मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको आयात दर नेपालमा बर्सेनि बढ्दो क्रममा छ । खाद्यान्न र तरकारीमा अनियन्त्रितरूपमा प्रयोग हुने विषादीको परिमाण घटाउँदै लैजाने भन्दै सरकारले १९ वर्षदेखि ठूलो लगानीमा राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम) सञ्चालन गरेको छ । तर, त्यसयता विषादीको आयातदर घट्नु भन्दा बढ्दै गएको छ । यसरी बर्सेनी आयातदर र प्रयोगदर बढ्दै जानुले विषादी नियन्त्रण गर्ने कार्यक्रम असफल भएको पुष्टि हुन्छ ।विषादी भन्नेबित्तिकै हामीलाई लाग्छ, कुनै पनि जीवित प्राणीका लागि खतरनाक तत्व हो । यसको गलत प्रयोगले मानिस मात्र नभएर जनावर र कीरा–फट्याङ्ग्रा समेतको तत्कालै मृत्युसमेत हुन्छ । यसको प्रयोग घातक हुन्छ, तर पनि आवश्यकताअनुसार प्रयोग गर्नु बाध्यता पनि छ । विशेष गरी किसानले यसको प्रयोग बढाएका छन् । यो धूलो वा तरल दुवै प्रकारले बजारमा सहजै किन्न सकिन्छ ।
‘बालीमा रोग किरा लाग्छ, टुलुटुलु हेरेर बसे लगानी नै डुब्छ । त्यसैले विषादी त हाल्नै पर्छ’ पर्साको बहुदरमाई नगरपालिकाका किसान रमेश प्रसाद कुशवाहाले बिषादी प्रयोग बारे संक्षिप्तमा भने । कुशवाहा २० वर्षदेखि कृषि पेशामा आबद्ध छन् । ‘अर्गानिक मल हालेर खेती गर्दासम्म रोग किरा कम लाग्थ्यो ।’ कुशवाहाले भने ‘ रासायनिक मलको प्रयोग बढेपछि रोग किरा बढेको छ । बिषादी नहाली तरकारी फलाउनै सकिन्न’ उनले थपे ।
बहुदरमाई नगरपालिका, विश्रामपुरका अन्य किसान तरकारी वा अन्न बालीमा विषादी प्रयोग गर्छन् । यस क्षेत्रमा आएका उतार चढावमा उनी प्रत्यक्ष सहभागी छन् । काउली, गोलभेंडा, काँक्रो, मुला, बोडि, लौका, करेला, आलु, प्याज र भिन्डी जस्ता तरकारी खेतीमा मनग्गे विषादी प्रयोग हुने गरेको उनी जस्ता पर्साका किसानले बताए । कुशवाहा सहित पर्साका किसान रासायनिक मलखाद, बिउबिजन, बिषादी सबै बिज भण्डारबाट ल्याउँछन् । खेती कसरी गर्ने ? कति विषादी छर्ने भन्ने बारे बिज भण्डार सञ्चालक वा कर्मचारीले नै सिकाउँछन् उनीहरुले भने ।
जसरी मान्छे बाँच्नका लागि अक्सिजन चाहिन्छ । त्यसैगरी कृषिमा विषादी चाहिन्छ,’ विश्रामपुरका जाटाशंकर यादवले बताए । ‘पहिले अहिले जस्तो रोगकिराले बालीलाई खासै सताउँदैनथ्यो ।’ तर रासायनिक मलखादको प्रयोग बढेसँगै रोगकिराहरुको पनि वृद्धि भएको उनको भनाइ छ ।
भयावह छ समस्या
कृषि विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार ७० देखि ८० प्रतिशत किसानले धानबालीमा १ देखि तीन पटक विषादी प्रयोग गर्ने गरेको तथ्याँक छ । गहुँ बालीमा २० देखि ३० प्रतिशत किसानले एक पटक विषादी हालेका हुन्छन् । तरकारीमा सबैभन्दा बढी विषादी प्रयोग हुने गरेको पाइएको छ । ८० प्रतिशत किसानले तरकारी बालीमा २ देखि १० पटकसम्म विषादी प्रयोग गर्ने गरेको तथ्याँकले देखाएको छ ।
