नेपालमा प्रत्येक बर्ष ५ देखि ७ लाख महिला गर्भवती हुने गरेको नेपाल सरकारको तथ्यांक छ । त्यस मध्ये ६० प्रतिशत महिलाहरु योजनाबद्ध रुपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत योजना विना नै गर्भवती हुने गरेका छन् । योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउँछन् । यसरी योजना विना नै गर्भवती हुदाँ धेरै युवतीमा अनावश्यक तनाव भएको पाइन्छ । साथै यो अवस्थामा देखिने स्वभाविक परिवर्तन देखि लिएर कहिलेकाही हुने जटिल अवस्थाको विषयमा पनि उनीहरुलाई थाहा हुदैन । त्यस कारण योजनाबद्ध रुपमा गर्भधारण गरिनुु नै उपयुक्त हुने प्रसुती तथा स्त्री रोग बिशेषज्ञ चिकित्सकहरुको भनाइ छ । कहिले–काही त अज्ञानताका कारण गर्भवती र बच्चाको अवस्था जटिल भइसक्दा पनि स्वास्थ्य संस्थामा नगएको भेटिने गरेको लामो समय वीरगन्जमा प्रसुती तथा स्त्री रोग बिशेषज्ञका रुपमा काम गरिरहेकी डा.लक्ष्मी थापा (गुप्ता) बताउँछिन् । चिकित्सकलाई चेकजाँच नगराई घर वरिपरिको पसलबाट नै औषधी किनेर खाने खुवाउने चलन पनि समस्या बल्झाउने प्रमुख कारण भएको उनको भनाइ छ । योजनाबद्ध रुपमा गर्भवती भएपछि पनि गर्भावस्थाको समयमा नियमित परिक्षण गर्नु पर्ने डा. थापा तर्क छ ।
सानैदेखि डाक्टर बन्ने सपना बोकेकी थापा बिगत एक दशकदेखि नारायणी उप-क्षेत्रीय अस्पतालमा प्रसुती तथा स्त्री रोग बिशेषज्ञका रुपमा काम गरिरहेकी छन् । बुबाआमाको प्रेरणाले उनको डाक्टर बन्ने सपना पुरा भएको उनले बताइन् । डा.थापाको आफ्नै अगुवाईमा वीरगन्जमा शुभ ॐ क्लिनिक संचालन पनि भइरहेको छ । गर्भावस्थामा हुने परिवर्तन र जटिलताको धेरै महिलाहरुको सफल उपचार गरिरहेकी शुभ ॐ क्लिनिकी संचालिका तथा बरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.लक्ष्मी थापा (गुप्ता)संग गरिएको बिशेष कुराकानी :-
१) तराईका महिलामा गर्भावस्थाका बारे उनीहरुको चेतनास्तर कस्तो पाउँनु भएको छ ?
चिकित्सा क्षेत्रमा १५ सालदेखि आबद्ध र १० सालदेखि तराईमा काम गर्दै आएको अनुभवले यहाँका महिलाहरुमा चेतनास्तरको कमि पाएको छु । सामान्य कुराहरुको पनि कति महिलाहरुलाई जानकारी नभएको अवस्था छ । अहिले इन्टरनेटको माध्यमबाट पढेलेखेका केहीलाई जानकारी भए पनि कतिपय महिलाहरुले गर्भवती हुनुभन्दा पहिला नै थाहा पाउनु पर्ने धेरै कुराहरु थाहा पाएकै हुँदैनन् । समस्या आएपछि मात्र डाक्टरकोमा आउने उनीहरुको चलन छ ।
२) पहिलो सन्तान जन्माउने उपयुक्त उमेर कुन हो ?
२० वर्ष उमेर त कटैको हुनुपर्छ र २० वर्षदेखि ३० वर्ष उमेर विचमा बच्चा जन्माउनु राम्रो हो । २० वर्ष कट्नु प¥र्यो र ३० बर्ष नाग्नु भएन । यो उमेर चाहि उपयुक्त मानिन्छ । नेपाली समाजमा एउटा बच्चाले नहुने २ वटा बच्चा चाहिने हँुदा त्यसमा ३ बर्षको फरकमा बच्चा जन्माउनु पर्दछ । त्यसले पनि २० देखि ३० बर्ष भित्रमा बच्चा जन्माउँदा दुवै बच्चाको लागि पनि राम्रै हुन्छ ।
३) गर्भवती महिलालाई कस्तो किसिमको स्याहार सुसार र पौष्टिक आहारको आवश्यकता पर्छ ?
