उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
उनका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । उनले भने, ‘अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’
निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।
दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।
उल्लंघन गर्नेलाई अध्यादेशअनुसार कारबाही
अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गर्ने गरिने भएको छ । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो ।
अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।