा कक्षा ८ मा अध्ययनरत मात्र थिइन् । उनको इच्छा अनुसारकोे पढाइ अनि लक्ष्यलाई आत्मसाथ गरेर अहिले स्नाकोत्तरको अध्ययन गराउदैछन्, उनै बौवा मिश्रासँग मध्य नेपालका लागी बिमला गुप्ताले गरेको बिशेष कुराकानी :-
१) कस्तो चल्दैछ, यहाँको टेलरिङ्ग व्यवसाय ?
धेरै राम्रो छ । भगवान अनि मेरा शुभचिन्तकहरुको माया अनि आशिर्वादले धेरै राम्रो भइरहेको छ । विशेषगरी चाडपर्व अनि स्कूलले गर्दा निक्कै व्यस्ता बनाउने गरेको छ । नयाँ नयाँ डिजाइन गर्नेगरेको छु, महिलाहरुको लागि मात्रै गर्छु म ।
२) एउटा पुरुष भएर महिलालाई मात्रै लक्षित गरेर कपडा डिजाइन गर्नुको कारण के हो नि ?
नेपाल नारीप्रधान देश हो । नारीले नै मलाई जन्म दिइन्, नारीहरुलाई म धेरै सम्मान गर्छु जसले गर्दा विना नापको कपडा सिलाउने र डिजाइन गर्ने काम गदै आइरहेको छु ।
३) यी त भए व्यवसायिक जीवनको पाटो, अब एकछिन व्यक्तिगत जिवनतर्फ जाऔ न, बौवा जि, तपाइको व्यस्तताले कतै वैवाहिक जिवनमा असर त पारिरहेको छैन ?
अलिकति पनि असर गरिरहेको छैन, मेरी श्रीमती समझदार अनि सहयोगी भएको हुनाले पनि हुनसक्छ । मेरो व्यक्तिगत र व्यवसायिक जीवन धेरै नै राम्रो छ । अरु मान्छेहरुलाई हेर्नेगर्छु । आफ्नो श्रीमतीलाई कुट्ने दुुख दिने गर्छन्, तर हामीबीच राम्रो समझदारी छ ।
४) यहाले श्रीमतीको प्रसंग उठाइहाल्नु भयो, के गर्दै हुनुहुन्छ अहिले उहाँ ?
मेरो मागी विवाह भएको हो । विहे गर्दा उनी ८ कक्षामा पढिथन् । अहिले उनी स्नातकोत्तर डिग्रीमा पढिरहेकी छन् । उनी अहिले कारागार भित्र रहेको समता स्कुलका बच्चाहरुलाई पढाउदै छन् । आफूले पढ्न नसके पनि श्रीमतीको सफलता देखेर सन्तुष्ट छु ।
५) श्रीमतीलाई पढाएर जागीर खान पठाउँदा पारिवारिक समस्या वा केहि चुनौतीको सामना गर्नुपर्यो होला नि ?
मेरी श्रीमती बिहान उठेर घरको सवै काम सकाएर मात्रै जागिर खान जान्छिन, उनको बाहिरी कामले घरायसी काममा केहि असर परेको छैन । मेरा एक छोरा र एक छोरी छन्, अनामीकाले बालबच्चालाई पनि हेर विचार गर्छिन् । तर समाजका मान्छे अनि आफन्तहरुले धेरै नराम्रो कुुराहरु भन्थे, कसैले पनि सहयोग गरेनन्, तर पनि म आफ्नो श्रीमतीको लागि अडिग रहें । म मेरो श्रीमती प्रति खुशी छु ।
६) अधिकांश महिलाहरु घरपरिवारबाट पीडित हुने गरेको पाइन्छ, अझ भन्नु पर्दा श्रीमान्बाटै शारीरीक रुपमा पीडित हुन्छन् । तर तपाई मधेसी समुदायकै भएर पनि आफ्नो श्रीमतीलाई अगाडी बढाउदै हुनुहुन्छ, । यस्तो सोच कसरी आयो ?
मलाई लाग्छ मानिसको सोच फराकिलो छ भने कुनै पनि समुदायबाट भएपनि केहि हुँदैन । हो, मधेसमा छन् यस्ता समस्या, तर म पनि एक मधेसी हँु, मेरो यस्तो सोच छैन । आफ्नो सोचाइ र हेराइ सधैं सकारात्मक राखेपछि जिन्दगी धेरै राम्रो हुन्छ, म सोच्छु, सबलाई आफ्नो अधिकार पाउनुपर्छ, चाहे श्रीमती होस् छोरीहोस् नातिनातिना या बुहारी होस् सबैलाई पढाउनु पर्छ, । शिक्षा देखि टाढा राख्नु हुदैन, उनीहरुलाई पढाउनु पर्छ र बराबरको अधिकार दिनुपर्छ, । म चाहदिन कि भोलिको दिनमा कसैले भनोस् कि मधेसी महिलाहरु धेरै शिक्षीत हुदैन, समय अनुसार अहिले मधेसी समुदायमा पनि धेरै परिवर्तन आएको छ ।
म चाहन्छु । हरेक मधेसी दाजुभाईमा यो सन्देश जाओस् कि बौवाले एउटा टेलर्स चलाएर आफ्नो बुढीलाई पढाएर यति शिक्षीत र सक्षम बनाउन सक्छ भने त हामी किन पछाडी पर्ने ? म एउटा अनपढ टेलरमास्टर भएर बुढीलाई पढाउन सक्छु भने आजकलका दाजुभाइ पढेलेखेका बुद्धिमान हुुन् । ,उहाँहरुले त झन श्रीमतीलाई पढाएर सक्षम बनाउने छु । मलाई विस्वास छ म पढ्न पाइन, त्यो चाहना आफ्नो श्रीमतीलाई पढाएर पूरा गरेको छु । श्रीमतीको पढ्ने इच्छा पूरा गर्न पाएकोमा म ज्यादै ने खुशी छु ।
७) बौवा जि, के छ त तपाईहरुको भावी योजना ?
श्रीमतीलाई सिए पढाउने मेरो इच्छा छ, । उनले गर्ने हरेक राम्रा काममा म सधंै सहयोग गर्ने छु । दुुई सन्तानलाई राम्रोसँग पढाउने अनि श्रीमतीलाई सफल महिला बनाएर समाजमा परिचीत बनाउने मेरो चाहना हो ।
८) बैवा जि अव अन्त्यमा, महिलाहिंसा गर्ने अनि महिलाप्रति साँँघुरो सोचाइ राख्ने त्यस्ता व्यक्तिहरुका लागि के भन्न चाहनुहुन्छ ?
नारीलाई सम्मान गर, नारी नै भगवान हो, तिमीहरुको लागि घरपरिवार छोडेर आएकी श्रीमतीको चाहना बुझेर उनलाई अगाढी बढाउने गरे महिला हिंसामा पनि कमि आउने थियो र कुनै पनि नारीले श्रीमान्का कारण आफ्नो शिर उठाउन पाउने छन् । त्यसैले म यति भन्न चाहन्छु कि आफ्नो श्रीमतीलाई हिंसा होइन माया अनि सम्मान गर्ने गरौ ।
मध्य नेपाल पत्रिकामा २०७३ साल असोजमा प्रकाशित समाचार अध्यावधी गरिएको ।