दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विपन्नको काम र माम दुवै खोसिएको छ । काम खोसिएपछि माम खोसिएका विपन्नको जीवन परोपकारी व्यक्ति र संघसंस्थाहरुले बचाइरहेका छन् । निषेधाज्ञामा आममानिसको आवतजावत समेत ठप्प हुँदा उनीहरुको सहारा परोपकारी व्यक्ति र संघ संस्था मात्र बनेका हुन् ।
सडकका पेटी र गल्ली कुनाकानीमा भेटिएका विपन्नको अनुहार उदास छ । भोक र प्यासले थकित हुनेहरुमा वृद्ध, महिला र युवा सरोबरी छन् । विपन्न र खान नपाएका व्यक्तिहरु बसपार्क, नारायणी अस्पताल अगाडी र विभिन्न हस्पिटल छेउछाउमा अलि बढि भेटिएका छन् । घरद्वार नभएका व्यक्तिहरु सडक पेटी र भूईंमा नै भेटिने गरेका छन् । सुरु सुरुमा सहयोगी हातहरु नहुँदा सकसमा जीवन विताइरहेका उनीहरुलाई पछिल्ला दिनमा भने केही राहत भएको छ । विभिन्न संस्थाहरुको सक्रियतामा निःशुल्क खाना खुवाउने अभियान संचालन हुन थालेपछि भने अभियानका मानिसहरु आउने समय कुरेर उनीहरु खानाको प्रतिक्षा गरिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड बमोजिम निषेधाज्ञामा खाना पाउन मुस्किल परेका परिवारलाई समेत सहयोगी संघ संघठनले खाना उपलब्ध गराउने गरेको ती संस्थाले जनाएको छन् । उनीहरुले विपन्न तथा खाना नपाएकालाई दिनमा दुई पटक खाना खुवाइरहेको अभियानका संयोजकहरुले बताए । निषेधाज्ञाका कारण काम विहीन भएपछि भोकभोकै परेका सर्वसाधारणमा प्रायः बिरामी कुरुवा, रिक्सा चालक, ज्याला मजदुरी गर्ने मजदुरहरु बढि भएको उनीहरुले बताए । सहयोगी संघ संस्थाहरुले दैनिक १ हजार ५ सयभन्दा बढीलाई खाना खुवाइरहेको दावी गरेका छन् ।
वीरगन्जमा सुरुदेखि नै विपन्न तथा असहायहरुलाई खानाको व्यवस्था गरिरहेको साहेब दरवार सेवा वीरगंजले बिहानको घामको लाली बढ्दै गएसँगै कागजको प्लेटमा प्याकिङ्ग सुरु गरिहाल्छ । समयमा तयारी नगर्ने हो भने खानाको प्रतीक्षामा बसेका सुनिल जस्ता विपन्नहरुको सहारा खोसिन्छ । त्यसैले वीरगंजमा भगवानका फोटोहरु बेचेर गुजारा चलाउने वीरगंजको छप्कैयाका सुनिलहरु जस्ता सहयोगापेक्षीहरु विलखबन्दमा पर्छन् । त्यसैले ४३ वर्षीय सुनिल जस्ता धेरैलाई लाग्ने गरेको छ ‘भाइरस–भाइरस होइन हामी चाही खान नपाएर मर्ने भयौं ।’ निशेधाज्ञामा गरिखान र खान नपाएका सुनिलहरु जस्ता अधिकांशको भनाइ उस्तै छ । संक्रमणबाट बच्न प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा दिनभर काम गरेर साँझको छाक टार्ने हामीहरु जस्ता वर्गहरू भोकै पर्न थालेका थियौं । प्रशासनको भय छल्दै धन्न भोकै हुनेहरू निःशुल्क खाना वितरण हुने ठाउँसम्म धाउन बाध्य छौं उनीहरुले तर्क गरे । खानाको पर्खाइमा रहेका शिवरामले निधार खुम्च्याउँदै भने, ‘भोकबाट बाँचे पो रोगको डर, भोकैले मरे केको रोग ?’
