‘रोटी बेटी को गुणगान गाएर मात्र अब सीमा क्षेत्रका समस्या हल नहुने स्थानीय सरोकारवालाले बताएका छन् । प्रदेश २ का अगुवा पत्रकार र भारतको बिहार रक्सौलका पत्रकारहरू सहभागी कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।
दुवै तर्फका पत्रकारहरुलाई मानव अधिकार पत्रकार संघ (हुर्जा) ले बिहीबार वीरगन्जमा एक कार्यक्रम गरी भेला गराएको थियो । क्रस बोर्डर सिर्जित समस्या र निरुपण प्रयासमा दुवै तर्फका संचारकर्मीको भूमिका विषयक कार्यशाला नै आयोजना गरिएको हो । कार्यक्रममा सीमामा हुने स्थानीय समस्या न्यूनिकरण गर्न समस्या पहिल्याउने र निरुपण गर्ने कुरा औंल्याइएको छ । स्थानीयस्तरका समस्या दिल्ली र काठमाण्डौको आँखाले हेर्ने भन्दा फरक हुने भएकोले स्थानीय संचारकर्मीहरुले वास्तविक समस्यालाई मात्र केन्द्रसम्म उजागर गर्न स्थानीय बुद्धिजिबीहरुले सुझाव दिए ।
सीमा क्षेत्रमा हुने समस्या दुवैतर्फका पत्रकारहरूले सहकार्य गरी ठोस रुपमा उठाई दुवै सरकारलाई घच्घच्याउनु पर्ने पनि उनीहरूको सुझाव छ । नेपाल भारत सम्बन्ध दूरी बढ्दै जानुमा मुख्यतः भारतले सीमा क्षेत्रमा गर्ने हस्तक्षेप, जेएचआइसिसी रिपोर्ट विपरीत सीमा नजिक बाँध (ड्याम) निर्माण गर्नु रहेको बुद्धिजिबी मध्येका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले कार्यपत्र प्रस्तुत गर्दै बताए । सीमाका समस्यालाई काठमाण्डौ र दिल्लीको आँखाबाट हेरेजस्तो मात्र नभएको उनको भनाइ छ ।
बुद्धिजिबी मध्येका ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक वीरेन्द्र साहले रोटी बेटीको गुणगानले मात्र समस्या निरुपण नहुने भन्दै भारतीय चेली नेपाली बुहारी हुनासाथ नागरिकता लगायत समान अधिकार पाएजस्तो नेपाली चेली भारतकी बुहारी भएपछि समान अधिकार पाउनु पर्ने औल्याए । नेपाली चेलीले उताको बुहारी भएपछि सात वर्षसम्म नागरिकता पाउन कुर्नु पर्ने कुराले पनि स्थानीय स्तरमा समस्या सिर्जना हुन थालेको उनको तर्क छ । सीमा वारिपारि सदियौंदेखि हुँदै आएको सम्बन्ध व्यावहारिक गर्न यसलाई समय सान्दर्भिक गरिनु पर्ने उनको सुझाव छ ।
दशगजा छेउ भारतको बाँध पनि स्थानीय समस्या
विश्वमा कुनै पनि देशमा सीमा छेउमा बाँध बाँध्ने प्रचलन हुँदैन । तर भारतले नेपालको सीमा छेउ पारीपट्टि ड्यामको रुपमा बाँध बाधेर नेपालीको आत्मामा ठेस पु¥याको स्थानीय बुद्धिजिबीहरुले बताए । यसको अतिरिक्त विवादित नेपाली भूमि समेटेर पहिले भारतले नक्सा सार्वजनिक गर्नु र पछि नेपालले आफ्नो भूमि समेटेर नक्सा सार्वजनिक गर्दा बखेडा गर्नु सम्बन्ध सुधारको सकारात्मक संकेत नभएको उनीहरूको भनाइ छ ।
त्यसै गरी अखण्ड राष्ट्र नेपालको संविधान भारतले चाहेजस्तो नबनेको भनी अझै वेलकम नगर्नु नेपालीको मनमा चीसो पार्ने काम भएको प्राध्यापक साहले तर्क गरे । कुनै मुलुक जेठो दाइ र सानो भाइको रुपमा हुँदैन त्यो कुरा मान्न हुन्न । यस्ता कुराले सम्बन्धको दूरी नजिक नबनाई दूरी बढाउँछ । यस्ता कुरा गर्नु हुन्न उनले सुझाव दिए ।
