गतबर्षदेखि सल्बलाएको कोरोनाले थलापरेको होटल व्यवसाय दोस्रो लहरको कोरोना आएपछि झन डामाडोल भएको छ । यो पटक पनि बैशाख १६ गतेबाट निषेधाज्ञा जारी हुँदा सीमावर्ती शहर वीरगन्ज लगायत मुलुकभरका होटल व्यवसाय डामाडोल भएको हो ।
अरु जिल्लामा त्यहाँको स्थानीय प्रशासनले आवश्यकताका आधारमा निषेधाज्ञा जारी राख्दा कहींको पनि होटल व्यवसाय राम्रोसँग चल्न पाएको छैन । नेपाल सरकारले गएको कात्तिकबाट चाहि होटल खोल्न अनुमति दिए पनि लकडाउन पश्चात बोर्डर नखुलेको कारणले गर्दा सिमाको होटल ब्यवसायहरु चल्न नसकेको होटल तथा पर्यटन व्यवसायिक सघं, वीरगंजका अध्यक्ष हरि पन्तले बताए ।
त्यो भन्दा पहिले पनि होटल पूर्णरुपले बन्दै जस्तो थियो । त्यसपछि होटलत खुल्यो तर पनि कोरोना पूर्वको अवस्थामा फर्कन व्यवसाय सकेको थिएन । कोरोनाको बन्दमा त झन् घर भाडा तिर्नलाई पनि होटलले उल्टो आर्थिक जुटाउनु प¥यो । आफ्नो भवन बैंकबाट ऋण लिएर बनाएकाहरुले बंैकको ऋण तिरिरहेका थिए । तर खुले पश्चात झन खर्च थपिन्दा बन्द हुनुभन्दा खुल्दा झन घाटामा गयो । हामी होटल व्यवसायी एकबर्ष फेरी पछाडी धकेलिएका थियौं ।
फेरिको बन्दीले अब चाही होटल व्यवसाय धान्न सक्ने स्थिति छैन । धेरै होटल व्यवसायीहरु लकडाउन खुले पश्चात होटल तथा पर्यटन व्यवसायमा नर्फकन पनि सक्छन् अध्यक्ष पन्तले भने ।लकडाउन हुनुभन्दा अगाडी पनि होटलको अवस्था त्यति राम्रो थिएन । अलि–अलि व्यवसायको रफ्तार बढ्दै थियो । फेरि यो निषेधाज्ञाले होटल रहेको घरभाडा र कर्मचारीको तलब दिन कर्जाको सहारा लिनु परेको छ ।
कोरोनाको यो दोस्रो महामारीले होटल व्यवसायीमा सबैभन्दा ठूलो घाटा थपिएको होटल व्यवसायी संघ पर्सा महासचिव तवरेज आलमले बताए । यो अवस्थामा सरकारले पनि होटल व्यवसायीलाई सहयोग गर्नुपर्छ । यहि नै अवस्था रह्यो भने होटल संचालन गर्न सक्ने अवस्था हुँदैन । महामारीमा होटल चलाएर कुनै फाइदा छैन । अहिलेसम्म घरभाडा, विद्युत, महशुलकर जस्ता कुनै किसिमको छुट नपाएको उनको तर्क छ ।
विगत १० वर्षदेखि होटल व्यवसाय गर्दै आइरहेका होटल कुमु पैलेसका संचालक कुवेर कार्कीले पनि देशको राजनीति उतार–चढाव र कोरोनाको पटक पटकको लहरले होटल चलाउन धेरै सकस भएको बताए । अब होटलको घरभाडा र कर्मचारीको तलब दिन सक्ने अवस्था छैन । केवल कर्जाको सहारा मात्र हो उनले भने । होटल व्यवसाय नै चलाउने हो भने नेपाल सरकारले अब जिम्मा लिइदिए मात्र सम्भव छ । नत्र अब यो पेशा गरेर जीवन चलाउन गाह्रो छ उनले तर्क गरे ।
३ करोड ऋण लिएको छु । एक वर्ष अगाडी लकडाउन थियो । फेरी अलि सहज भएको थियो । अलि–अलि सुधार हुँदै गरेको होटल व्यवसाय अब घरभाडा कर्मचारीको तलब व्यवस्थापनमा फेरि ४० लाख ऋण लिन परेको होटल एभरेष्टका संचालक विद्यालाल प्रसादले पनि बताए । पहिलेको लकडाउनभन्दा पनि यो लकडाउनले बढी असर पारेको उनले दावी गरे ।
हामी सानो होटल व्यापारी ७ महिना पहिलाको लकडाउनबाट भर्खर चलायमान हुँदै थियौं फेरि थला परियो बसपार्कमा रहेको होटल ऋद्धि सिद्धि रेष्टुरेन्ट एण्ड बारका संचालक प्रोफेसर गुन्जन पटेलले बताए । होटल अलि सहज हुदैँ थियो । यो पाली झन हामीलाई कोरोनाले चपेटामा पारिदियो उनले भने । पहिलेको ऋण नतिर्दै अर्को लहरको संक्रमणले घर परिवारको खर्च, औषधी र होटलको व्यवस्थापन खर्च धान्न सकस भएको पटेलले बताए ।
विगत १८ वर्षदेखि होटल व्यवसायमा जोडिएर रहेका होटल भिस्वामा कार्यरत कर्मचारी बाबुराम न्यौपानेले पनि परिवार खर्च धान्न मुस्किल भएको बताए । परिवारको खर्च धान्ने नै होटलमा काम गरेको पैसाले हो । होटल नै चल्न छोडेपछि कति होटलका कर्मचारीले काम नै छोड्नु प¥यो ।
कोरोनाको दोस्रो लहरले होटलका श्रमिकहरुको अवस्था झन् दयनीय बनेको न्यौपानेले तर्क गरे । यो पेशामा काम गरेको १८ वर्ष हुदाँ पनि अन्य श्रमिकले जस्तो होटलका श्रमिकले सेवा सुविधा पाएका छैनन् । काम गरेको समयको वाहेक यो पेशाका कर्मचारीले अतिरिक्त सेवा सुविधा कतैबाट पाउने गाह्रो छ उनले बताए ।
लामो समयदेखि होटल चलाउदै आइरहेका अर्का शिवराज सुवेदीले पनि परिवारका चार सदस्यको विहान बेलुकाको खर्च टार्न गाह्रो हुन थालेको बताए । सरकारले लकडाउन पनि कहिले खोल्ने हो थाहा छैन । सटरको भाडा पनि बढिरहेको छ । आम्दानी छैन हामी रोगले भन्दा पनि भोकले पो मर्ने भयौं उनले भने ।