अघिल्लो लकडाउन सकिएपछि शिवरामले केही दिन काम पाएका थिए । तर निषेधाज्ञापछि उनले काम पाउनै छाडे । काम नभएपछि कमाइ रोकियो अनि सडकमै आइपुगेको उनको तर्क छ । पत्नी र एक सन्तानलाई बसपार्क नजिकैको डेरामा छोडेर शिवराम बिहानै निस्कन्छन् । बिहानको खाना बसपार्क तिर निःशुल्क विरतण गरिने ठाउँमा पुगेर ल्याउछन् । अनि डेरा फर्केर केही बेर सुस्ताएपछि खाना लिन पुन बसपार्कमै आउँछन् । एउटा समूहले दिने खान लिएर त्यही बसेर खान्छन् र पुन अर्को समूहले बाँड्ने खाना लिएर उनले घरमा लगेर दिन्छन् । म यही बसेर खान्छु मैले खाना खाइसकुन्जेल अर्को समूह पनि आइपुग्छ । त्यो लिएर डेरामा जान्छु उनले विस्तारमा बताए । ‘मैले घरमा लगेको खान परेन भनी जहान छोराछोरीले अलि धेरै खान पाउँछन् । म त हिँड्न सक्छु, त्यसैले बिहानै निस्कन्छु ।’ अर्थात् निषेधाज्ञा भए पनि भोककै कारण बिहानदेखि साँझसम्मै निःशुल्क खान पाइने आसमा वीरगंजका विभिन्न ठाउँ चाहार्नु पर्छ उनले तर्क गरे ।
सहयोगी हातहरुका अनुसार शिवराम जस्तै प्याकेटको खाना पाए घरका सदस्यको पनि भोक मेट्न सकिन्छ भनेर खाना खोज्दै दिन भर वीरगंजका अनेक ठाउँ चहार्नेहरूको संख्या बढ्दै जान थालेको छ । शिवरामको छेवैमा बसेर खाना खाइरहेका सेताम्मे दाह्री भएका अर्का वृद्धको भने व्यथा शिवरामकोे भन्दा पृथक छ ।
उनले ‘कहाँ बस्नुहुन्छ ?’ भन्दा केही समय बोलेनन् र भने, ‘जहाँ पुग्दा निद्रा लाग्छ, त्यहीं बस्छु ।’ अर्थात् उनको घर भन्नु नै सडक नै रहेछ । जहाँ पुग्दा निद्रा लाग्दो रहेछ त्यहि सडकमै सुत्दा रहेछन् । उनी अपाङ्ग पनि हुन् । ह्वीलचियरको सहायताले एक ठाउँबाट अर्को ठाउँमा आउँजाउ गर्ने उनी निशेधाज्ञा पूर्व बजारमा मागेर आफ्नो गुजारा चलाइरहेका रहेछन् । निशेधाज्ञाले मागेर पेट भर्ने बाटो समेत बन्द गरिदियो उनले तर्क गरे । उमेरले ६० कटेका उनी अहिले निशुल्क वितरण गरिएको खानाको भरमा नै दिन काटिरहेका छन् ।
निशेधाज्ञामा निःशुल्क खाना खुवाउन थालेका साहेव दरबार सेवा, रेल्वे कटेज, ‘हन्ड्रेड ग्रुप्स, इम्प्रुभिङ्ग वीरगंज, सानो पाइला, लगायतको अभियान निरन्तर छ । निःशुल्क खाना वितरण गर्ने समूह मध्यकै साहेब दरबार सेवाका संरक्षक राजेशमान सिंहले भने, ‘सुरु–सुरुमा सडकमा आश्रितहरूलाई खाना खुवाएका थियौ । हिजोआज त डेरा भएर पनि खाना खानै नसक्नेहरूको संख्या पनि बढ्न थालेको छ’ । साहेब दरबार सेवा र सामुदायिक साझेदारी संस्थाले दैनिक औसतमा ६ सय प्याकेट खाना बाँड्ने गरेको छ । निशेधाज्ञाको सुरुवाती दिनदेखि वीरगंजका अस्पताल एरिया, भन्सार एरिया, बसपार्क लगायतका विभिन्न ठाउँमा खाना बाँडिरहेको सिंहले बताए । बिहान र बेलुका संस्थाका सदस्यहरु नै पालैपालो खटिएर खाना बनाउने र आफ्नै साधनमा खाना लिएर भोकाहरू खोज्दै हिँड्ने गरेको उनको भनाइ छ । ‘कसैको पेट भोको नहोस् भनेर सकेसम्म खाना खान नपाउने मानिस खोजेर हिड्ने र खाना दिने गरेका छौ’ साहेव दरबार सेवाका संरक्षक सिंहले भने ।