भारतले यति भन्ने हैसियत राख्नुमा नेपाली नेताहरूको पनि उत्तिकै दोष उनको भनाइ छ । मधेश आन्दोलनको सन्दर्भ जोड्दै आन्दोलनका नाममा यताका आन्दोलनकारी उचालेर नाका बन्द गराई उता भात खुवाएर भारतले राम्रो काम नगरेको उदाहरण दिंदै त्यस यता स्थानीयस्तरमा पनि सर्वसाधारणले भारतलाई हेर्ने दृष्टिकोणमा फरक पना देखिएको स्थानीय बुद्धिजीवीहरूले कार्यक्रममा बताए ।
सीमा समस्याका रुपमा महाबाणिज्य दूतावास
स्थानीयस्तरमा हुने ट्रेड र व्यापारमा सहजताका लागि स्थानपना भएको भारतीय महाबाणिज्य दूतावासले पनि आफ्नो दायरा नाघेको कार्यक्रममा बुद्धिजिबीहरुले कुरा उठाए । मुलुकको प्रमुख भन्सार नाका रहेको वीरगन्ज क्षेत्रबाट हुने आर्थिक गतिविधिका समस्या सहज गर्न मद्दत पुगोस् भनी वीरगन्जमा स्थापना भएको भारतीय महावाणिज्य दूतावास पनि पछिल्ला दिनमा सीमामा समस्या बढाउन सहायक भएको उनीहरुको तर्क छ । ट्रेडका समस्या निरुपण गर्न भन्दा राजनीतिक गतिविधिमा हस्तक्षेप गर्न दूतावास अग्रसर हुने गरेको उदाहरण दिंदै दूतावासको अतिरिक्त हस्तक्षेप नहुनु राम्रो हुने बुद्धिजिबीको सुझाव छ ।
बुद्धिजिबी नम्रता शर्माले पनि कार्यपत्र प्रस्तुत गर्दै सीमाका समस्या निरुपण गर्न दुवै देशका पत्रकारहरूको संजालले सहकार्य गर्दा दुवै देशका स्थानीय समस्या बढेर जाने अवस्था नहुने बताइन् । साझा स्वार्थलाई मिलाएर जानुको विकल्प नभएको उनको भनाइ छ । ‘छिमेकी फेर्न सकिन्न’ त्यसैले सीमा क्षेत्रका समस्या जनस्तरबाट नै हल गर्ने प्रयासमा दुवै तर्फको स्थानीयस्तरका विभिन्न सेक्टरमा ‘डाइलग’ भइरहनु सकारात्मक भएको उनको तर्क छ ।
सीमामा तस्करी कहिले निर्मूल हुन्न ः नगरप्रमुख सरावगी
गैर कानूनी कारोबारको लागत र कानूनी कारोबारको लागत बराबर नभएसम्म सीमामा हुने तस्करी कहिले नरोकिने वीरगन्ज महानगरका नगरप्रमुख विजय कुमार सरावगीले बताए । क्रस बोर्डरको मुद्दा व्यवसायसँग जोडिएकोले तस्करी न्यूनिकरण हुने कुरा अर्थसंगत नभएको उनको भनाइ छ ।
व्यापारिक क्षेत्रबाट तीनबर्ष अगाडी एक्कासी राजनीतिमा आएका नगरप्रमुख सरावगीले सीमा क्षेत्रमा हुने तस्करी चाहिँ कहिले नरोकिने दाबी गर्नुलाई सहभागीहरुले आश्चर्य माने । स्थानीय सरकारको पनि प्रमुख रहेका सरावगीले यस्तो भन्नुलाई कार्यपत्र पस्तोता शर्माले राजनीतिकर्मीकै आडमा तस्करी हुने गरेको पुनः खुलासा भएको पनि तर्क गरिन् ।
कार्यक्रममा सहभागी भारतीय पत्रकार दीपक अग्निरथले पछिल्ला दिनमा नेपाल भारतबीच हुने विवाहमा कमी आउएकोले पनि जनस्तरको सम्बन्धमा समस्या हुन थालेको हो कि भन्ने तर्क गरे । अर्का भारतका पत्रकार तथा प्रभात खबरका सम्वाददाता मनोजकुमार गुप्ताले पनि सीमामा हुने समस्या राजधानीको आँखाबाट हेर्दा समस्या हुने गरेको बताए ।
केही भारतीय मिडिया हाउसका भड्काउ समाचारले आपसी सम्बन्धमा दूरी बढाउन मद्दत गर्ने कुरालाई पनि भारतीय पत्रकारहरुले सहमत जनाए । स्थानीय समस्या स्थानीय पत्रकारकै तवरबाट सम्प्रेषण गर्दा समस्या बढेर नजाने उनीहरुको पनि तर्क छ ।