धेरैजसो खानेकुरा लामो समयसम्म राखेर एवं भण्डारण गरेर खान सकिंदैन । किनभने निश्चित समयपछि खानेकुरा कुहिने, सड्ने प्रक्रियामा जान्छ । त्यसैले हामीले आफ्नो खाद्य भण्डारमा धेरै किसिमका खानेकुरा जगेर्ना गर्न सकिरहेका हुँदैनौं । हुन त हाम्रा पुर्खाले कतिपय खानेकुरा सही ढंगले तयार गर्न र त्यसलाई लामो समयसम्म राखेर खान सकिने विधि पहिल्याए । जस्तो मुला वा सागलाई लामो समयसम्म राखेर खान सकियो, गुन्द्रुक वा सिन्की बनाएर । यस्तै मासुलाई सुकुटी (ड्राइ मिट) बनाएर बेलाबेला जिब्रोको स्वाद फेर्न सकियो । भटमासलाई किनेमा (लिम्बु जातिको एक मौलिक परिकार) बनाएर महीनौंसम्म राख्न सकियो ।
यस्ता थुप्रै विधि छन्, जसमा कुनै पनि खानेकुरालाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । यसले हाम्रो खाद्य भण्डार सधैं भरिभराउ हुने नै भयो, बेलाबखत जिब्रोको स्वाद पनि फेर्न पाइयो । अर्कोतर्फ अहिले विश्वमा जनसंख्याको वृद्धिदर जुन हिसाबले भइरहेको छ, त्यसको तुलनामा अन्नबाली उत्पादनमा ह्रास आउँदैछ । पछिल्लो केही वर्षयता कोभिड महाव्याधिले संसारलाई सताइरहेको छ । यसले पनि खेती–किसानीको काम प्रभावित भएको छ । यी सबैको सोझो असर हाम्रो खाद्य भण्डारमा परिरहेको छ ।
यस्तो पृष्ठभूमिमा कसरी खानेकुरा जगेर्ना गर्ने ? कसरी कुनैपनि खानेकुरालाई लामो समयसम्म भण्डारण गरेर सुरक्षित गर्ने ? कसरी बीउ–बिजन जोगाउने ? बीबीसीमा प्रकाशित आलेखको यहाँ भावानुवाद गरिएको छ ।
खानेकुरा कसरी सुरक्षित गर्ने ?
जानकार भन्छन् कि, यदि खानेकुरालाई राम्ररी संरक्षित गर्ने हो भने यसलाई वर्षौंसम्म राख्न सकिन्छ । साथै यसमा भएको पोषक तत्वलाई पनि सही राख्न सकिन्छ ।
कुनैपनि खानेकुरा त्यसमा कीटाणु प्रवेश गरेपछि खराब हुन्छ । यदि खानामा ब्याक्टेरिया नै पैदा हुन दिइएन भने त्यसलाई संरक्षित गरेर लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।
मान्छेले सदियौंदेखि खानेकुरा भण्डारण गर्न एवं लामो समयसम्म खानेकुरा बचाएर राख्नका लागि अनेक किसिमको विधि पहिल्याउँदै आए । जस्तो कि खानेकुरालाई सुकाएर राख्ने, त्यसमा नुन राख्ने, चिनी लगाउने, रसायनको माध्यमबाट वा हावा नछिर्ने डिब्बामा बन्द गरेर ।
युनिभर्सिटी कलेज लन्डनमा फुड विज्ञ माइकल सुलु भन्छन्, खानेकुरा सुकाएर राख्नु सबैभन्दा राम्रो तरिका हो । खानेकुरा सुकाएपछि त्यसमा जीवाणु पैदा हुने आशंका रहँदैन । त्यसैगरी हावा नछिर्ने डिब्बा अर्थात् एयर टाइट डिब्बामा राख्दा पनि खानेकुरा कुहिने, सड्ने हुँदैन । जहाँ हावा छिर्दैन, त्यहाँ कीटाणु पनि पैदा हुँदैन । जस्तो कि मासुलाई एनोरोबिक वर्गको जीवाणुले खराब गर्छ । यो कीटाणु कम अक्सिजन भएको ठाउँमा नै पैदा हुने र फैलने गर्छ ।
