भन्सारमा हुने कामको सहजताका लागि वीरगन्जको सुख्खा बन्दरगाह भन्सार कार्यालय (ड्राईपोर्ट) मा ल्याइएको एक्स–रे मेशिन कवाड बन्दै गएको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयमा भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात हुने मालबस्तु जाँचपासमा सहजता होस् भनी ल्याइएको यो एक्स–रे मेशिन कवाड बन्दै गएको हो ।
मालबाहक गाडीमा नै रहेको सामान पनि यो मेशिनले सहजै चेकजाँच गर्न सक्ने भएपछि कारोवारी र भन्सारका कर्मचारीले यसको प्रयोगमा नै हेलचेक्र्याईं गर्दा लामो समयदेखि यो मेशिन संचालनमा आएको छैन । चीन सरकारले अनुदानमा दिएको स्क्यान एक्सरे मेसिन प्रयोगमै नल्याई विगत १७ वर्षदेखि थन्किएको छ । यो एक्सरे मेसिन केही समय मात्र चलेर बिग्रिदा चीनबाटै प्राविधिकहरु बोलाएर मर्मत पनि गराएको सुख्खा बन्दरगाहका कर्मचारीले बताए । तर त्यो स्क्यान एक्सरे मेसिन कहिले पनि काममा आएन उनीहरुले भने । यो बिचको अवधिमा चीनका प्राविधिकहरुले एक पटक आएर पनि हेरे । उनीहरुको पनि धेरै पटकको प्रयास सफल हुन नसकेको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजका प्रवक्ता चुडामणी कँडेलले बताए ।
बनेपछि पनि संचालनको अनुभव नभएका व्यक्तिहरुबाट चलाउँदा तुरुन्त विग्रिने गरेको सुख्खा बन्दरगाहमा खट्ने पुराना भंसार जाँचकीले बताए । यसको पार्टपुर्जाको समान पनि चीनमै मात्र पाउने हुँदा यो एक्सरे मेसिन अहिले काम गर्ने अवस्थामा नभएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता कँडेलको तर्क छ । अन्तर्राष्ट्रिय व्यापारको लागि भन्सार प्रकृयामा सहजीकरण गर्न सहज हुने यो मेसिन उपयोगी मानिए पनि सरकारी पक्ष र नीजि क्षेत्रका कारोवारीको तालमेलको अभावमा संचालनमा ल्याउन नसकिएको खुलेको छ ।
एक्सरे स्क्यान मेसिनले भन्सार जाँचपासका क्रममा कन्टेनर र गाडीमा के सामान ल्याएको छ ? भन्ने बाहिरबाट थाहा पाउन सक्छ । कन्टेनर भित्र कुनै समान लुकाएर ल्याएको वा तौल हुन नसक्ने कन्टेनर भित्रको समानहरुको भेरिफाई गर्न सहज हुने सो एक्सरे मेसिनबाट व्यापार र राजश्व संकलनमा उपयोगी हुने ठानिएको थियो । तर भन्सारका कर्मचारी र कारोवारीको आन्तरिक चलखेल नहुने ठानिएपछि यो मेशिनलाई थन्क्याई कवाड बनाइएको पनि खुलेको छ ।
कतिपय समान भन्सारले खोलेर हेर्ने अवस्था पनि हुँदैन र लोड गर्नमा पनि समस्या हुने भएकोले मालसमानको जाँचपासको क्रममा के कस्तो मालसमान छ ? भने बारे प्रष्टै थाहा पाउने र एउटा समान भनेर अर्काे समान ल्याउने कार्यलाई पनि उदाँगो पार्ने हुँदा यो मेशिन कायबिहिन बनाइएको छ ।
