नारायणी अस्पतालका डा. निरज सिंह वीरगन्जवासीका लागि नौलो नाम होइन । अझ कोरोनाकालमा उनी लगायत यहाँको चिकित्सक टोलीले गरेको उल्लेखनीय कार्यले वीरगन्जले गौरव गर्ने अवस्था पनि छ । झन केही दिन अगाडी नेपालकै बारबरा भन्ने एक संस्थाले सम्मानीत गरेका करिब २ सय जतिको सम्पूर्णको लिष्टमा डाक्टरहरु तर्फ पाँच भित्र पर्न सफल नारायणी अस्पतालका डा. सिंह वीरगन्ज क्षेत्रका लागि अझ साहसिक डाक्टरका रुपमा दर्ज भएका छन् । उनै डाक्टर सिंहसँग बलिराम यादवले गरेको बिशेष कुराकानी :-
१) कोरोना भाइरसको तेस्रो भेरियन्ट के हो ?
जब कुनै पनि महामारी आउँछ र ती महामारीले आफ्नो स्वरुप परिवर्तन गर्दै एकबाट अर्काेलाई सर्ने र सर्दै सर्र्दै भाइरसको संख्या एक्कासी बढ्नु र एकैपटक समाजको ठूलो जनसंख्यामा असर गर्नु भन्ने बुझ्नु पर्छ । त्यसलाई हामीले वेब र लहरको रुपमा भन्ने गर्छाै । कोरोना भाइरसको दूई वटा लहर विश्व मानव समुदायले भोगिसकेका छन् । तेस्रो लहर आउँछ भन्ने एउटा आशंका छ । आइसकेको पनि मानिएको छ । नेपाल र भारतबाट तेस्रो भेरियन्टको कोरोनाको लहर आउँन सक्छ की भन्ने जोखिम क्षेत्रका विश्व स्वास्थ्य संगठनले सतर्क गराइरहेका छन् ।
२) नेपालमा यो भाइरसबाट कसरी कम क्षति गराउन सकिन्छ ?
यो महामारीसबभन्दा अच्चमको छ भ्याक्सिन पर्याप्तताको कुरा । यसमा हामी धेरै पछि प¥यौं । जुन हिसाबले भ्याक्सिन लगाउनु पर्ने हो । त्यो अनुसार हामीले लगाउन पाएका छैनौं । भ्याक्सिन नलगाउँदा यसले अधिकांश मानिसको जीवन बर्बाद गर्छ । एउटा डर र त्रास हुन्छ । स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिक बाहेक अन्य जनतालाई खासै भ्याक्सिन दिन सकिएको छैन ।
विश्वको सबै अध्ययनले स्पष्ट गरिसकेको छ कि भ्याक्सिन लगाएको व्यक्तिमा खासै गम्भिर अवस्था देखिदैन । त्यसकारण भ्याक्सिन (खोप) एकदम आवश्यक छ । अझै पनि नेपाल सरकारले दतारुकताका साथ विदेशबाट खोप ल्याई सम्पूर्ण नेपालीलाई खोप लगाउने व्यवस्था मिलाएको खण्डमा यो महामारीबाट कम क्षति गराउन सकिन्छ ।
३) विभिन्न देशहरुले भ्याक्सिन सहयोग गरिरहेका छन्, कुन भ्याक्सिनलाई उपयोगी मान्ने ?
कोभिडको सम्बन्धमा हरेक भ्याक्सिन कामयावी छ । फरक यति हो कि कुन भ्याक्सिनले कति बढि प्रपितशत काम गर्छ भन्ने मात्र हो । तर विश्व स्वास्थ्य संगठनले स्वीकारेको भ्याक्सिन भएकोले जुन लगाए पनि हुन्छ । जस्तो अमेरिकाको भ्याक्सिनमा मोडेना, जोन्सेन एण्ड जोन्सेन जुन नेपालालाई १५ लाख डोज सहयोग भएको छ । चीनले बनाएको भेरोसेल भ्याक्सिन–यो पनि नेपालीहरुले लगाएका छन् । भारतीय भ्याक्सिनमा कोभिडसेल्स भ्याक्सिन जुन नेपाली पत्रकार, स्वस्थ्यकर्मी र राजनीतिक कार्यकर्तालाई पहिलो चरणमै लगाईएको छ । यो भ्याक्सिनहरुको ७० प्रतिशतभन्दा बढि उपल्बधी देखिएको छ ।
यसको साईड इफेक्ट पनि धेरै नै न्युन भएकोले डराउनु पर्ने अवस्था छैन । भ्याक्सिन लगाउने सम्बन्धमा मानिसहरुमा धेरै शंका उपशंका छ । सामाजिक सञ्जालमा भ्याक्सिन बारे भ्रामिक प्रचारहरु पनि छन् । नलगाउनु भनेर भनसुन गरेको पनि अवस्था छ । यी सबै कुराहरु भ्रम फैलाउनको लागि मात्रै हुन् । यिनीहरुलाई चिर्र्दै भ्याक्सिनप्रति सजग हुनु पर्छ । विश्वका सबैभन्दा सचेत राष्ट्र अमेरिकाले भ्याक्सिन लगाउने आफ््ना नागरिकलाई १०० रुपैया डलर दिने घोषणा गरेको छ । भ्याक्सिनको बारेमा मानिसमा गलत सोच उब्जिसकेको छ । जबकी भ्याक्सिन लगाएका व्यक्तिमा गम्भिर प्रकृतिबाट कम प्रभाव पर्ने गरेको दोस्रो भेरियन्टको कोरोनाको लहरले समेत प्रमाणित गरिसकेको छ । त्यसकारण भ्याक्सिनलाई बढावा दिन सक्नु पर्छ ।
४) तेस्रो भेरियन्टबाट बच्न कसरी सजगता अपनाउन सकिन्छ ?
