घर सम्हाल्नु र खेतिपाती गर्नु मात्रै महिलाको क्षमताले भ्याउने काम हो भनेर सोच्नेहरुको विचार परिवर्तनमा जुट्दैछन् तराइका महिलाहरु । जसका लागि बारा, पर्सा, रौतहट र सर्लाहीका विभिन्न स्थानमा संचालित गैर परम्परागत सिपमूलक तालिममा महिलाहरु सहभागि भएका छन् । विषेशतः पुरुष वर्गले मात्रै गर्ने कामका रुपमा हेरिने विल्डिङ्ग इलेक्ट्रिसियन, मोबाइल फोन रिपेयरिंग जस्ता तालिममा सहभागि भएका महिलाहरु आफुलाई दक्ष बनाउन लागि परेका छन् ।
तालिमबाट सिप हासील गरेर मोबाइल बनाउने पसल खोल्ने सोच बनाएकी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ कि २३ वर्षीया मंगीता कुमारी साह भन्छीन् “खुब पढेके मन रहे माकीर कुछ कारणसे ज्यादा नापढे सकनी, अव त गुजाराके माध्यम खुद बनाएम् मतलब बढीया से सिखेम् आ दुकान खोल्के महिनामे कम से कम १०/१२ हजार कमाएम्” । मंगिता जस्तै सपना सजाएका १० जना महिलाहरु अन्य १० पुरुष सँगै उक्त तालिममा सहभागि छन् ।
परवानीपुर गाउँपालिका वडा नं. १ बुनियादमा २० जनाले विल्डिङ्ग इलेक्ट्रिसियन सम्बन्धि सिप सिकिरहेका छन् । त्यस मध्ये १५ जना महिला छन् । पुरुषकै लागि पनि विजुलीको काम जोखिमपूर्ण मानिन्छ । त्यसमाथी महिला त्यो पनि ग्रामीण समूदायका भन्नाले चुनौतीको सिमा छैन । तै पनि सिक्ने र अवसरको खोजि गरेर स्वरोजगार बन्ने प्रयत्नमा जुटेकी सरिता देवी मण्डल भन्छिन् “सिप हातमे रही त कहिं भि काम मिलजाई, सिप आ समाजके साथ लडेके हिम्मत आउरी कुछ करके देखावेके उद्देश्य बा ।”
कोरोना कहरले तालिम नियमित हुन नसकेको हालको आवस्थामा सहभागिहरुको मनोबल र सिकाइको अवस्था बारे बुझ्न तालिम प्रदायक संस्थाबाट आएकाहरुसँग प्रशिक्षार्थी महिलाहरु यस्तै अनेकन सपना साँट्दै थिए । सहभागि महिलाका सिकाई अनुभव र भावी योजनाबारे जानकारी लिने क्रममा अवलोकनार्थ आएका प्रतिनिधिलाई प्रशिक्षकले समेत आफ्नो अनुभव सुनाए । परवानीपुर गाउँपालिका वडा नं. १ बुनियादमा संचालित विल्डिङ्ग इलेक्ट्रिसियन तालिमका प्रशिक्षक अरुण रायले महिलाहरुलाई सिकाउन समय लाग्ने तर सिकाई भने प्रभावकारी हुने बताए । तालिम प्रभावकारी हुनुपर्छ भन्ने उद्देश्यले अहिलेको माहामारीका समयमा पनि काठमाण्डौंबाट आएका आयोजक संस्था नेपाल इन्जिनियरिंङ्ग एण्ड टेक्नीकल साइन्स एकेडेमीका अध्यक्ष डा.विनोद यादवले तालिम पश्चात् कार्यक्षेत्रमा खट्दा सुरक्षाका सबैखाले उपाय अपनाउन मात्रै होइन हालको अवस्थामा तालिम लिंदै गर्दा पनि स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउन सुझ्याए ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धी) र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) को आर्थीक सहयोगमा नेपाल इन्जिनियरिंङ्ग एण्ड टेक्नीकल साइन्स एकेडेमीको आयोजनामा ६५ दिनमा सम्पन्न गर्नेगरी ३ सय ९० घण्टे तालिम अहिले बारा, पर्सा, रौतहट र सर्लाहिका विभिन्न स्थानमा चलिरहेको छ ।