पछिल्ला दिनमा निःशुल्क खाना बाँड्ने धेरै समूह सक्रिय रहेको भए पनि आपसी सहकार्य नहुँदा कसैले दोहोराएर पाउँने त कसैले पाउँदै नपाउने अवस्था पनि देखिन थालेको छ । खाना खुवाउने ‘हन्ड्रेड ग्रुप समूह’ का सदस्य विशेष साहले लकडाउन लगत्तै समूहले पनि निःशुल्क खाना खुवाउन थालेको दावी गरे । ‘२०७८ बैशाख २८ गतेदेखि समूहका अन्य स्वयंसेवकहरू तीन वटा मोटरसाइकलमा खाना बोकेर भोका मानिस खोज्दै खाना दिने गर्न थालेको उनले बताए । जहाँ भोको मान्छे देख्यो, त्यहीं खुवाउँछौं उनले भने । समूहले स्थानीय संस्थाहरु र युवाहरुको सहयोगमा खानाको साथसाथै फेसमास्क पनि वितरण गर्दै आएको जनाएको छ । साहका अनुसार दैनिक दुई सयदेखि दुई सय पचाससम्मले खाना खाइरहेका छन् । त्यसरी खाना खाने मध्ये सवारी साधनका सहचालक, रिक्सावाला, ज्यामी काम गर्ने श्रमिक र अपाङ्गगता भएका व्यक्तिहरूसम्म रहेको सहयोगी संस्थाहरुले बताए । खानामा दाल, भात, तरकारी खुवाउने गरेको उनीहरुको भनाइ छ ।
‘भारी बोकेर खान्छुभन्दा पनि पाइएन’ खानाको प्याकेट हातमा बोकेका ५२ वर्षीया अलाउदिन मियाँले भने । ‘यसरी अरूले दिएको खानु प¥यो ’ एक दशकयता वीरगंजमै रिक्सा चलाउने काम गर्दै आएका उनले अनि नराम्रो मान्दै भने । अरू बेला पसिना बगाएर जसोतसो पेट भरे पनि कोरोनाको निशेधाकाका समयमा रिक्सा र यात्रीसंगको नाता टुटेकाले भोको पेट पाल्न हात थापेर खान परेको छ उनले तर्क गरे । लकडाउनको सुरुवाती दिनमा जस्तो स्थानीय तहले चामल सहितको खाद्यान्न सहायता नबाँड्दा र निषेधाज्ञाको समयावधि बढेसँगै विभिन्न व्यक्ति र सामाजिक संघ संस्थाले बाँड्ने निःशुल्क खाना खान आउनेहरूको भीड महानगरामा बढ्दै गएको छ । पहिलो चरणको कोरोना महामारीमा सानो पाइलाले दैनिकको जोड्ने हो भने कुल १ लाख ५ हजार ५ सय ४६ जना जतिलाई खाना खुवाउएको र आइसोलेसन निर्माण गरेर संक्रमितहरुलाई निःशुल्क रुपमा आइसोलेसन प्रदान गरेको जनाएको छ । सानो पाइलाले दोस्रो चरणको महामारीमा वीरगंजमा प्रत्येक दिन संक्रमित मृत्यु हुदै गएपछि संक्रमितको सबै परिवार नै खाना पकाउन र निषेधाज्ञामा बिरामीका लागि खाना मगाउन नसक्ने भएपछ यो अभियान सुरु गरिएको संस्थाका संचालन प्रमुख जया साहले बताए । पहिलो पटक वीरगंज र प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरुमा खाना खुवाउने र काठमाडौंमा समेत खाना खुवाउने योजना अगाडी बढाइएको उनले दावी गरे ।
निशेधाज्ञा लम्बिदै गएपछि सडकमा आश्रित मात्र नभएर नारायणी अस्पतालमा रहेको बिरामी, बिरामीका कुरुवा र दैनिक ज्यालादारीमा काम गर्ने डेरावालाहरूलाई पनि खोज्दै खाना खुवाउनु पर्ने अवस्था आएको सहयोगी संस्थाहरुले बताएका छन् । ‘काम पाए काम गथ्यौं, नपाएर सडकमा खाना खोज्दै आएको’ भन्नेहरू पनि हिजोआज बढ्न थालेका छन्