हामीले सुरुदेखि नै भन्दै आएका छौं । जनस्वास्थ्यको मापदण्ड अपनाउनु पर्दछ । सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने । यति मानववीय क्षति हुँदा पनि अहिलेसम्म यहाँका नागरिकहरुले मास्क लगाउने तर्फ सचेत भएको देखिदैन् । अझै पनि भिडभाडमा बिना मास्क घुमघाम गर्दैछन् । यो हेरेर हामीलाई पनि दुःख लागिरहेको छ । विगत दुईवर्षदेखि जनचेतना र कोरोनाबाट आम नागरिकलाई बचाउन यहि कुरा भनिदै आएको छ । तर पनि आम मानिसमा यो कुराको हेक्का भएको पाइदैन । आम मानिस अहिले पनि जागरुक छैनन् । तर आम मानिस जागरुक नहुँदैमा हामीले आफ्नो दायित्वबाट पन्छिन भने मिल्दैन । अझै धेरै काम गर्न जरुरी छ । तसर्थः जनस्वास्थ्यको मापदण्ड र भ्याक्सिन (खोप) ले मात्रै हामी तेस्रो लहरको कोरोनासंग लड्न सक्छौ ।
५) सीमावर्ती क्षेत्रमा अझै जोखिम बढि छ, भनिन्छ । स्थानीयस्तरमा अझ के सजगता अपनाउन सकिन्छ ?
स्थानीय प्रहरी, प्रशासन र महानगरपालिकाले बोर्डर भएर आवत जावत गर्नेहरु माथि निगरानी एकदमै कडाई गर्नु पर्छ । बोर्डरमा सरकारले एन्टिजेन परिक्षणको व्यवस्था गर्नु पर्छ । संभावित लक्षण भएका व्यक्तिहरु क्वारेन्टाईनमा राख्ने र कसैमा कोरोना लक्षण देखिएको छ भने पिसिआर पनि गराइहाल्ने व्यवस्था गराउनु पर्छ । पहिलो र दोस्रो कोरोनाको संक्रमण पनि भारतबाटै छिरेको एकिन भइसकेको अवस्थामा मुलुकको मुख्य प्रवेशद्धार र सहायक नाकाहरुमा पनि कडाई गरिनु जरुरी भइसकेको छ । यो कुरा एकदमै ध्यान दिन जरुरी छ । यो पटक छिमेकी सहर रक्सौलमा घर घर भ्याक्सिन लगाइएको छ । त्यसकारण उतातिरको भ्याक्सिनको फाईदा हामीले पनि पाउँछौ की भन्ने एउटा झिनो आश छ ।
६) तेस्रो भेरिएन्टबाट बच्न यहाँका अस्पतालहरुको आगामी तयारी कस्तो छ ?
तेस्रो भेरिएन्टको लागि सरकारले भने जस्तै सम्पूर्ण हस्पिटलले आफ्नो वेडको २० प्रतिशत वेड तयार गर्ने । दोस्रो भेरिएन्टमा धेरै युवा पुस्ताहरु प्रभावित भएको देखियो । भनेपछि बालबालिकाहरुको लागि पनि तयारी गर्न जरुरी छ । आईसियु र एनआईसियुहरुलाई बलियो पार्न जरुरी छ । यो संगसंगै हस्पिटलहरुले आफ्नो वार्डको सम्पूर्ण अक्सिजन पाईपिङ्गमा बदलिदिनु पर्छ । नारयणी अस्पतालले भने सत्यनारायण क्याल ग्रुपबाट २० लाख, त्रिवेणी ग्रुपको बिरेन्द्र संघाईको नेतृत्वमा एउटा फ्लोरको लागि झण्डै साढे २२ लाख र अर्काे फ्लोरको लागि सूर्य टोबाको कम्पनीले पनि सहयोग गरेको छ ।
यी तीनवटा ठुलो संस्थाहरुबाट आएको सहयोगले केही अस्पतालहरुलाई अक्सिजन प्लाण्टको लागि बल मिलेको छ । नारायणी हस्पिटलमा सांसद विमल श्रीवास्तवको सहयोगमा अक्सिजन प्लान्ट पनि बन्दै छ । त्यसको कार्य फाईनल स्टेजमा पुगिसकेको छ । यस्तै विभिन्न तवरले सबै अस्पतालहरुले पनि आफ्नो क्षमता विस्तार गर्न सक्नु पर्छ । कोरोना भाइरसको तेस्रो लहरलाई निस्तेज पार्न आममानिसमा सुरक्षा सतर्कता, सरकारद्वारा खोपको व्यवस्था र अस्पतालहरुको क्षमता वृद्धि जस्ता कुराहरुको तालमेल भयो भने तेस्रो लहरको कोरोना पनि परास्त गर्न सकिन्छ ।
७) तेस्रो भेरिएन्टले अहिले बच्चाहरुलाई बढि असर गर्ने कुरा छ । स्कूलहरु गुपचुप संचालन गर्न गइरहेका छन् नि समस्या पैदा हुँदैन ?
