सरकारले काेभिड नियन्त्रणका लागि जिम्मेवारी सुम्पेकाे नेशनल मेडिकल कलेजका सञ्चालक तथा बाबा अस्थायी काेभिड अस्पतालका सञ्चालक बसरूदिन अंसारीलाई समाजिक सञ्जालमा गाली गर्ने एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका चिनिमेल पिपरा निवासी २५ वर्षिय अरमान पटेल रहेका छन् । सार्वजनिक अपराध र सजाय ऐन, गाली र बेइज्जती ऐन तथा साईबर क्राईम ऐन अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार नेशनल मेडिकल कलेजका सञ्चालक बसरूदिन अंसारीले मुद्दा दर्ता गराएका थिए ।
साेहि अधारमा पटेललाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पछिल्लो समय कुनै घटना सन्दर्भलाई लिएर फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी मानमर्दन तथा गाली बेईज्जति गर्ने क्रम चलेको देखिन्छ ।
महामारी नियन्त्रण फ्रन्टलाईनकाे खटेका चिकित्सक, प्रहरी र पत्रकारलाई समेत गाली बेइज्जती गर्ने क्रम बढेको छ । जेठ १० गते कमेडियन अादर्श मिश्राकाे बुवा विनोद मिश्राकाे मृत्यु भएको विषयलाई लिएर फ्रन्टलाइनमा खटेका नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहलाई समेत समाजिक सञ्जाल मार्फत निरन्तर गाली बेइज्जती गर्नेकाम भएको छ । उनी र उनका श्रीमतीको समाजिक सञ्जालमा गरिएको पाेस्टकाे विषयमा गएर समेत होच्याउने, हतोत्साही गर्ने, हप्काउने, धम्क्याउने गाली बेइज्जती गर्ने गरेको छ ।
फ्रन्ट लाइनमा खटेका चिकित्सक निरज सिंहले बाध्य भएर अाफ्नाे र श्रीमतीको फेसबुक डिएक्टिभेट गरेका छन् ।
यसैगरी काेराेना संक्रमितको उपचार गरिरहेका वीरगंज हेल्थ केयरका सञ्चालक डाक्टर अबुलहैस अंसारी र प्रभु हस्पिटलका सञ्चालक डा. लक्ष्मी थापा विरूद्ध समेत फेसबुकमा गाली बेइज्जती केहि प्रयोगकर्ताले गरेका छन् । जबकि सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने र धम्क्याउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख रुपैयाँ जरिवाना वा दुबै सजायको प्रावधान रहेको छ ।
मुलुकी अपराध सम्हिता २०७४ एेनकाे परिछेद २ काे अन्तर्गत फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी मानमर्दन तथा पेशाको खिल्ली उडाउने गरी लेख्ने विरूद्ध प्रहरीमा उजुरी दिए कार्वाही हुने प्रावधान रहेको छ ।