खानामा नुन लगाएर पनि संरक्षित गर्न सकिन्छ । तर, यो विधि त्यति उपयुक्त नहुन सक्छ । सबै खानेकुरामा यो विधि लागू गर्न सकिंदैन । यद्यपि मासुलाई सुकाएर र नुन लगाएरलामो समयसम्म भण्डारण गर्न सकिन्छ । चिनीको मोटो पत्र लगाएर पनि खानालाई लामो समयसम्म राख्न सकिन्छ ।
खासगरी चिनीले कुनै पनि किसिमको जीवाणुलाई रहन दिंदैन । त्यही कारण हो कि चकलेट वा गुलियो चिजहरु लामो समयसम्म राखेर खान सकिन्छ । तर चिनीसँगै अन्य खानेकुरा जस्तो कि ड्राइ फ्रुट्स, दूध, स्टार्च वा अण्डा सामेल गरियो भने खानेकुराको उमेर उत्ति नै कम हुन्छ ।
पुरानो तरिका
आइसल्यान्डमा म्याकडोनाल्सको बिक म्याक बर्गर नै शायद संरक्षण गरेर खाने सबैभन्दा उत्कृष्ट उदाहरण हो । त्यहाँ बर्गरलाई काँचको यस्तो बक्सामा राखिएको हुन्छ, जहाँ हावाको मात्रा सीमित हुन्छ ।
यसको माग पूरा गर्नका लागि सुपरमार्केटमा लामो समयसम्म राख्न सकिन्थ्यो । त्यसैले यसमा फुड प्रिजर्वेटिव्स राखिन्थ्यो, जसले खानेकुरालाई सड्न दिंदैन । चिनीले बनेको ट्विंकी पनि एक यस्तो स्न्याक्स हो, जो एकदमै मन पराइन्छ । यसलाई लामो समयसम्म घरमा राखेर खान सकिन्छ । यसको असली आयु भनेको केही हप्ता मात्र हो । तर, यस स्न्याक्स बनाउनेले केही काइदा अपनाएर ४४ वर्षसम्म संरक्षित गरे । युट्युबमा यस्तो एक भिडियो छ, जसमा २७ वर्ष पुरानो ट्विंकी काट्दै गरेको देखाइन्छ । महको त के कुरा, यसलाई त वर्षौंसम्म राखेर सेवन गर्न सकिन्छ । किनभने यसमा पानीको मात्रा हुँदैन, साथै यसमा यस्तो प्राकृतिक संरक्षक रहेको हुन्छ, जसले यसमा जीवाणु पैदा गर्न दिंदैन । विश्वमा सबैभन्दा पुरानो महको नमूना मिश्रको तूतेनखामनको चिहान र जर्जियाको मकबरेमा भेटिएको थियो, जुन तीन हजार वर्ष पुरानो थियो । खानेकुरा संरक्षित गर्ने तरिका अहिले पनि त्यही छ, जुन हजारौं वर्ष पहिले थियो ।
जमीनमा दबाएर वा बरफमा राखेर
धेरै बोसोयुक्त चिज जस्तो कि तेल, घिउ, मख्खन पनि लामो समयसम्म भण्डारण गर्न सकिन्छ । आयरल्यान्ड र स्कटल्यान्डमा एक किसिमको बटर पाइएको थियो, जो चार हजार वर्ष पुरानो थियो । त्यसलाई दलदल जमीनमा दबाएर राखिएको थियो । भनिन्छ, प्राचीन समयमा कुनै सिद्धान्त वा मान्यता अनुरुप मान्छेहरुले मख्खन वा एनिमल फ्याटलाई माटोमा दबाएर राख्थे । चोरी हुनबाट बचाउन वा यसलाई लामो समयसम्म प्रयोग गर्नका लागि सम्भवतः उनीहरुले यस्तो विधि अपनाउँथे । मदिराको बारेमा त के भनिन्छ भने, मदिरा जति धेरै पुरानो भयो त्यति नै राम्रो हुन्छ । जर्मनीको एक स्थानमा प्राचीन रोमन चिहानमा दुनियाँको सबैभन्दा प्राचीन मदिराको बोत्तल पाइयो । यी बोत्तल करीब १७ सय वर्ष पुरानो हो । तर, यसमा रहेको मदिरा अहिलेसम्म चाखिएको छैन । यसैगरी स्याम्पियनको सबैभन्दा पुरानो बोत्तल २०० वर्ष पुरानो छ ।
मासुलाई पनि कम तापमानमा चिसो एवं बरफमा राखियो भने लामो समयसम्म राखेर खान सकिन्छ । लेकको हिउँमा यस्ता केही जनवारको शव मिलेको थियो, जुन लामो समयसम्म बरफमा दबिएको थियो तर त्यो कुहिएको थिएन ।