बिद्यालय बन्द भएको धेरै दिन भईसकेकोले विद्यालय कसरी संचालन गर्ने भन्ने अन्योल हुनु अन्यथा होइन । तर यसको अलावा सुरक्षा सतर्कता पनि नितान्त आवश्यक छ । अहिले बारा पर्सामा संक्रमितको सख्या घट्ेकोले खोल्ने की भन्ने तयारी विद्यालयहरुको होला । तर अहिले झापामा कोरोनाको अवस्था भयावह छ । चितवनको सबै हस्पिटल भरिसकेको अवस्था छ । वीरगंज र कलैयासम्म यो रोग नआउला भने छैन । जोसमा होस् गुमाउनुभन्दा अलि सवधानी नै अपनाउँदा ठिक हुन्छ जस्तो लाग्छ । तेस्रो लहरमा सबैभन्दा बढि जोखिम मानिएको बालबालिका हो । उनीहरुमाथि नै सबैभन्दा बढि जोखिम, अलि सोच्नु पर्ने कुरा हो । सम्पूर्ण स्थानीय निकाय र देशका सबै सरोकारवाला निकायहरुलाई गम्भिरताका साथ यो कुरा भन्छु । केही दिन कुर्दैमा केही विग्रँदैन ।
८) अहिले ज्वरो, रुघाखोकीका बिरामी बढ्दै गएका छन् यो कतै कोरोनाको बद्लिदो रुप त हैन ?
अहिले रुघाखोकी र ज्वरोको बिरामी धेरै नै भेटिएका छन् । कोरोना नै हो भनेर चेकजाँच गर्दा पिसिआर नेगेटिभ आएको अवस्था पनि छ । हामीले हाम्रो केही स्याम्पलहरुलाई भेरिफाई गरेर काठमाडौं पठाएका थियौ । त्यहाँबाट पनि नेगेटिभ नै आयो । काठमाडौले इम्फ्लोजाईन भाईरस हो भन्ने कुुरा पुष्टि गरेको छ । अहिले आएको ज्वरो, रुघा खोकीले अलि दुःख दिन्छ । तर ४÷५ दिनमा ठिक हुन्छ । अलि कमजोरी भने दुई सातासम्म रहन्छ । त्यो बाहेक अरु त्यस्तो गम्भिर क्षति यो भाईरसले गर्दैन ।
९) कोभिडको समयमा राम्रो भूमिका खेलेको भनी बारबरा फाउण्डेशनबाट तपाई सम्मानित हुनु भयो । त्यो कस्तो खालको पुरस्कार हो ? श्रेय कसलाई दिनुहुन्छ ?
यसको श्रेय अस्पताललाई दिन चाहन्छु, जहाँ मैले काम गर्ने मौका पाएँ । मेरा जति पनि स्वास्थ्यकर्मी साथीहरु हुनुहुन्छ, मेडिसिनका डाक्टरहरु लगायत अरु विभिन्न डिपार्टका डाक्टरहरु र यहाँका नर्सिङ स्टाफहरु । हामी सबैले कोरोनाको गम्भिर अवस्थामा काम ग¥यौं । कोरोना कालमा जनचेताको लागि बेला बेलामा मैले विभिन्न पत्रपत्रिका र अनलाईनको माध्यमबाट पनि कामहरु गरेको हुनाले बारबरा फाउण्डेशनले यसलाई मार्किङ्ग गरिरहेको रहेछ । ब्लयाक फंगलस्को बारेमा पनि यो देशमै सबभन्दा पहिला मैले नै आवाज उठाएको थिए ।
डायलाईसिस प्यासेन्टलाई कोभिड पोजिटिभ हुँदा पनि सबैभन्दा पहिला हाम्रै टिमले डाइलाइसिस गरेको थियो । यस्तै विभिन्न कुराहरुको कारण मलाई चयन गर्नु भयो होला । बारबरा स्वास्थ्यकर्मी अवार्ड दिने एउटा ठूलो फाउण्डेशन हो । यो नेपालको एउटा गौरवान्वित संस्था हो । यसले डाक्टर, नर्स, एम्बुलेन्स चालक, सुरक्षाकर्मी सबै गरेर झण्डै २ सय जना जति मानिसलाई सम्मान गरेको छ । त्यसमध्ये आफू पनि सम्मानित हुन पाएकोमा धेरै हर्षित छु ।