एक्सरे मेसिन पनि जीर्ण छ । फेरि हामीसँग यो प्रविधि संचालन गर्न सक्ने जनशक्ति पनि छैन भन्सारका प्रवक्ता कँडेलले दावी गरे । भन्सार विभागले पटक पटक उक्त मेसिन संचालन गर्ने कुरा उठाउँदै आए पनि पार्टपुर्जा चीनबाट ल्याउने र प्रकृया पनि झनझटिलो भएको हुनाले उक्त मेसिन संचालनमा ल्याउन सम्भव भएको छैन उनले बताए । एक्सरे मेसिन जडान भएको बेला नै खासै संचालनमा नआउँदा यहाँको व्यापारीहरले पनि चासो नलिएको प्रवक्ता कटेलको भनाई छ । ‘‘ यो एक्स–रे मेसिन संचालन भएको भए २०/२५ प्रतिशत मात्रै सामान चेकजाँच गरेर स्क्यान मार्फत नै पठाउन सकिने थियो । सबै मालसमान अनलोड गराएर हेर्नु पर्ने अवस्था हटेर जाने थियो भन्सार अधिकृत समेत रहेका कंडेलले तर्क गरे ।
वीरगंज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योगी प्रदिप केडियाले चीनले स्क्यान एक्सरे मेसिन अनुदानमा दिदाँ ४/५ महिना जति त्यहाँकै प्राविधिकले चलाएको बताए । ‘‘चीनले मेसिन दिने हो, चलाउने भनेको त अपरेटरले हो, उनले भने, ‘‘यति सोफिसिएटेड मेशिन त्यसमा अलिकति पनि धुले वा धुँवा आउनु हुँदैन । जुन वीरगंजमा असम्भव हो ।’’ संंचालनमा आउनु पर्छ भने ’हामी पहिलादेखि नै भन्दै आएका थियौं केडियाले भने । ‘‘अहिले लोड अनलोडको झमेला छ, । हामीले चीनलाई अनुरोध ग¥यो भने फेरी बजेट छुट्याउनु पर्ने हुन्छ । त्यसपछि पनि संचालन हुन्छ कि हुँदैन भने ठेकान छैन’’ उनले तर्क गरे । रेड च्यानलमा परेका समानहरु फटाफट एक्सरे गरेर क्लियर हुथ्यो । एउटा मूल्याङ्कनको झमेला हुन्थ्यो । तसर्थः यसले काम अलि छिटो हुन्थ्यो अरु खासै फरक नपर्ने पूर्व अध्यक्ष केडियाँको भनाइ छ ।
वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले आफूहरु सुरुदेखि नै स्क्यानिङ्ग मेसिन संचालनमा ल्याउनु पर्छ भन्ने पहलमा लागेको बताउँछन् । ‘‘हामीले जति छिटो संचालनमा आओस् भन्ने चाहेको हो । तर नियमनकारी निकायले यसको संचालनमा ध्यान दिने हो उनले थपे । ‘यो मेसिन संचालन भए राम्रो काम गर्ने व्यवसायीलाई बल पुग्ने र नराम्रो तरिकाले व्यापार गर्ने व्यक्तिलाई साथ नमिल्ने हुन सक्छ । त्यसकारण हाम्रो भन्सारसंग जति चोटी पनि कुरा भएको छ, हामीले भन्दै आएका छौ ।’’उक्त मेशिन संचालनमा आउन सक्दैन भने लिखित जवाफ दिनुपर्छ भनेर अध्यक्ष गुप्ताले बताए ।
नयाँ प्रविधि र प्रयोगमा अब पनि पछि पर्ने अवस्था छैन उनले तर्क गरे । रेड, एलो, ग्रीन जोनको धेरै जसो गाडी अनलोड गर्नुहुन्छ । त्यसमा एक गाडीमा ४ हजार रुपैया अनलोडको लाग्छ, जुन आयातकर्ताकै लाग्छ । त्यसमा आयातकर्ताको धेरै नै खर्च लाग्ने भएकोले मेसिन संचालनमा आउँदा चेकजाँचको क्रममा लोड अनलोडमा लाग्ने खर्च पनि बच्ने अध्यक्ष गुप्ताको भनाइ छ ।