नारायणी अस्पतालमा दैनिक एक छाक खाना खुवाउँदै आएको सानो पाइलाले पछिल्ला दिनमा बाटो छेउमा खानाको आसमा बस्ने एकै परिवारका चार/पाँच सदस्यलाई समेत देख्न थालेको बताएको छ । निषेधाज्ञा लम्बिँदै जाँदा गरिखाने वर्ग साँच्चिकै मर्कामा परेको भन्दै सहयोगी संस्थाका सदस्यहरुले, ‘सडकमा देखिनेहरू त सानो संख्या मात्रै हो । महानगरमा मात्रै खान नपाउनेको संख्या हजारौं होला’ उनीहरुले भने ।
सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ सहितले लकडाउन सुरु भएयता रेल्वे कटेज नामक अभियानबाट करिब ११ हजारभन्दा धेरैलाई निःशुल्क खाना खुवाइसकेका छन् । लकडाउनको सुरुवाती दिनदेखिनै दैनिक २/३ सयलाई खाना खुवाउदै आएको रेल्वे कटेजले जनाएको छ । पछिल्लो दिनमा संक्रमण बढ्दै गएपछि सार्वजनिक रूपमा खाना खुवाउन समस्या पर्न थालेको छ । तर खानाको खोजीमा बाटो छेउछाउ आउनेहरूको संख्या बढेको सर्राफले बताए । पछिल्लो ३४ दिनयता विभिन्न संस्था तथा व्यक्तिहरुसँगको सहयोग र सहकर्यमा भोकाहरूलाई खाना खुवाउँदाको अनुभव साट्दै सर्राफले भने, ‘लकडाउन खुलेपछि ज्यालादारी काम गर्ने धेरै मान्छे वीरगंज फर्के । तर तिनीहरूले काम पाएनन । बरु उल्टै निषेधाज्ञामा बस्नु प¥यो । अहिले त्यो समूह सबैभन्दा धेरै भोकै पर्न बाध्य भएको उनले तर्क गरे ।
निःशुल्क भोजन संगसंगै नारायणी अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गनुका साथै निःशुल्क ई–रिक्सा एम्बुलेन्स सेवा समेत सञ्चालन गरी सेवा दिदै आएको छ । उक्त एम्बुुलेन्स सेवाबाट हाल सम्म १ सय ५० भन्दा बढीले लाभ लिएको अभियन्ता सर्राफले बताए ।
इम्प्रुभिङ्ग वीरगंजको समूहले पनि सानो पाईला संग सहकार्य गरेर वीरगंज स्थित नारायणी अस्पताल, घण्टाघर, बसपार्क, शंखराचार्य गेट लगायतका स्थानमा रहेका करिब १ सय ५० देखि २ सय भोकाहरुलाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको दावी गरेको छ । संस्थाका अध्यक्ष शरण गुप्ताले आफूहरू खाना लिएर अस्पताल जाँदै गर्दा बाटो छेउछाउमा खान पाइने आसमा उभिएका मान्छेहरू देख्न थालेको बताए । ‘बिस्तारै भोकै पर्नेहरूको संख्या बढ्दै जान थालेको छ ।’ उनले भने ।
निशेधाज्ञाका कारण रोजिरोटीमा समस्या भएका सहयोगापेक्षीहरुलाई विभिन्न संघ संस्थाहरुले निःशुल्क खाना वितरण गर्ने अभियान संचालन गरेकाहरुलाई महानगरपालिकाले माग अनुसारको खाद्यान्नमा सहयोग गरेको वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताए । “अघिल्लो पटकको जस्तो खाद्यान्न यस पटक वितरण गरिएको छैन । तर जति पनि संघ संस्थाहरुले निःशुल्क खाना खुवाइरहेका छन् । उहाँँहरुलाई हामीले सहयोग चाही गरिरहेका छौं । थप सहयोग चाहिएको बखत सहयोग माग गर्न आह्वान पनि गरेका छौ उनले भने । कतिलाई सहयोग गरेका पनि छौं” नगरप्रमुख सरावगीले भने । कोरोना महामारी नियन्त्रणको लागि जारी गरिएको बन्दाबन्दीले खाना अभाव भएका र सहयोगापेक्षीहरुलाई सहयोग गर्न महानगरपालिका जहिले पनि तयार रहेको मेयर सरावगीले बताए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
ाेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)