मनसुनको सरुवातमै देशमा विभिन्न क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति गरिसकेको छ ।
हरेक वर्ष बाढीले डुबान हुँदै अएको मध्य तराईमा यस वर्ष पनि विपद नआउला भन्न सकिन्न । त्यसैले बाढी र डुवानको जोखिम कम गर्न सशस्त्र प्रहरीले पूर्वाभ्यास गरेको छ । यता मौसमविद्हरुले यसवर्ष मनसुनी वर्षात अत्यधिक हुने अनुमान गरेका छन् । त्यसअनुसार विपद् कार्यदल ‘अलर्ट’ रहनु पर्ने केन्द्र सरकारको निर्देशन छ । त्यसैकारण सबै जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी तयारी तीव्र पारिएको छ ।
उद्धार अभ्यास कार्यक्रमको समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले विपद्को समयमा जनप्रतिनिधिहरुले थप ‘अलर्ट’ बस्नु पर्ने बेला भएकोले वीरगंज महानगरका सबै जनप्रतिनिधिहरुलाई ‘अलर्ट’ बस्न अनुरोध गरे । साथै, उनले वीरगंजमा श्रीसिया र भेडहा खोलाको कारण दर्जनौँ गाउँ डुबानमा पर्दा समस्या उत्पन्न हुने गरेको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारले विपद्को समयमा कमभन्दा कम जनधनको क्षतिको लागि जिल्ला तथा पालिका स्तरमा विपद् व्यवस्थापन समितिको व्यवस्था जारी गरेकोले सोही अनुसार विपद्मा लड्न आग्रह गरे। उनले विपद्को समयमा कसको के जिम्मेवारीबारे स्पष्ट व्यवस्था रहेकोले अहिलेदेखि नै तयारी अवस्थामा रहन निर्देशन दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले शुक्रबार स्थानीय तलाउमा अभ्यास गरेको हो । बाढी र डुबानबाट हुने समस्याबाट मानवीय क्षति सकेसम्म हुन नदिन सशस्त्र प्रहरी दिनरात अभ्यस्त रहेको १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए । आफू बच्दै वाढीमा डुबेका मानिस बचाउन सक्ने कुशलता सुरक्षाकर्मीको दायित्व नै भएको उनको भनाइ छ ।
उनले करिब २५ करोड खर्च गरी भेडहा खोलामा बाँध निर्माण गरेको भएपनि जोखिम नटरेको औल्याए। उनले सन् २००५ मा जतिकै श्रीसिया खोलाको गहिराई र चौडाई फर्काउन खोला आसपासको अतिक्रमण हटाउन आवश्यक रहेको बताए । अन्यथा कम चौडाईमा बग्ने पानीले बस्ती र टोल डुबानमा पर्ने समस्या सामना गर्नुपर्ने बताए ।