स्रोत ः कृषि ज्ञान केन्द्र पर्सा
पर्सा जिल्लामा सबैभन्दा बढी खेती धानको हुन्छ । यस वर्ष धानबालीमा किराको प्रकोप बढी देखियो । पछिल्लो २० वर्ष यता यस्तो किराको प्रकोप कहिल्यै देखिएको थिएन । त्यसको रोकथामका लागि विषादी प्रयोग भएको छ । तरकारी बालीमा समेत विषादी अत्याधिक मात्रामा प्रयोग हुने गरेको कृषि ज्ञान केन्द्रका विषादी इन्सपेक्टर समसुल हक मियाँ दर्जीले बताए । जिल्लामा व्यवसायिक रुपमा तरकारी खेती ५ वटा गाउँमा बढी हुने गरेको छ । अन्य ठाउँमा छिटपुट रुपमा तरकारी खेती हुन्छ उनले भने ।
पर्सामा विषादी प्रयोग वर्गीकरणको अवस्था
अर्गानोक्लोरिन समूह ः यो समूहमा कडा खालका विषादीहरु पर्दछन् । जुन विषादी अब नेपालमा दर्ता हुँदैनन् । यसमा डिडिटी, बिएचसी, माईरेक्स, इन्डो सुल्फान, एल्ड्रीन, टोक्साफेन लगायत पर्दछन् ।
अर्गानोफस्फेट समूह ः मालाथीन, फोरेट, क्विनालफोस, फेनिट्रोथिएन आदि
कार्बामेट्स समूह ः कार्बोफुरान, एमिनोकार्ब, मेथियोकार्ब आदि
सिन्थेटिक पाईराथ्राईड्स समूह ः एलेथ्रिन, साईपरमेथ्रिन, परमेथ्रिन
जैविक विषादी समूह ः यसमा निम र अन्य वनस्पतीबाट बनेको विषादी, ढुसी, वा ब्याक्टेरिया वा नेमाटोड वा भाईरसबाट बनेका विषादीहरु रहेको पर्सा ज्ञान केन्द्रले जनाएको छ ।
पर्सामा सबैभन्दा बढी साईपरमेथ्रिन नामक किरा मार्ने विषादी बढी प्रयोग हुन्छ । आवश्यकता अनुसार क्लोरोफाईपस, इमानेक्टोन, पात खाने किराका लागि बेन्जोट, माटोमा छर्ने फिप्रोनिकल विषादी वीरगञ्जका बीज भन्डारमा पाइन्छ । न्यु जय किसान एग्रो सप्लायर्सका सञ्चालक रौनक तुल्स्यान कडा खालका विषादी नेपालमा मात्रै नभएर भारतमा समेत प्रतिबन्धित छ । किसानको समस्या समाधानका लागि उपयुक्त विषादी दिने गरिएको बताउँछन् ।
‘कतिपय किसान समस्या बताउनु हुन्छ, कतिपयले त नमुना विरुवा वा पात नै बोकेर आउनुहुन्छ, कतिले त सिधै विषादीको नाम भन्नुहुन्छ ।’ उनले भने । किसानको आवश्यकता नै हाम्रो प्राथमिकता हो, बालि अनुसार मौसम अनुसार समस्या हुन्छ, मागेको बेला उचित सल्लाह दिन्छौं ।’ उनले बताए ।
वीरगञ्जकै कृषक बिज भण्डारका कर्मचारी विनय कुमार ठाकुरका अनुसार किसानले कारवान्डाजाईम, म्याङगोजक, क्लोरोपाईनिपल्स, साईपरमेट्रिन, परफोनोक्स, ओराजा, फेन, लामजा साईक्रोमेक्जिन, आदी नामक विषादी प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
