ब्ल्याक फंगस भनिने म्युकरमाइकोसिसबाट नेपालमा हाल १० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
माटो, धारा, फोहोरको थुप्रो, करेसाबारी जताततै पाइने म्युकर नामक कालो ढुसीका कारण हुने यो संक्रमण कोरोनाभाइरसका विरामीमा बढी देखिएको छ । शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएका बेला यसले छिटो आक्रमण गर्ने चिकित्सकहरूले बताएका छन् ।
म्युकरमाइकोसिसको संक्रमण हुँदा विशेषतः नाक बन्द हुन्छ । पहेँलो पिपजस्तो वा रगत मिसिएको सिगान वा खकार आउँछ । आँखाको नानी दुख्ने, आँखा वा अनुहारको एक पाटो सुन्निने, अनुहारको छालामा छोएको थाहा नहुने वा कम थाहा हुने हुन्छ ।
त्यस्तै, आँखा वरपर वा नाकको छालाको रङ रातो, निलो वा कालोजस्तो देखिन्छ। यसले विशेष गरी नाक, आँखा, टाउको र आन्द्रामा संक्रमण गर्छ।
म्युकरमाइकोसिसबारे चेतना भएन र रोग गम्भिर अवस्थामा पुगेपछि मात्रै चाल पाइयो भने ठूलै अप्ठ्यारो आइपर्न सक्ने डाक्टरहरू बताउँछन् । शल्यक्रियामार्फत् त्यसले खाएका सबै भाग निकालेर फाल्नुपर्ने हुनसक्छ, आँखै निकाल्नुपर्ने हुनसक्छ ।
कोभिडले समेत शरिरको प्रतिरक्षा प्रणलिमा आक्रमण गर्ने हुदाँ सतर्क हुन जरुरी छ ।
- हिमालखबरबाट सभार गरिएको