पालिकाको संरचना निर्माणपछि पर्साको बहुदरमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा अहिले बिदुर प्रसाद उप्रेतीले कार्यभार सम्हालिरहेका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो अनुभव सम्हालेका उनी पछिल्लो संरचना अगाडी पनि बहुदरमाई नगरपालिका अन्तर्गतकै क्षेत्रमा एकदशक जति विताएका थिए । पछि मुलुकको नयाँ संरचनापछि सोही पालिकामा स्वास्थ्य शिक्षा शाखामा प्रमुख हुँदै अहिले ७ महिनादेखि भने पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।
कार्य क्षमता र योग्यताको आधारमा उप्रेतीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको नगरपालिकाका कर्मचारीले पनि बताए । उनै प्रमुख प्रशासकीय अधिकृत उप्रेतीसंग बहुदरमाई नगरपालिकाको समग्र विकासको अवस्था बारे मध्यनेपाल सन्देशका लागि बलिराम यादवले गरेको बिशेष कुराकानीको सम्पादति अंश:-
१) बहुदरमाई नगरपालिकाको वर्तमान अवस्था कस्तो छ ?
संघियता अएपछि सिंहदरबार गाउँ–गाउँमा भनिने गरिन्छ । संघियता आइसकेपछि अर्थात जनप्रतिनीधि चुनिनुभन्दा पहिले र जनप्रतिनीधि आइसकेपछि बहुदरमाई नगरपालिकाको विकासको अवस्था हेर्दा मैले आकाश पतालको फरक पाएको छु । किन भने पहिल्येदेखि यही नगरपालिका भित्रकै गाउँमा स्वास्थ्य संस्थामा लामो समय कार्यरत थिए । बर्षात्को समयमा सही बाटो नभएर २ किलोमिटर अगाडी नै मोटरसाईकल राखेर पैदलै आउनु पर्ने अवस्था थियो । तर स्थानीय सरकार निर्माण भए पश्चात हरेक टोल टोलमा व्यवस्थित बाटो बनेको छ । ती बाटोहरु ढलान भएका छन् । ढलान बाटोसहित नाला पनि निर्माण गरिएको छ । बर्षात्मा आएको पानी वा फोहोर पानी नाला हुँदै बग्ने भएकोले पहिला जस्तो समस्या अहिले छैन । विगत चार वर्षको अवधि र त्योभन्दा पहिलेको अवधि हेर्ने हो भने बहुदरमाई नगरपालिकाले विकासको फड्को मारेको छ ।
२) तपाई प्रमुख प्रशासकीय अधिकृत भएर कार्यभार सम्हालेपछि शिक्षा, स्वास्थ्य क्षेत्रमा थप उपलब्धी भएको छ ?
हुन त म पहिलादेखि यस नगरपालिकाको स्वास्थ्य क्षेत्रमा कार्यरत छु । संगसंगै शिक्षा क्षेत्र पनि हेर्ने गर्थे । तर मेरो विषेश क्षेत्र भनेको स्वस्थ्य हो । तसर्थः मैले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा गरेको उपलब्धिमूलक कार्यले नै अहिले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी आफ्नो काँधमा आएको महसुस गरेको छु । म प्रमुख प्रशासकीय अधिकृत हुनुभन्दा पहिले यस पालिकामा ७ वटा वडामा स्वास्थ्य चौकी थिए । स्वास्थ्य सेवा लिन सेवाग्राहीलाई ३० मिनेटभन्दा बढि हिड्नु नपरोस् भनी २ वटा स्वास्थ्य चौकी थप गरिएको छ । थप स्वास्थ्य चौकी निर्माण भएपछि सेवाग्राहीलाई थप राहत भएको छ । मन्त्रालयलबाट स्वीकृत नभए पनि नगरपालिकाबाट उक्त स्वास्थ्य चौकी संचालन गरिएको छ । अहिले नगरपालिकाको ९ वटै वडामा स्वास्थ्य चौकीको स्थापना भएको छ । कम जनशक्ति भए पनि जनशक्ति बाँडफाँड गरी सबै स्वास्थ्य चौकीहरुमा सेवा संचालन भइरहेको छ । नेपाल सरकारले पठाउने गरेको औषधी पनि जनताले पाईरहेका छन् । नेपाल सरकारले पहिलेको जनसंख्याको आधारमा स्वास्थ्य औषधी पठाउने गरेकोले केही कन्जुस्याई गर्नु पर्ने अवस्था आएको छ । किन भने पहिलेभन्दा अहिलेको जनसंख्या र रोगहरु धेरै बढेका छन् ।
शिक्षा तर्फ बहुदरमाईमा नगरपालिकामा १७ वटा समुदायिक विद्यालय छन् । ६ वटा मावि, एक वटा आधारभूत(कक्षा ८ सम्म) मावि र १० वटा प्राथमिक विद्यालयहरु छन् । सबै विद्यालयमा पठन पाठनको अवस्था ठिक भए पनि अहिले शिक्षकको अभाव रहेको छ । पहिला व्यावस्थापन समितिले शिक्षक भर्ना गर्ने तर अहिले स्थानीय तहले नै अपूग शिक्षक भर्ना गरुन् भने शिक्षक सेवा आयोगले स्पष्ट नीति नबनाएकोले शिक्षकको अभावको पूर्ति गर्न समस्या भएको छ । तर हामीलाई २०२८ कै शिक्षा ऐन नामावली टेकेर हिड्नु परेको छ ।
३) आधुनिक शिक्षाको लागि थप नीति पनि परिमार्जन गर्नु भएको छ ?
विगत दुई वर्षदेखि हामी कोभिडको महमारीसंग लडिरहेका छौं । जसको कारण सबैभन्दा बढि छेदविछेद भएको क्षेत्र भनेको शिक्षा नै हो । त्यो बेलादेखि बालबालिकाको पठनपाठन अन्योलमा छ । वैकल्पिक शिक्षा सहजीकरण गर्ने पनि आएको छ । तर हाम्रो सन्दर्भमा त्यो त्यति उपयोगी ठानिदैन । किन भने सबे कहाँ ईन्टरनेट छैन, सबै बालबालिका त्यति टाठाबाठा छैनन् । स्थानीय सरकार बनेर नगरपालिका सम्म न बनेको हो । नत्र यो त गाउँ नै हो नि । त्यसकारण त्यति फाष्ट टेक्नोलोजिको प्रभाव पर्न सकेको छैन । तै पनि वैकल्पिक शिक्षाद्धारा घरघरमा पुस्तक बाँड्ने, घरघरमा गएर चौतारी शिक्षा अर्थात घरमै पुगेर शिक्षकहरुले नबुझोको कुरा बताइ दिने, सहजीकरण गरिदिने जस्ता काम भएको छ तर यो पनि खासै प्रभावकारी त हुसक्दैन । शैक्षिक अनुदानमा आएको सबै पैसाहरु हामीले स्कुलमा पठाई सकेका छौं । कोभिडका कारण त्यो पैसा खर्च गर्ने अवसर विद्यालयलाई आएको भने छैन ।
पालिकाको १७ वटै विद्यालयमा बाल शिक्षा अन्तर्गत सबै कार्पेट, कुसन लथालिङ्ग भएको अवस्थामा मैले सबै ठाउँमा कार्पेट र कुसन दिएको छु । बाल विकासको लागि स्मार्ट एलाडी राखिएको छ । १७ वटै विद्यालयमा नेट राख्नुस् भनेर पैसा पनि पठाई सकेको छ ।
४) कृषक लाभांवित योजना पनि नगरपालिकासँग छ ?
कृषकहरुलाई लाभांवित हुने गरी उन्नत जातको धानको बिउ, रसायनिक मल, किटनाषक औषधी, स्प्रे टयाङ्की, सिचाईको अभाव भएको ठाउँमा ड्युब टुबेल बोरिङ्ग जस्ता कार्यक्रमहरु गरिएको छ । किसानहरुलाई खेतीपाती गर्न आवश्यक पर्ने शिप मूलक तालिम सहित कृषि उपकरणहरु पनि दिइएको छ ।
५) दलित र पिछडिएका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारको लागि नगरपालिकाले के गर्दैछ ?