धानबालीमा लाग्ने रोगमा ओसिन टोकेन बढी प्रयोग भईरहेको छ । बालीनालीमा लाग्ने विभिन्न किसिमका रोग, किटाणुहरु मर्नुका साथै मानिसको स्वास्थ्यमा पनि हानी पु¥याउँदैन तर तरकारी बालीमा यसको प्रयोग गरि एक÷दुई दिनमै तरकारी सेवन गरियो भने विभिन्न रोग लागी स्वास्थ्यमा हानी पु¥याउँछ । त्यसमा यो औषधी छर्किसकेपछि कम्तिमा १ हप्तापछि मात्रै त्यो बस्तु उपभोग गर्दा स्वास्थ लाभदायक हुन्छ । यसमा माटो भित्र लाग्ने किरा, जरामा लाग्ने किरा र पातमा लाग्ने किरा हेरी कृषकलाई विषादी दिने गर्दछौ ।
विषादीको खपत नेपालमा ०.१४२ ई.आई.के.जी. पर हेक्टर छ । नेदरल्याण्ड, भारत लगायत देशको तुलनामा यो निकै कम हो । नेदरल्याण्डमा ९.४ र भारतमा ०.३८ ई.आई.के.जी. पर हेक्टर प्रयोग हुने गरेको तथ्याँक पाइएको छ ।
स्रोत ः कृषि ज्ञान केन्द्र पर्सा
विषादीले पारेको असर
विषादीले हावा, माटो पानीलाई प्रदुषित बनाउँछ । नेपालमा विषादीले पारेको असरका बारेमा अध्ययन भईरहे पनि पर्सामा विषादीले पारेको असरका बारेमा कुनै पनि अध्ययन भएको छैन । तर अध्ययन हुने हो भने डरलाग्दो अवस्था देखिने विषादी इन्सपेक्टर दर्जीले बताए । ‘किनकी यहाँका किसान कृषि कार्यालयमा भन्दा बढी विषादी पसलमा जान्छन् । उनीहरु रोगकिराको पहिचान नै नगरी विषादी दिन्छन् । किनकी उनीहरुलाई बेच्नसँग सरोकार हुन्छ । जुन हेर्दा सामान्य तर एकदमै खतरनाक काम हो । हचुवाको भरमा विषादी दिएर हुँदैन’ उनले भने
उत्पादन लागत पनि बढ्यो
बहुदरमाई–१ विश्रामपुर की मुगली देवी बर्षेनी ५ कठ्ठासम्म तरकारी बाली लगाउँछिन् । विषादी नछर्किदा उत्पादनमा कमी आउने र लगानी समेत नउठ्ने भएकोले आफूलाई र उपभोक्तालाई हानी हुन्छ भन्ने जानकारी हुँदाहुँदै बाध्य भएर विषादी छर्केको मुगली बताउँछिन् । ‘विषादी प्रयोग रहर होईन बाध्यता हो ।’ उनले भनिन् ।
छिटो बढी आम्दनी लिने सोचले कतिपयले अनावश्यक रुपमा बिषादी छर्किेने गरेको पनि पाईन्छ । ‘विषादी प्रयोग गरेका अन्न तरकारी खाएकै कारण ६०÷६५ बर्षकै उमेरमा मानिस बुढो हुने गरेको सरहरुले तालिममा भन्नुहुन्थ्यो । तर गर्ने के ? बिषादी नछर्कि तरकारी बाली वा खाद्य बालीमा लाग्ने रोगकिरा नियन्त्रणमा आउँदैन ।’ मुगलीले थपिन् ।
वीरगञ्ज महानगरपालिका, ड्राईपोर्टका गोपी राउत कुर्मीले तरकारी खेती गर्न लागेको २० वर्ष भयो । सुरुमा २ कठ्ठा जमिन भाडामा लिएर खेती गर्थे । अहिले मौसम अनुसार १० कठ्ठासम्म तरकारी खेती गर्ने गरेका छन् । अहिले जग्गाको भाडा घटेको छ । तर खेतीमा मेहनत र लगानी बढेको छ । लगानी बढ्नुको मुख्य कारण मध्ये विषादी पनि हो उनले बताए ।
