उद्योगी व्यवसायीका लागि शिक्षित तथा दक्ष जनशक्ति र कामदारका लागि प्रतिष्ठित उद्योग प्रतिष्ठानहरु दुवै एक अर्काका परिपूरक हुन् । अर्थात दुवै पक्षको हित अलग–अलग सम्भव छैन । ढुंगाको सहारा माटो र माटोको सहारा ढुंगा भने जस्तै शिक्षित तथा दक्ष जनशक्ति उद्योग प्रतिष्ठानका लागि अपरिहार्य छ । त्यस्तै शिक्षित तथा दक्ष जनशक्तिका लागि पनि उद्योग प्रतिष्ठानको आवश्यकता त्यतिकै अपरिहार्य रहन्छ ।
तथापि दुवैको श्रम र लगानीबाट प्राप्त प्रतिफलमा भने श्रम लगानी कर्ताको हात भने सधैं तल पर्ने गरेको उदाहरण नेपाली समाजमा पनि असरल्ल छ । भनाइको तात्पर्य के हो ? भने शिक्षित जनशक्ति आर्थिक लगानीकर्ताको श्रम दोहनको असाध्यै चेपुवामा परेका छन् । ठूला उद्योग प्रतिष्ठानहरुमा कार्यरत अफिसियल कर्मचारीको अवस्था साह्रै दर्दनाक छ । यो अवस्था मुलुकको हरेक भागमा उस्तै छ । यसमा वीरगन्ज पथलैया औद्योगिक कोरिडोर भित्रका प्रतिष्ठित प्रतिष्ठानहरुमा पनि फरक छ भन्न सक्ने अवस्था नै छैन । यहाँका पनि उद्योग प्रतिष्ठान भित्रका कम शिक्षित श्रमिकहरुले त समय समयमा संगठन तयार गरी संचालकहरुलाई दवाव दिएर भए पनि आफ्नो पारिश्रमिक बढाउन दवाव दिने गरेका छन् । यो उपाय पूरै बेठिक हो भन्न सकिन्न । तर, सबैभन्दा मारमा परेको ठूलो शिक्षित श्रमिकको तप्का बिलखबन्दमा छ । आर्थिक लगानीकर्ताको शोषणको चपेटामा फसेका उनीहरु मेरो पारिश्रमिक केही बढाइदिनुस् भन्ने सक्ने अवस्थामा छ्रैनन् । पैसा बढाउने कुरा सुन्दा उद्योग प्रतिष्ठान संचालकको पहिलो धम्कि नै काम नगर छोडेर जाऊ घरमा भन्ने हुन्छ । २० बर्ष २५ बर्षसम्म एउटै उद्योग प्रतिष्ठानमा काम गरी जवानी बिताएर बुढौली अवस्थामा पुगेका शिक्षित जनशक्ति प्रत्यक्ष भन्न सक्ने अवस्थामा छैनन् ।
त्यसमा वीरगन्जमा पनि चाचान, संघाईं, केडिया, रुंगटा, क्याल, शंकर ग्रुप, सरावगी, अग्रवाल लगायत ठूला प्रतिष्ठानमा काम गर्ने शिक्षित जनशक्तिको अवस्था निकै दयनीय छ । अरु प्रतिष्ठान परिवर्तन गर्दा पनि फेरी शून्यबाट उठ्नु पर्ने अवस्थाले गर्दा उनीहरु १०(१५ हजारको झिनो त्यान्द्रो समातेर एकै ठाउँमा अल्झन बाध्य छन् । बर्षौंको उनीहरुको श्रमबाट आर्थिक लगानी कर्ता एकदुई गर्दै त्यस्ता प्रतिष्ठानको संख्या दर्जनौ बनाउन समेत पुगेका छन् । तर दक्ष र शिक्षित जनशक्तिको जीवनस्तरमा कुनै परिवर्तन आउन सकेको छैन । एक तमासले आर्थिक लगानीकर्ताको जीवनस्तर परिवर्तन भएपछि एकदुई प्रतिशतको हिस्सा श्रमिकलाई पनि दिनुपर्छ भन्ने हेक्का आर्थिक लगानीकर्ताको मगजमा कहिले छिरेको देखिदैन ।
बीस पच्चिस बर्ष पहिले देखेका ठूला घरानाका कर्मचारी निन्याउरो अनुहारमा उस्तै तरिकाले मालिकको जी हजुरीमा जुनिकाट्दै छन् । तिनै श्रमिकको श्रमको तरेलीमा आर्थिक लाभ लिएका सम्भ्रान्तहरुले प्राडो, पजेरो दर्जन बढि विल्डिङ्ग परिवर्तन गर्दासम्म मन खुकुलो पारेर उनीहरुका हितमा एकपैसा पनि खर्चिन तयार छैनन् । लाख करोडबाट अर्बौंको सम्पतिका मालिक भएका आर्थिक लगानीकर्ताहरुले दरिद्रताको पराकाष्ठा नाग्नु हुँदैन ।
आफ्नै सेवामा जीवन गुजारेकाहरुलाई आफूले कमाएको फाइदाबाट थोरै पनि पारिश्रमिक दिन सुरुवात गरे त्यसले आफ्ना स्टाफकै परिवारमा पनि थोरै भए पनि खुशियाली छाउने थियो । ठूला घराना कहलिएका पूर्व लोटाधारीहरुले अब यता पनि सोच्ने दिन आएको होइन र ?