कोरोनाको संक्रमण पुनः दोहोरिएर आएपछि अरु क्षेत्र जस्तै सहकारी क्षेत्र पनि प्रभावित भएको छ । पहिलो कोरोना लहरमा प्रभावित भएको यो क्षेत्र दोस्रो लहरको संक्रमण आएपछि झन प्रभावित भएको हो ।
वित्तिय क्षेत्रको प्रमुृख खम्बा सहकारी अन्तर्गत हजारौंले रोजगारी पाएका छन् । बाहिर पैसा संकलन गर्नेदेखि अफिस व्यवस्थापन तथा संचालनमा पनि दक्ष जनशक्तिको राम्रो व्यवस्थापन भएको यो क्षेत्र विश्व प्रभावित हुँदा अछुतो नहुने जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का महासचिव जिष्नु बरालले बताए ।
सानो पूँजी संकलन गरी साना व्यवसायी र सर्वसाधारणको समेत दिनचर्यामा साथ दिएको सहकारी क्षेत्र पनि समस्या ग्रस्त छ । केही संस्थाले कर्जा लगानी क्षेत्र नपाएर बसिरहेको अवस्था पनि छ । बजेटमा पनि सहकारीको केही कुरा समेटिएको त छ ।
तर सरकारले अहिलेसम्म ऋणमा सहुलियत दिएको पनि छैन । हामीले पनि सदस्यहरुलाई ऋणमा सहुलियत दिन सकेका छैनौं । बन्दको कारण असर नपरेको भन्ने त कुरै भएन नि उनले तर्क गरे ।जिल्ला बचत सघंले एउटा सूचना निकालेको थियो । जसमा सहकारीहरु बन्द नै गर्ने अति आवश्यक भए मात्र खोलेर सामान्य काम मात्र चलाउने भनेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाकी कार्यकारी निर्देशक तस्वीरन खातुनले बताइन् ।
त्यसको आधारमा धेरै सहकारी त्यसरी नै चले पनि बजार नै बन्द भएपछि स्वभाविक रुपमा असर परेको उनको भनाइ छ । खासै बचत उठिरहेको छैन । अहिले मान्छेलाई खानलाई धौउधौउ छ । बन्द सटर भएको मान्छेलाई फोन गरेर ऋणको पैसा दिनु भन्दा यो उचित हुन्न उनले तर्क गरिन् ।
अहिलेको महामारीले एकदमै अफ्ठयारो भइरहेको श्री विन्दवासिनी माइ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनु पटेलले बताए । पसलहरु लकडाउनमा खुल्दै खुलेनन् । लगभग ४ करोड जति लगानी गरेका छौ । ८० प्रतिशत व्यपारीलाई नै गरेका छौ ।
२० प्रतिशत कृषि ऋण, भैसी ऋण, वैदेशिकऋण छ । सरकारको नियम अनुसार सबै बन्द छ । उनीहरुको आम्दानी हुदैन भने कसरी हामीलाई दैनिक किस्ता दिन्छन् र ? समस्या छ उनले भने । कोरोनाले गर्दा स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकतामा राखेको बजेटमा सुनिएको छ । हामीलाई राहतको रुपमा होस् या सुविधाको रुपमा होस् या कर छुटको रुपमा होस् सहुलियत नभएको महसुस गरिरहेका छौं उनले भने ।
कोरोनाकालमा आम्दानी छैन । कहाँबाट पैसा दिने भन्छन् कारोवारीहरु समस्या विकराल छ माँ वैष्णोदेवी बचत तथा ऋण सहकारी संस्थाका संचालक श्रीधर राज भण्डारीले पनि बताए । संस्थामा बचत गरेको मान्छेलाई संस्थाले तुरुन्तै बचत फिर्ता गर्नु पर्दछ । त्यो आउँने जाने चेन नै टुटिसक्यो ।
जुन चेन घुमिरहेको हुन्छ । त्यो ब्रेक भइरहेको छ । लगानी गरेको पैसा नउठ्ने, बचत हुन छोडेको अवस्था आउँदैछ । यसले पनि सहकारी क्षेत्र पनि प्रभावित त छ । सरकारले यो क्षेत्रलाई पनि केही सहुलियत दिए व्यवसाय गर्न अलि सहज हुने थियो उनले तर्क गरे । प्रदेश अन्र्तगत सहकारी गएपछि प्रदेश सहकारीको भूमिका पनि ठप्प छ । स्थानीय पालिकाको अण्डरमा स्थानीय सरकार अन्तर्गत र प्रदेश अन्तर्गत परेपछि सहकारीको नियमन र सेवा सुविधामा नै प्रश्न चिन्ह उठेको छ राज भण्डारीले भने ।
कोरोना महामारीले आक्रान्त भएसंगै यो क्षेत्र पनि अछुतो छैन । सहकारी पनि राष्ट्रको एक अंगको रुपमा छ । गतवर्षको लकडाउनमा कहि न कहि हामी डर त्रासमा थियौं । बन्दले सहकारीमा लिक्यूडिटीको समस्या हुन सक्छ जस्तो लाग्थ्यो तर भएन । हाम्रो मात्र संस्थाको कुरा गर्ने हो भने खासै समस्या छैन ।
तर आम रुपमा हेर्ने हो भने समस्या नहुने कुरै भएन लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि.अध्यक्ष हरेराम पटेलले भने । बन्दले गर्दा अलिकति चुनौति छ । जुन हामीले साँवा ब्याज असुली गर्नु पर्ने त्यसमा एकदमै समस्या आयो । यो महामारीको समयमा प्रत्येक व्यक्तिलाई अफठ्यारो परेको हुनाले उनीहरु कही न कही पिडित छन् उनले बताए ।
राष्ट्रकै तीनवटा खम्बा मध्ये एउटा सहकारीलाई मान्यता दिएको छ । सहकारीका विभिन्न सिड भण्डारदेखि लिएर विभिन्न कृषिका कार्यक्रम जोडिदिएका छन् । त्यसैले गर्दा पनि यो क्षेत्र प्रभावित छ नै अध्यक्ष पटेलले तर्क गरे ।