उनले तरकारी खेती शुरु गर्दा विषादीमा खासै लगानी गर्नु पर्दैनथ्यो । प्राङ्गारिक मल हालेर खेती हुन्थ्यो । तर अहिले विषादी नहाली तरकारी खेती हुँदैन । ‘तरकारी बालीमा किराको प्रकोप बढी छ । एकै दिनमा ३ पटकसम्म विषादी छर्किएको छु । फल, पत्ता जताततै किरा लाग्छ,’ उनले भने । विषादी छर्कनु पर्दा तरकारीको उत्पादन लागत बढेको छ । ‘पाँच टंकीमा लगभग ७ सय रुपैयाँ जतिको औषधी लाग्छ । किरा मार्ने कोराजिन, ५०५, गोलमाल, भूसी जस्ता विषालु औषधी पनि तरकारी बालीमा छर्किने गर्छौ,’ कुर्मीले भने ।
उपभोक्ताको स्वास्थ्यमा असर
बहुदरमाई नपा–१ बिश्रामपुर कै किसान किशोरी रामका अनुसार जसरी भए पनि मुनाफा कमाउने सोच हावी हुँदा अन्दाधुन्ध तरिकाले खेतमा विषादी प्रयोग भईरहेको छ । ‘ कतिपय किसानले अघिल्लो दिन विषादी हालेर त्यसको भोली पल्ट नै बिक्रि गरिदिन्छन् ।’ उनले भने ‘कृषि सेवामुलक व्यवसाय हो, बढी नाफा कमाउने सोच राखेर जथाभावी विषादी राखेर उत्पादन गर्दा मानव स्वास्थ्यलाई हानी त गर्छ ।’ तर के गर्नु ‘तरकारी वा खाद्य बस्तुबाटै विष सेवन भइरहेको छ ’ मुगली देवीले बताइन् । कतिपय किसानले आफ्नो परिवारका लागि र व्यापार व्यवसायका लागि छुट्टाछुट्टै बाली समेत लगाउने गरेको उनको दावी छ । त्यसरी आफ्नो परिवारका लागि भनी उत्पादन गरिएको तरकारीमा प्राङगारिक मल हाल्ने र विषादीको प्रयोग कम गरिन्छ ।
कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्राविधिक जंगबहादुर प्रसादका अनुसार विषादी लामो समयसम्म बाली र माटोमा रहिरहन्छ । खाद्यान्न र तरकारी बाली हुँदै मानिसको शरीरमा पस्छ । मानिसलाई असर पार्छ । यसले गर्दा छालामा अनेक किसिमको दाद आउने, चिलाउने हुनसक्छ । खानामा अनावश्यक रासायनिक विषादीको अवशेष हुने हुँदा स्वास्थ्यमा विभिन्न दीर्घ रोगको समस्या हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
मित्रजीव मर्दा शत्रुजीव बढ्छ
खेतीमा शत्रुजीव र मित्रजीवको पहिचान आवश्यक हुन्छ । शत्रुजीव साकाहारी हो र मित्रजीव भनेको मांशहारी हो । साकाहारी जीवले बालि बिरुवालाई नष्ट गर्ने गर्छ र मांशाहारीले जीव शत्रु किरालाई खाएर बाँच्ने गर्दछ । वैज्ञानिक अध्ययन अनुसार ९० प्रतिशत मित्र किरा हुन्छन् भने १० प्रतिशत मात्रै शत्रु किरा छ । किसानले जति धेरै विषादी प्रयोग गर्दै जान्छन्, उति कै मात्रामा शत्रु किराको प्रकोप बढ्दै जान्छ ।
विषादी इन्सपेक्टर दर्जी भन्छन् ‘विषादी प्रयोगले नै अहिले रोग किराको प्रकोप बढी देखिएको हो । किनकी विषादीले शत्रु मात्रै हैन मित्रजीवलाई पनि मारिदिन्छ ।’
मान्छेको गलत सल्लाह
