वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले बढि मूल्य राखेर समान बेच्ने तथा अरुको ब्राण्ड चोरी गरी मूल्य सूची नै नराखी कारोबार गर्ने १५३ व्यापारी फर्मलाई कारबाही गरेको छ ।
बाणिज्य तथा आपूर्ति कार्यालयले पसलमा मूल्यसूची नराखी बढि मूल्य राखेर समान बेच्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारवाही गरी ४५ लाख ४३ हजार रूपैयाँ जरिवाना गरेको छ ।
आर्थिक वर्ष २०७७ को साउन महिनादेखि २०७८ को असार महिनासम्ममा ३६२ वटा फर्ममा अनुगमन गरी तीमध्ये १५३ फर्मलाई कारवाही गरी ४५ लाख ४३ हजार रुपैयाँ जरिवाना गरिएको बाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको हो । वीरगंस्थत एसआर रेडिमेड उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो चोरी आफ्नो उत्पादनमा लगाउने गरिएको पाइएकाले सबैभन्दा बढि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वीरगंजकै माईस्थान चोकमा रहेको गगन ट्रेडिङ्ग हाउसलाई २ लाख रुपैया र जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सलाई २ लाख ५१ हजार रुपैयाँ जरिवाना गरिएको बाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ ।
यस्तै, कार्यालयले हेटौँडा उपमहानगरपालिका–३ स्थित घरसंसार पसलले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरी कारवाही गरिएको निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीले बताए ।
नेपालभर रहेका वाणिज्य कार्यालयमध्ये सबैभन्दा बढी राजस्व वीरगंज कार्यालयले संकलन गरेको सूचना अधिकारी दिलीप खंग खत्वेले दाबी गरे । उक्त कार्यालयले सो आर्थिक वर्षमा पर्सामा ६३, बारामा १८, रौतहटमा आठ, सर्लाहीमा १८, धनुषामा छ, महोत्तरीमा आठ, मकवानपुरमा नौ र चितवनमा २३ फर्मको अनुगमन गरी जरिवाना गरेको हो । जरिवाना गरिएको फर्महरुले तोकिएकै समयमा कार्यालयमा उपस्थित भई जरिवाना बुझाएको उनले बताए ।
यस कार्यालयले प्रदेश २ को आठ जिल्लासहित मकवानपुर र चितवनसहित १० जिल्लामा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको अधिकारी खत्वेले जानकारी गराए ।