सूचना, जानकारी र सुविधा नभएको कारण दलित र पिछडिएको वर्ग शिक्षाबाट पछाडी परेको हो । किन भने उ पनि त मानव नै हो नि । अवसर पाए दलित र पिछडिएका व्यक्ति पनि महान् बन्न सक्छन् । त्यसकारण दलित र पिछडिएको समुदायलाई स्कुल आउन घर घरमा जनचेतना फैलाईएको छ । पाठ्यक्रम, लताकपडा नभएर स्कुल नआएको हो कि भनेर त्यो पनि बुझ्ने काम भएको छ । त्यस्ता विद्यार्थीहरुलाई पठनपाठनको लागि विद्यालय ल्याएका छौ्र्रं । अब समग्र प्रा.वि.का विद्यार्थीहरुलाई दिवा खाजा खान व्यवस्था मिलाएका छौं । गरिब हो वा दलित हो घरबाट जे जस्तो खाएर आए पनि दिवा खाजा अन्तर्गत स्कुलमा खाजा खाना खाने व्यवस्था मिलाएका छौं । यो योजना चालु भईसकेको थियो । कोभिडका कारण अहिले भने अलि समस्या भएको छ ।
६) नगरपालिकामा भएका बेरोजगार युवा तथा महिलाको लागि पनि थप योजना छन् ?
प्रधानमन्त्री रोजगार कार्यक्रम नै आएको छ । जसमा बेरोजगार युवा, महिला वा अन्य नागरिकलाई उनीहरुको शिप क्षमता अनुसार रोजगारी दिने काम भएको छ । कोभिडको कारण अघिल्लो वर्षभन्दा यस वर्ष झन कम काम भयो । गाई र भैसी पालन गरेका किसानहरुलाई सहयोग चाहिएको खण्डमा हामीले सहयोग गर्ने बजेट पनि छुट्याएर राखेका छौं । अहिलेसम्म करिब दुई जनाले मात्रै निवेदन दिएका छन् । यस्तै, कृषि अन्तर्गत किसानलाई उन्नत जातको बाख्रा वितरण गर्ने योजना आएको छ । हामीले सूचना निकालेर कृषि समूह अन्तर्गत प्राप्त भएको निवेदनको आधारमा उन्नत जातको बाख्रा वितरण गरेका छौं । केही दिनमै उन्नत जातका बाख्राहरु किसान कहाँ जो कोहीले देख्न सक्नु हुन्छ ।
७) सडकको अवस्था अझै दैनीय छ, भनी नागरिकहरु भन्छन् नि ?
सडकलाई शत प्रतिशत त सुधार गर्न सकेका छैनौं । तर ४ वर्षको अवधिमा धेरै फड्को मारिसकेका छ । सबै बाटोघाटो भइसकेको अवस्था छैन । केही ढलान भएको छ भने केही ग्राभलिङ्ग भएको छ । सबै टोल गलीगलीमा ग्राभेल भई ढलान वा पिच भइसकेको अवस्थामा मात्रै सडक पूर्ण भयो भन्न सकिन्छ । त्यसले गर्दा सडकको अवस्था दैनीय नभनी केही कमी छ भन्नु पर्छ ।
८) नगरपालिकाले कुन योजनालाई मुख्य प्राथमिकतामा राखेर नगर सभा सम्पन्न गरेको हो ?
पालिका भित्र हुने सबै कार्यको योजनालाई प्राथमिकतामा राखी नगरसभा सम्पन्न भएको थियो । खास गरी शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि लगायतको योजनामा बढि फोकस गरिएको छ । ढलान भई अधुरै रहेका सडक र नलालाई पूर्णता दिने, कच्ची बाटोलाई पक्की र ढलान गरी बाटोघाटोको समस्यालाई दिर्घकालीन समाधान गर्ने योजना रहेको छ । पालिका भित्र रहेको हरेक क्षेत्रको आवश्यकतालाई मध्यनगर गरी योजना तयार गरिएको छ । क्रमिक रुपले विकासको गतिलाई अगाडी बढाइने छ ।