वीरगञ्ज महानगरपालिका २५ श्रीसियाकी सोना देवीका श्रीमान श्रीमती १५ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्छन् । तरकारीमा विभिन्न किसिमका रोग किराहरु लाग्छन् । उनीहरु समय समयमा विषादीहरु छर्किरहन्छन् । रोग किरा लागेपछि मात्रै हैन लाग्दै नलागोस् भनेर समेत उनीहरुले विषादी छर्कने गरेका छन् । ‘विषादीबारे हामीलाई कुनै जानकारी हुँदैन, अरुको देखासिखीमा नै छर्कदै आएका छौं ।’ उनीहरुले भने । ‘सबैभन्दा बढी प्रयोग गर्ने विषादी ५ सय ५ हो । जसले बाली खाने किराहरु मार्ने गर्दछ ।’ पर्सामा एग्रोभेट सञ्चालकसंग सम्पर्क गरेर उनीहरुले दिएको विषादी र मात्राको हिसाबले प्रयोग हुँदै आएको छ । स्थानीय तह र ज्ञान केन्द्रमा भएका कृषि प्राविधिकहरुसँग प्रेस्टिसाइटको प्रयोगबारे कमै किसानले सल्लाह लिने गरेको सरकारी कृषि प्राविधिकको भनाई छ ।
कतिपय किसानले छिटो उत्पादन हुँदा बढि आम्दानी लिन सकिन्छ भने सोचले पनि आवश्यकता भन्दा बढि विषादी छर्कन्छन््, जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्छ ।’ उनीहरुले भने ‘हामीले बाली उब्जाउने, किराबाट बचाउने वा किरा लागि सकेपछि कति र कसरी विषादी छर्ने भनेर बुझाउँछौं । तर कतिपय किसानले त्यसरी गर्दैनन्, त्यति मात्रै हैन, साँझ विषादी हालेर बिहान बिक्रि गरिदिन्छन् । कुनैपनि बाली विषादी छर्केको ७ दिन पछि मात्रै उपभोग गर्नुपर्छ ।’ हरियो, निलो, पहेँलो र रातो लेभल लगाईएका विषादी बजारमा पाइन्छ । जसले कुन विषादी कति हानिकारक छ भन्ने बताउँछ । तर हरियो लेभल लागेको विषादी प्रयोग गर्नुपर्ने ठाउँमा किसानले छिटो किरा मार्ने सोचेर रातो लेभल लागेको विषादी छरिदिन्छन् । कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्राविधिक जंग बहादुर प्रसाद पनि सही तरिकाले विषादीको प्रयोग नहुने तर्क गर्छन् । ‘कुन बालीमा कुन खालको समस्या छ, त्यो समस्याका समाधानका लागि कुन विषादी चाहिन्छ, कसरी प्रयोग गर्ने, लामो समय असर पार्छ कि छोटो समय ? ’ उनले भने ‘ हरेक कुरा मिल्नुपर्छ, नत्र गडबढ हुन्छ’ उनले थपे ।
पर्सा जिल्ला १ हजार ३ सय ५३ वर्ग किलोमिटरमा फैलिएको छ । ५७ हजार ७८ हेक्टर खेतियोग्य जमिन मध्ये ४८ हजार ८ सय ९८ दशमलब ७ हेक्टरमा खेती हुँदै आएको छ । धान, गहुँ, तरकारी, सुर्ती, उखु, दलहन, तेलहन र फलफूल मुख्य बाली अन्र्तगत पर्दछन् । शत्रुजीवहरुले बालीनालीमा करिब ३५ प्रतिशत नोक्सानी पु¥याउँदै आएको कृषि ज्ञान केन्द्रको अनुमान छ । त्यसको नोक्सानी कम गर्नका लागि अत्याधिक मात्रामा रासायनिक विषादीहरुको प्रयोग भईरहेको छ । र त्यसले वायु, जल तथा भूमि प्रदुषण हुन गई सामाजिक, साँस्कृतिक तथा अन्य क्षेत्रमा समेत नकारात्मक असर देखापरिरहेको छ । कृषि विकासका लागि हाल उपलब्ध प्रविधिहरु पनि मूलतः रासायनिक पदार्थहरुमा आधारित खेतीलाई प्रोत्साहित गर्ने खालका छन् प्राविधिकहरुले भने ।
