वीरगंजस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यभन्दा ३ दशमलब ६० प्रतिशत कम राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा १ अर्ब ५८ करोड ९५ लाख ९५ हजार कम राजश्व संकलन भएको हो ।
वीरगन्जको सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई राजश्व विभागले आर्थिक वर्ष २०७७/७८ को लागि कुल ४४ अर्ब १२ करोड २२ लाख १८ हजार राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । यसमा सुख्खा बन्दरगाह भन्सार कार्यालयले ४२ अर्ब ५३ करोड २६ लाख २३ हजार मात्र राजश्व संकलन गरेको छ । यो लक्ष्यको ९६ दशमलब ३९ प्रतिशत मात्र हो ।
अघिल्लो आर्थिक बर्ष २०७६।७७ मा पनि राजश्व विभागले सुख्खा बन्दरगाह भन्सार कार्यालयले राजश्व संकलनमा लक्ष्य भेटाएको थिएन । त्यो आर्थिक बर्ष राजश्व विभागले वीरगंजको सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई ४१ अर्ब ८८ करोड ५ लाख राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । जसमा बन्दरगाह भन्सारले ८६ दशमलब ०१ प्रतिशत मात्र लक्ष्य भेटाएको थियो । यो लक्ष्यभन्दा १३ दशमलब ९९ प्रतिशत कम राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७६/७७ भन्दा गत वर्ष सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ६ अर्ब ३३ करोड ५२ लाख २८ हजार बढि राजश्व संकलन गरे पनि लक्ष्य भने भेटाउन नसकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
सुख्खा बन्दरगाह भन्सारले आर्थिक वर्ष २०७७/७८ को लागि भन्सार महसुलतर्फ १६ अर्ब २१ करोड ४९ लाख २४ हजार राजश्व संकलनन गर्ने लक्ष्य दिएकोमा १८ अर्ब ४२ करोड ५८ लाख ८६ हजार राजश्व संकलन गरेको छ । त्यसै गरी भन्सार महसुलतर्फ लक्ष्यभन्दा २ अर्ब १० करोड ९ लाख ७२ हजार बढि राजश्व संकलन गरेको छ । भन्सार महसुलतर्फ अघिल्लो आर्थिक बर्षको भन्दा १ अर्ब ८३ करोड ५९ लाख ५५ हजार बढि राजश्व संकलन गरेको भन्सारको तथ्याँकमा जनाइएको छ ।
सुख्खा बन्दरगाह कार्यालय वीरगंजले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष मूल्य अभिबृद्धि करतर्फ ३ अर्ब ४५ करोड ७२ लाख ४३ हजार बढि राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष सुख्खा बन्दरगाह कार्यालयले १७ अर्ब १४ लाख २९ हजार राजश्व संकलन गरेको थियो । गत वर्ष सोही शुल्क बढेर २० अर्ब ४५ करोड ८६ लाख ७२ हजार पुगेको पनि भन्सार कार्यालयले जनाएको छ ।
भन्सार विभागले दिएको लक्ष्यभन्दा अघिल्लो वर्षभन्दा गत वर्ष सुख्खा बन्दरगाह कार्यालय वीरगंजले अन्तः शुल्कतर्फ ३८ करोड ७० लाख ७२ हजार बढि राजश्व संकलन गरेको छ । अघिल्लो वर्ष अन्तः शुल्क तर्फ २ अर्ब ४३ करोड २ लाख ७० हजार राजश्व संकलन भएको थियो भने गत वर्ष सोही अन्तः शुल्कको दायरा बढाएर २ अर्ब ८१ करोड ७३ लाख ४२ हजार पु¥याएको सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
नेपाल सरकारको राजश्व विभागले सुख्खा बन्दरगाह कार्यालय वीरगंजलाई दिएको सवारी निर्यात दस्तुर (स.नि.द)तर्फ अघिल्लो वर्षभन्दा गत वर्ष ५ करोड ५१ लाख३८ हजार बढि राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो वर्ष यो शुल्कतर्फ १७ करोड ५७ लाख ५५ हजार राजश्व संकलन गरेको थियो । ड्राईपोर्ट वीरगंजले गत वर्ष कृषि सुधार शुल्क तर्फ लक्ष्यभन्दा ३० करोड ४५ लाख ६२ हजार बढि राजश्व संकलन गरेको छ । भन्सार विभागले कृषि सुधार शुल्क तर्फ २६ करोड ३० लाख ७२ हजार राजश्व संकलन गर्न लक्ष्य दिएको थियो ।