सादा दाल भातको खाना र फलफुल खुवाउनु पर्छ । अण्डा, माछा, मासु, दुध, दहि सागसब्जी खान दिनु पर्छ । रगतको कमी छ भने आईरन चक्की खुवाउनु पर्छ । गर्भवती महिलालाई खानपिनसंगै सरसफाइ र सफा स्वस्थ खानामा ध्यान दिनुपर्छ । गर्भवती भएको थाहा पाउने वित्तिकै स्वास्थ्य संस्थामा गई जाचँ गराउनु पर्छ । आफु खुशी औषधीको सेवन गर्नुहुदैन । आराम गर्नुपर्छ । सरसफाईमा विशेष ध्यान दिनुपर्छ । घरमा पकाएको ताजा तथा सफा खाना खानुपर्छ । धेरै बेर सम्म खाली पेट नराख्ने । धुम्रपान तथा मद्यपानबाट टाढै राख्ने बानी राम्रो हो ।
मानसिक तनावबाट मुक्त रहनुपर्छ । सुतेर उठ्दा पहिले कोल्टे फर्कने अनि मात्र उठने । गर्भावस्थाका कारण उच्च रतmचाप वा मधुमेह देखा पर्न सक्छ । थाइराइड हर्माेन कम भएका महिलाले थाइराईडको औषधी सेवन नगरेमा जन्मने बच्चा सुस्त मनस्थितिको हुन सक्छ । बच्चा ठाउँमा भए नभएको, राम्रो विकास भए नभएको वा बच्चाको संख्या थाहा पाउँन ६ देखि ८ हप्तामा अल्ट्रासाउँन्ड जाँच गराउनुपर्छ । आइरनचक्की सेवन गर्नुपर्छ । जसले गर्दा बच्चा जन्माउने समयमा रक्तश्रावबाट बचाउँछ ।
४) गर्भवती भई्सकेपछि महिलाहरुले कति पटक खोप वा सुई लगाउनु पर्छ ?
गर्भवती भईसके पछि महिलाले दुई पटक खोप लगाउनु पर्छ । ४ महिनादेखि ९ महिना भित्र एक महिनाको फरकमा २ वटा खोप लगाउनु पर्छ ।
५) पहिले–पहिलेका महिलाहरु हिड्दा–हिडदै बाटोमा नैै बच्चा जन्माउँने गर्थे भनेको सुनिन्छ । अहिले त पहिलो महिना देखि नै आरामको जरुरत पर्छ भनेर चिकित्सकले नै सल्लाह दिनुहुन्छ । यो वास्तविकता के हो ?
पहिला पहिला मान्छेहरुलाई यसको बारेमा जानकारी थिएन । त्यसैले धेरै जनाको गर्भपतन हुन्थ्यो । महिलाको मृत्यु हुन्थ्यो । एक/एक महिनामा बच्चा मरेको घटनाहरु हुन्थ्यो । तर अहिले त्यस्तो घटनाहरुमा कमि आएको छ । अहिले पनि गाउँ घरमा धेरै महिलाहरुसंग यस्तो घटना भइरहेको पाइन्छ । महिलाहरु तथा उसको घर परिवारले गर्भवती महिलाको स्वास्थमा ध्यान नदिंदा त्यस्ता दुःखद् घटना हुने गरेका हुन् ।
६) सामान्य अवस्थाभन्दा गर्भाअवस्थामा गर्भवती महिलालाई कस्तो किसिमको वातावरण र हेरचारको आवश्यकता पर्दछ ?