समाधानका उपाय
विषादी प्रयोगबारे राम्रो जानकारी राखेर मात्रै तरकारी वा अन्य खाद्य बालीमा बिषादी छर्दा मानव स्वास्थ्यमा कम असर पार्ने र उत्पादनमा समेत वृद्धि हुने कृषि प्राविधिकहरु बताउँछन् । तरकारी खेती वा अन्न बालीका लागि आवश्यक विषादी पर्साका किसानले आफ्नो पायक अनुसार वीरगञ्ज वा भारतको रक्सौल बजारबाट ल्याउने गरेका छन् । कतिपय किसान त औषधी छर्ने मात्रा र तरिका बारे अनविज्ञ हुन्छन् । त्यसका लागि आवश्यक तालिम नपाएको किसानको गुनासो छ । बहुदरमाई नगरपालिका–९ का आसमान प्रसाद कुशवाहा मानव स्वास्थ्यमा कम नोक्सानी हुने गरी विषादी प्रयोगबारे तालिम हुनुपर्ने तर्क गर्छन् ।
‘विषादी प्रयोग नगरे लगानी नै डुब्छ, अनि गर्ने के ? ’ उनले भने ‘तरकारीमा लाग्ने रोगकिरा नष्ट गर्न विषादीको विकल्प दिनुपर्छ । हैन भने कुन विषादी कति र कुन मात्रामा प्रयोग गर्ने भन्ने बारे तालिम नदिई हुँदैन’ उनले बताए ।
जिल्ला बाहिर पनि उही अवस्था
पर्सा मात्रै नभएर प्रदेश नं २ नै कृषिमा आधारित प्रदेश हो । मुलुक समृद्ध हुने र बेरोजगारी अन्त्य गर्न सक्ने प्रमुख क्षेत्र कृषि । तीनै तहका सरकार प्रमुख र विज्ञहरुले पनि यस्ता कुरा गर्ने गरेको किसानले सुनेका छन् । तर यो कुरा नारामा मात्रै सिमित छ । आफ्नो रगत पसिना बगाई ऋणधन गरेर खेती गर्ने किसानको बाली खेतमै कुहिएर नष्ट हुँदा समेत सरकारले वेवास्ता गरेको तितो अनुभव किसानहरुसँग छ । वीरगञ्ज–१७ अलौका खोभारी साह तुरहा विषादी रहित खेतीका लागि सबै सरोकारवाला जुट्नु पर्ने बताउँछन् । ‘सरकारले नै विषादीयुक्त तरकारी उत्पादन गर्न बाध्य बनाएको छ । जुन हामी सबैले उपभोग गरिरहेका छौं । हामीलाई बिषादी छर्ने रहर होइन बाध्यता छ ।’ उनले भने ‘ ‘रोग किराले बालीमा क्षति पु¥याउँदा क्षतिपूर्ति दिने व्यवस्था सहित सरकारी तर्फबाट विषादी प्रयोग निरुत्साहनका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ ।
बालीनालीमा विषादी प्रयोगका सन्दर्भमा बिज भण्डार सञ्चालकहरुको मुख्य भूमिका देखिदै आएको छ । कृषक बिज भण्डार वीरगञ्जका कर्मचारी बिनय कुमार किसानले समस्या बताएपछि वा समस्या आउनै नदिने उपायको बारेमा सोधेपछि मात्रै सोही अनुसार आवश्यक औषधी वा विषादी दिने गरेको बताउँछन् । विषादी दिने मात्रै होइन । त्यसको उचित प्रयोग गर्ने तरिकाको बारेमा सिकाएर समेत पठाईन्छ । तर कमै किसानले मात्रै सिकाए अनुसार प्रयोग गरेको उनको अनुभव छ । विषादी इन्सपेक्टर दर्जीका अनुसार विषादी माग्नु वा सिफारिस गर्नु अघि निम्न केहि कुरामा विशेष ध्यान दिनुपर्ने बताउँछन् ।
