वीरगंज महानगरपालिकाभित्रका विद्यालयहरु भौतिक उपस्थितिमै संचालनमा आएको छ । कोरोना महामारीका कारण झण्डै ४ महिनादेखि बन्द रहेका वीरगंजजका विद्यालयहरु आईतबारदेखी संचालनमा आएको हो ।
वीरगंज महानगरपालिकाभित्रका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमै आइतबारदेखि पढाइ सुरु भएको हो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । त्यहीबेला देखी विद्यालयहरु बन्द थिए । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए । वीरगंजमा कोरोना संक्रमण घटेकोले विधार्थीहरुको पठनपाठनलाई मध्यनजर गरि विद्यालय संचालन गरिएको छ ।
महानगरले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने भनी सूचना जारी गरेको थियो । कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय संचालन गर्ने तयारी थालेको थियो । तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय संचालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् ।
विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा गरिएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।
महानगरका मेयर विजय सरावगीले स्थानीय तहले पाएको अधिकार प्रयोग गर्दा सहयोग गर्नुपर्ने निकायले अड्को थापेर बस्दा विद्यालय संभालनमा ढिलाइ भएको बताए ।
‘बालबालिकालाई थुनेर राख्दा उनीहरुको भविष्य बर्बाद हुन्छ भनेर कोरोना संक्रमण घटेपछि विद्यालय खोल्न खोजेका थियौं । आफ्नो अधिकार प्रयोग गर्दा समेत केन्द्रका निकायहरुले हस्तक्षेप गर्ने प्रवृत्तिले विद्यालय खोल्न नसकेको मेयर सरावगीले बताए । ‘‘तत्कालका लागि ठूलो कक्षा खोलेका छौ, उनले भने, ‘परिस्थिति हेरेर क्रमशः अन्य कक्षा समेत सञ्चालन गर्छौं, समस्या देखिएको खण्डमा बन्द गर्छौं ।’’
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकरी पिताम्बर घिमिरेले वीरगंजमा कोरोना संक्रमण घटेकोले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय संचालन गर्न महानगरले गरेको अनुरोधलाई स्वीकार गरेको बताए ।