सबभन्दा पहिले त यसमा श्रीमान्को महत्वपूर्ण भूमिका देखिन्छ । किन भने महिला गर्भवती हुँदा त्यस्ता महिलाको मनमा विभिन्न किसिमका कुराहरु खेल्छन् र डराउँछन् । त्यो समयमा त ज्यान पनि जान सक्ने हुन्छ । त्यसैले श्रीमान्ले गर्भवती श्रीमतीलाई हौसला प्रदान गर्नुपर्छ । सासु-ससुराले आराम गर्ने वातारण सृजना गर्नुपर्छ । खानपिनमा ध्यान दिनु पर्छ । सबै परिवार मिलेर गर्भवती महिलालाई हौसला प्रदान गर्नुपर्छ । अहिले सरकारले सुरिक्षत मातृत्व कार्यक्रम संचालन गरेको छ । उसलाई तीन महिना भित्र अस्पतालमा जाँच गराउनु पर्छ । अल्ट्रासाउड गराएर बच्चाको अवस्था हेर्नुपर्छ । सकेसम्म महिना महिनामा नभए डाक्रटरको सल्लाह अनुसार नियमित रुपमा गर्भवती जाँच गराउनु पर्छ । सन्तान अस्पतालमा नै जन्माउने गर्नुपर्छ ।
७) महिलाहरुमा पाठेघर खस्ने समस्या पहिला पनि हुन्थ्यो तर बाहिर आउदैनथ्यो । अहिले पनि यो समस्या २५ बर्ष कै उमेरका महिलाहरुमा पनि देखिन्छ, यसको कारण के हो ?
घरमै बच्चा जन्माउने बेलामा राम्ररी ध्यान दिईदैन भने पनि यस्तो समस्या हुन्छ । समय नै नपुगी बच्चा तानेर निकाल्ने चलन पनि छ । जसले गर्दा पाठेघर खस्ने समस्या हुनसक्छ । बच्चा जन्माउना साथ आराम पुगेन भने पनि यो समस्या हुन्छ । बच्चा जन्माएको बेला पाठेघर खुकुलो भएको हुन्छ । आराम पाएन भने शरिर पहिलेको अवस्थामा फर्कन सक्दैन ।
सुत्केरी भएको समयमा भारी बोक्नु भएन । आफनो शरिर पहिलेको अवस्थामा नफर्किने बेलासम्म आराम र खानपिनमा ध्यान दिएन भने यो समस्या देखा पर्छ । पहिला देखि नै खेलकुद गरेको छैन । मशलहरु कमजोर छ । सानैदेखि व्यायाम गरेको छैन । गर्भवती अवस्थामा राम्ररी हेरचाह भएन भने नर्मल अवस्थामा पनि दक्ष जनसक्ती संग सुत्केरी गराईएन भने पनि यस्तो समयस्याहरु आउछन् । एउटा त आंग खस्न दिनु भएन । सानै देखि यसमा ध्यान दिनु पर्छ । यदि आंग खसिहाले पनि यसलाई लुकाएर राख्नु हुदैन । किन भने यसमा पहिलो, दोस्रो र तेस्रो डिग्री हुन्छ । सयमा नै विरामी हामी कहा आयो भने यसलाई कसरी बढन नदिने ? कुन उपचार गर्नुपर्छ ? हामी समयमा नै उपाय गरिदिन्छौं । पहिलो डिग्रीमा नै छ भने हामी बढ्न नदिने उपचार गर्छाै । तर अन्तिम अवस्थामा छ भने अपरेशन नै गर्नु पर्ने हुन्छ । त्यसैले समयमा नै उपचार गर्नु पर्छ ।
८) गर्भवती महिलाको श्रीमान्, सासु तथा दाजुभाईले गर्भवतीलाई कसरी सुरक्षित राख्न सकिन्छ ?
आफ्नो महिनावारी रोकेको थाहा पाउन साथ डाक्टरकोमा गएर स्वास्थ जाँच गराइहाल्नु पर्छ । आफू खुशी औषधीको सेवन गर्नु हुदैन । आराम गर्नुपर्छ । सरसफाईमा विशेष ध्यान दिनुपर्छ । घरमा पकाएको ताजा तथा सफा खाना खानुपर्छ । दुध, दही, फलफुल, हरियो सागपात, गेडागुडी खानु पर्छ । धेरै बेर सम्म खाली पेट नराख्ने । धुम्रपान तथा मद्यपानबाट टाढै बस्नुपर्छ । गर्भअवस्थामा निरन्तर डाक्टरको सल्लाह सुझाव लिनु पर्दछ विवाह पछि जव सन्तान जन्माउन तयार भईन्छ त्यस वेला सवभन्दा पहिला श्रीमान् र श्रीमती दुवै जना स्वास्थ्य संस्थामा आएर आमाको अवस्था कस्तो छ जाँच गराउनु पर्छ ।