१. चपाउने किरा हो कि चुस्ने किरा ? रोग लागेको छ भने त्यो ढुसीबाट हुने रोग हो कि किटाणुबाट लाग्ने वा भाइरसको कारण लाग्ने ? कि फाइटोप्लाज्माबाट लाग्ने रोग कि, त्यो थाहा पाउनु पर्छ अनि मात्रै विषादीको मात्रा भन्नुपर्छ ।
२. समस्या वा रोगकिराको बारेमा राम्ररी बुझेर, स्थलगत अध्ययन गरेर विषादी सिफारिस गर्दा कम प्रयोग गर्दा पनि पुग्ने हुन्छ ।
३. अर्को विषादी प्रयोगको मात्रामा विशेष ध्यान दिनुपर्र्छ । ‘१ मिलि लिटर÷प्रति लिटर पानीमा मिसाउनभन्दा किसान ५ मिलि लिटर÷प्रतिलिटर मिसाई दिन्छन् ।
४. विषादी छर्केपछि त्यसको प्रतिक्षा अवधी हुन्छ । कति दिनसम्म त्यो बाली नखाने त्यो किसानलाई थाहा हुनुपर्छ । तरकारी बजारमा ल्याएर राम्रो देखाउन चाँडो चाँडो विषादी हालिरहन्छ । जुन गलत कार्य हो ।
विषादी इन्सपेक्टर दर्जी एकैचोटी रासायनिक विषादी छाडिदिँदा पनि उत्पादनमा असर पार्ने बताउँछन् । ‘रासायनिक विषादी कम गर्दै जैविक विषादीको प्रयोग बढाउनुपर्छ, जैविक विषादी किसानले घरमा पनि तयार गर्न सक्छन् ।’ उनले भने ‘एकैपटक रासायनिक विषादी बन्द गर्दा उत्पादनमा नकारात्मक असर पर्न सक्छ । त्यसैले जैविक विषादीको प्रयोगलाई बढावा दिदै जादाँ हामी विषादीको चंगुलबाट बच्न सक्छौ ।’ कृषि ज्ञान केन्द्रका तत्कालिन प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामचन्द्र यादवको धारणा फरक छ । उनी विषादी प्रयोगको अवस्था आत्तिनुपर्ने खालको नरहेको बताउँछन् ।
‘मानव जीवनमा धेरै असर ल्याउने गरी प्रयोग भईसकेको छैन । किनकी विषादीको बढि प्रयोग भयो भने तुरुन्तै असर देखाउँछ । बिरुवा मर्छ ।’ उनले भने ‘तैपनि स्थिति बिग्रन किसान, एग्रोभेट सञ्चालक, स्थानीय सरकार र हामी जिम्मेवार हुनैपर्छ’ उनले भने । एकीकृत विषादी व्यवस्थापन अवधारणा अवलम्बन गर्न कृषक पाठशाला स्थापना गर्ने, जैविक विषादी उत्पादनलाई बढवा दिने, कमै विषादी मात्रै दर्ता गरेर प्रयोगमा ल्याउने, अर्गानिक खेतीमा जोड दिएर मानव स्वास्थ्यमा हानी पु¥याउने विषादी प्रयोगलाई घटाउँदै लैजानुपर्ने उनले बताए । प्रकृतिले प्रदान गरेको अमूल्य सम्पत्तिको उपयोग एकदमै सावधानीपूर्वक गर्नुपर्ने बेला आईसकेको कृषि प्राविधिक जंगबहादुर बताउँछन् । क्षणिक मानवीय स्वार्थ र असावधानीका कारण वातावरण प्रदुषणबाट डरलाग्दो परिणाम आउन सक्ने उनको तर्क छ ।