जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताएका छन्।
समाजवादी केन्द्रले नेपालले आयोजना गरेको एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, ‘हामीले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्छ। ओलीको आलोचना गर्दै गर्दा हामीले नयाँ समाजवादको मोडल तयार गर्नुपर्छ।’ अब एकजुट भएर जनताको हितलाई केन्द्रमा राखी २१ औँ शताब्दीको मार्क्सवाद र समाजवादअनुसार कम्युनिष्ट पार्टीहरू अघि बढ्नुपर्ने उनले बताए।
भट्टराईले भने, ‘माधवजीले पनि एमाले समाजवादी दर्ता गर्नुभएको छ। हामीलाई पनि चुनाव चिह्न छोड्न गाह्रो भएको छ। तर, जनताको हितलाई केन्द्रमा राखेर २१ औँ शताब्दीको मार्क्सवाद र समाजवाद अनुसार अघि बढ्नैपर्छ। जनताले त्यहीँ भोट हाल्छन् भनेर चुनाव चिह्न कुरेर बसेर देश विकास हुँदैन।’
सानो शक्तिले १० वर्ष विद्रोह गरेर अहिलेको उपलब्धि प्राप्त गर्न सफल भएको बताए। ‘कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्न छाड्यो, महाधिवेशन छैन, टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘समाजवादको मोडेल कस्तो आउनुपर्छ भन्ने कुरा पनि पर्छ। वैचारिक रूपमा समाजवादको धारणा तय गर्न नसक्नु नै आजको समस्या हो।’
अहिले पुँजीवाद र कर्मचारीतन्त्र मौलाएको उनले जिकिर गरे। ‘उत्तरपन्थी र दक्षिणपन्थीहरूको आ(आफ्नै रणनीति छ। हामीले अफगानिस्तानलाई हेरेर पनि नयाँ युगको अवसर प्राप्त गरेका छौँ,’ उनले थपे।